‘संविधानमा मधेसीको अधिकार सुनिश्चित छ’

भैरहवा, २५ पुस । एमाले नेता तथा सांसद लालबाबु यादवले नेपालको संविधान, २०७२ ले तराई मधेसका जनताको अधिकार सुनिश्चित गरेको बताएका छन् ।

एमालेको रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको २ दिने नेपालको संविधानको विकासक्रम र नेपालको संविधान, २०७२ विषयक कार्यशाला गोष्ठीमा बोल्दै सांसद यादवले भनो, ‘अहिलेको संविधानमा मधेसीको अधिकार सुनिश्चित ढंगले प्रत्याभूत गरिएकाले आन्दोलन गर्नुको औचित्य छैन । सबैले एकपटक संविधान पढ्नुस् अनि मात्र अरु कुरा गर्नुस् ।’

मधेसी, मुस्लिम, थारु, पिछडा वर्ग सबैको अधिकारको सुनिश्चितता संविधानले गरेकाले यसमा विवाद गर्नुको कुनै अर्थ नभएको नेता यादवको भनाइ थियो । नेता यादवले मधेसमा भावनात्मक रूपमा आन्दोलन चलेको जनाउँदै मधेसी मोर्चाका नेताहरू अहिले यता न उताको भएको टिप्पणी गरे ।

सांसद यादवले अंगीकृत नागरिकताधारी नागरिकलाई एक पुस्ता नपुगेसम्म राज्यको माथिल्लो निकायमा पहुँच दिने व्यवस्था गरियो भने राष्ट्र र राष्ट्रियता धरापमा पर्ने पनि जिकिर गरे । नेता यादवले राष्ट्र रहेमात्र मधेसी, पहाडी, हिमाली रहने हुँदा क्षेत्रीयतावादी चिन्तनबाट माथि उठेर राष्ट्रिय एकतामा लाग्न अपिलसमेत गरे ।

प्रतिक्रिया