काठमाडौं, २९ असोज । नेपाली चलचित्रकी स्थापित अभिनेत्री स्वेता खड्काले आफ्नो फिल्म ‘कोहीनुर’ बाट संकलन भएको रकम एउटा बालगृहलाई दिने घोषणा गरेकी छन् । उनले बडा दसैँको अवसर पारेर लन्डनमा हुन लागेको कोहिनुरको च्यारिटी सोबाट उठेको रकम ‘आँगन नेपाल’ बालगृहलाई दिने घोषणा गरेकी हुन् ।
बालगृहको अवलोकन गरेपछि अभिनेत्री खड्काले आफु लामो समयदेखि सामाजिक क्षेत्रमा रहेकाले घर–आँगनलाई सहयोग गर्ने प्रतिबद्धता गरेको बताइन् । अहिले त्यस संस्थामा हाल १५ जना बालबालिका आश्रित रहेका छन् ।
उनले आफू दसँैमा लन्डनमा जाने र त्यहाँ फिल्म ‘कोहिनूर’को च्यारिटी सो गर्ने भन्दै ‘त्यो सोको मुख्य उद्देश्य नै भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई सहयोग गर्नु रहेको बताएकी छन् ।’ उनले भनिन् ‘त्यो उद्देश्यमा हामीले लन्डनमा ४÷५ वटा च्यारिटी गर्दैछौँ ।’
उनले त्यहाँको च्यारिटीबाट जति रकम उठ्छ, त्यो सबै रकम यहाँ ल्याएर हस्तान्तरण गर्न चाहेको बताएकी छन् । उक्त संस्थामा भूकम्पमा आमाबाबु गुमाएका २ दिदीभाई पनि आश्रित छन् । उनले म पहिल्यैदेखि नै धेरै सामाजिक काममा संलग्न हुँदै आएको थिएँ र अझै पनि छु, तर म मिडियामा नआउनु त्यो भिन्नै कुरा भन्दै यहाँ आएर सबै बच्चाहरू हेर्दा एकदमै माया लागिरहेको बताएकी थिइन् । उनले भित्रदेखि नै दुःख लागिरहेको भन्दै भावविव्हलसमेत भएकी थिइन् ।
झन्डै एक वर्षअघि पति श्रीकृष्ण र केही समयअघि सासू गुमाएकी स्वेताले भनिन्, ‘मैले पनि दसैँ मान्नु हुँदैन, त्यो कुरा सबैलाई थाहा छ, भूकम्पका कारण सबैलाई दुःख भएकोले पनि मलाई दसैँ मान्ने इच्छा थिएन ।’
त्यस्तै संस्थाका सञ्चालक दीपक सिलवालले अभिनेता प्रशान्त तामाङले पनि संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् । उनले बालबालिकालाई दसैँ मनाउनका लागि खानेकुराको सहयोग गर्ने बताएको सिलवालले बताए । प्रशान्त र स्वेताले बालबालिकामाझ दुई घन्टा बिताएका थिए । त्यहाँ प्रशान्तले कार्तिक ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परदेशी’को ‘कुरा खाटी हो’ र ‘गोर्खा पल्टन’को शीर्ष गीत गाएका थिए । दीपकले परिवारको इच्छा बेगर पनि आफ्नो जग्गाजमिन बेचेर यो संस्था चलाउँदै आएका छन् ।
प्रतिक्रिया