एक खेलअगावै नेपाल सेमिफाइनलमा

u-19काठमाडौं, ५ भदौ । काठमाडौंमा जारी पहिलो साफ यु–१९ फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश समूह चरणको एक खेलअगावै सेमिफाइनल प्रवेश गरेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको समूह ‘ए’ को समूह चरणको खेलमा बंगलादेशले भुटानलाई २–० ले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । जितसँगै बंगलादेशले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि सोमबार प्रतिस्पर्धा हुनेछ । समूह चरणको सबै दुई खेलमा पराजय भोगेसँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान नेपालसँग ३–१ ले पराजित भएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले ४२ औँ मिनेटमा गोलको खाता खोलेको थियो । भुटानी डिफेन्सको गल्तीको फाइदा उठाउँदै रोहित सरकारले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै गोलरक्षक तोब्गे अघि बढेको अवस्थामा विट गर्दै मन्नाफ रब्वीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको बंगलादेशले गोल गर्ने आधादर्जनभन्दा बढी मौका गुमाएका थिए । दोस्रो हाफको सुरुआतमै मोहम्मद इब्राहिमले गोलका दुई सुन्दार मौका चुकाएका थिए । उनको पहिलो प्रहार पहिलो बारनजिकैबाट बाहिरिएको थियो भने दोस्रो प्रहार क्रसबारबाट थोरै बाहिरिएको थियो । रोहित सरकारले पनि गोल गर्ने मौका चुकाएको थियो । पराजित भुटानले पनि गोल गर्ने केही अबसर सिर्जना गरेका थिए । खेलको सातौँ मिनेटमा नै छिरिङ सामड्रपको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिँदा अग्रता लिने मौका चुकाएको थियो । १४ आँै मिनेटमा तेन्जिङ सेजाङको फ्रिकिक पनि बाहिरिएको थियो । त्यसपछि पनि बंगाली पोष्टमा केही आक्रमण बुने पनि गोल गर्न नसक्दा लगातार दोस्रो खेलमा पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । नेपाल, भुटान र बंगलादेश रहेको समूह ‘ए’ मा तथा समूह बीमा भने भारत, अफगानिस्तान र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ ।

प्रतियोगिताअन्तर्गत आइतबार भारत र अफगानिस्तानबीच खेल हुनेछ । अफगानिस्तानले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया