गौरीले लिइन् प्रधानमन्त्रीको सपथ

pm gauri-mallaकाठमाडौं, १८ कात्तिक । एमाले नेतृ विद्या भण्डारीले गतसाता नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा शितल निवासमा सपथ लिएकी थिइन् । मुलुकले नयाँ प्रधानमन्त्रीको रूपमा एमालेकै अध्यक्ष केपी शर्मा ओलीलाई पाएको अवस्थामा मंगलबार फरक दृश्यमा अभिनेत्री गौरी मल्लले पनि नेपालको प्रधानमन्त्रीको रूपमा जय नेपाल सिनेमा हलमा सपथ लिन भ्याइन् । यो नाटकीय दृश्य नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको नयाँ सिरियल ‘सिंहदरबार’ को प्रिमियरको हो ।

मल्ललाई सिरियलका निर्देशक छिरिङरितार शेर्पाले ‘एक्सन कट’ मा सपथ खुवाएकी थिइन् । आगमी २९ कात्तिकबाट नेपाल टेलिभिजनमा हरेक आइतबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुने सिरियल ‘सिंहदरबार’को सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरू माझ श्रृंखलाको प्रिमियर गरिएको थियो ।

प्रिमियर कार्यक्रमको प्रमुख अतिथि बनेकी सभामुख ओनसरी घर्तीमगरले नेपालले पहिलो महिला राष्ट्रपति र सभामुख पाएको अवस्थामा टेलिफिल्ममा गरिएको परिकल्पना यथार्थमा पनि लगभग मिलेको बताइन् । उनले टेलिफिल्मले समावेशी र सहभागिताको सन्देश दिने विश्वाससमेत व्यक्त गरिन् । ‘टेलिफिल्म ‘सिहंदरवार’ले राजनीतिमा कस्तो नेतृत्व र सुशासन चाहिन्छ भन्दै जनतालाई सचेत गराउन सक्छ,’ सभामुख घर्तीले भनिन्, ‘देशले पहिलो महिला राष्ट्रपति र सभामुख पाउनुअघि नै पहिलो महिला प्रधानमन्त्रीको परिकल्पना गर्ने परिकल्पनाकार वस्तुगत धरातलमा हुनुहुन्छ । अब मेरो नेतृत्वमा रहेको व्यवस्थापिका संसदले नीति निर्माण गर्ने बेला यस टेलिफिल्मले ठूलो असर ल्याउनेछ ।’

‘श्रृंखलामा प्रधानमन्त्री बनेकी पहिलो महिलाको सत्ता सञ्चालनमा आउने आरोह अवरोहलाई देखाइएको छ’, टेलिफिल्मका निर्देशक छिरिङरितार शेर्पाले भने । ‘सिंहदरबार’लाई टिमले नौ महिना गर्भमा राखेर निकालेको ‘ब्युटिफुल डटर’ को नाम दिँदै श्रृंखलामा ‘आदर्श नेता’ को खाँचोको बहस गरिएको निर्देशकले बताए । निकै मिहेनत गरेर कलाकारले गरेको परिकल्पना यथार्थ जीवनमा देखिएको बताउदै निर्देशक शेर्पाले श्रृंखलाको माध्यमले २५० जनाले रोजगारी पाएकोमा गर्वसमेत गरे ।

सर्च फर कमन ग्राउण्डको प्रस्तुतिमा बनेको टेलिश्रृंखला ‘सिंहदरवार’मा गौरी मल्लका अलावा रमेश रञ्जन झा, प्रवीण खतिवडा, प्रमोद अग्रहरी, सरिता गिरी, अनिल पाण्डे, मिथिला शर्मा, देशभक्त खनाल, रमेश बुढाथोकी, भिन्तुना जोशीलगायत कलाकारले अभिनय गरेका छन् । शेर्पाले मुकुण्डो, उमाजस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया