काश्मिरका मुख्यमन्त्रीको निधन

नयाँदिल्ली । भारत प्रशासित काश्मिरका मुख्यमन्त्री मुफ्ती मुहम्मद सइदको बिहीबार निधन भएको छ । बिरामी भएपछि उनी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचार गराइरहेका थिए । उपचाररत उनको बिहीबार बिहान निधन भएको समाचार सो अपस्पतालले दिएको हो । उक्त अस्पतालका अधिकारीहरूले बिहीबार बिहान मुख्यमन्त्री सइदको निधनको समाचार सार्वजनिक गरेका हुन् ।

उनी भारतको एकजना लोकप्रिय मुस्लिम नेताका रूपमा चिनिन्थे । श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनलाई गत हप्ता नयाँदिल्लीको सो अस्पतालमा भर्ना गरिएको थियो । सइद ७९ वर्षका थिए । उनले सो राज्यको मुख्यमन्त्रीका रूपमा दुईपटकसम्म सेवा गरेका थियो । उनी सन् २००२ देखि सन् २००५ सम्म पहिलो पटक र पछिल्लोपटक गत मार्च महिनादेखि सो पदमा चयन भएका थिए ।

उनी भारतको पहिलो मुस्लिम गृहमन्त्रीका रूपमा पनि चयन भएका हुन् । सन् १९८९ मा उनी भारतको गृहमन्त्री बनेका हुन् । उनी गृहमन्त्री भएकै समयमा छोरीलाई काश्मिरका हतियारधारीले अपहरण गरेका थिए । पछि ५ जना मुस्लिम हतियारधारीलाई जेलबाट मुक्त गरेपछि मात्र उनकी छोरीलाई छोडेका थियो । (एजेन्सी)

प्रतिक्रिया