भारतमा गन्धर्र्व लोकगाथामाथि छलफल

काठमाडौं, ३० असोज । नेपालमा गन्धर्व जातिले गाउने लोकगाथाको विषयमा भारतमा छलफल भएको छ । ‘इन्डियन फोकलोर कंग्रेस’को आयोजनामा गुजरातमा भएको लोकसंस्कृतिसम्बन्धी ३९औँ बृहत् सम्मेलनमा गन्धर्व जातिसम्बन्धी ‘गन्धर्वले गाउने लोकगाथा हिजो, आज र भोली’ नामक कार्यपत्र प्रस्तुत भएको थियो । छलफलका लागि नेपाली लोकसंस्कृतिमा अनुसन्धान गर्दै आएका प्राडा कुसुमाकार न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका हुन् ।

एनएस पाटिल कलेजमा आयोजित सम्मेलनमा न्यौपानेले सरुमाई रानी, मन कोइला रानी, डाँफे र मुरली, राजा भर्तृहरी, रामायण, कृष्ण चरित्र, श्रीस्वस्थानी, कर्खा, घटनालगायत गन्धर्वका लोक गाथामा केन्द्रित भएर कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रलाई टिप्पणीकर्ताले वैज्ञानिक पुष्टीसहितको कार्यपत्र भएको बताएका थिए । न्यौपानेका अनुसार कार्यपत्रकै कारणले केही महिनामा गुजरातको एक विश्वविद्यालयमा एक महिना प्राध्यापनका लागि बोलाउने सम्भावना रहेको छ ।

बिभिन्न देशमा करिब एक दर्जन कार्यपत्र प्रस्तुत गरिसकेका कुसुमाकारले गन्धर्व जाति माथि २५ वर्षे खोज भएको बताए । ‘गन्धर्व जातिका बारेमा खोज्नका लागि मैले युद्धकालमा गन्धर्वकै भेषमा, उनीहरूलाई पैसा दिएर उनीहरू सँगै हिँडेको थिएँ । किनकी त्यो बेला दुवै पक्षबाट जासुसको आरोप लाग्ने डर थियो, उनले भने, ‘मैले गन्धर्वको लोकगाथा खोज्दादेखि अहिले धेरै परिवर्तन भइसकेको छ । त्यो बेला लोकगाथा गाउनेले सबैखाले गाउन सक्थे । अहिले सबै लोकगाथा पूरै कसैले पनि गाउन सक्दैनन् ।’

प्रतिक्रिया