नेपालमा पनि बन्ने भो ‘बजरंगी’

bajrangiकाठमाडौं । सन् २०१५ मा भारतमा सर्वाधिक कमाउन सफल चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रबाट नायक सलमान खानको चर्चा अझै बढ्यो । यो चलचित्रमा सलमानको एक्सन अवतारभन्दा पनि अभिनय देखिएको थियो । अब, नेपालमा पनि यो चलचित्रको टाइटलसँग मिल्दो नाममा चलचित्र बन्ने भएको छ ।

प्रशान्त गिरीले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘बजरंगी’ राखिएको छ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्ने भएका छन् । चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका छन् भने राजकुमार उप्रेतीको एक्सन रहने पक्का भएको छ । निर्माता प्रशान्त गिरीले चलचित्रको शीर्षक दर्ता गरिएको जानकारी गराउँदै फागुन २० गतेबाट छायांकनमा जाने जानकारी दिए । उनका अनुसार, चलचित्रको शीर्ष भूमिकामा उनी नै देखिनेछन् । राजेश हमाल, धिरेन शाक्यलगायतका कलाकार पनि फिल्ममा हुन सक्ने जानकारी उनले गराए । करिब दुई दर्जन नयाँ र पुराना कलाकार चलचित्रमा देखिने उनको भनाइ छ । पूर्णरूपमा एक्सन विषयमा तयार हुने चलचित्रको छायांकन नेपाल र विदेशमा गर्ने तयारी गरिएको पनि निर्माताको भनाइ छ । यो चलचित्र बदलाको कथामा तयार हुनेछ । (सौस)

प्रतिक्रिया