‘सहमतिका लागि पुनः एक दिनको समय थप’

काठमाडौं, १० वैशाख । संविधानका बिवादित बिषयमा सहमति जुटाउन एक दिनको समय पुनः माग गरेपछि प्रमुख दलहरुको आग्रहमा संवैधानिक समितिले सोमबार एक बजे सम्मको समय उपलब्ध गराएको छ ।
संवैधानिक समितिको आज सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा बिवाद समाधान उपसमितिमा आबद्ध प्रमुख दलहरुले सोमवार एक बजे समका लागि समय माग गरेपछि एक दिनका लागि मात्रै पुनः समय उपलब्ध गराईएको सभापति नीलाम्बर आर्चायले जानकारी दिए ।
समिति सभापति आचार्यका अनुसार प्रमुख दलहरुले सोमबारसम्म सहमतिका लागि प्रयास गर्दैछौ भनेपछि एक दिनको समय उपलब्ध गराईएको छ । उनले भने, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभपाति रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरुले सहमतिका लागि भएका प्रयासका बारेमा जानकारी गराउनु भएपछि समय थपिएको हो ।’
यस अघि संवैधानिक समितिको आग्रहमा बिवाद समाधान उपसमितिलाई आज मध्यरातसम्म बिवादित बिषयमा सहमति खोज्न समय उपलब्ध गराईएको थियो । संविधानसभाको सोमबार बस्ने बैठकले सहमति हुन नसकेका बिषयलाई मतदान प्रक्रिया मार्फत टुङगाउने छ । राज्य पुनर्संरचना, शासकीय स्वरुप, नागरिकता लगायतका बिषयमा दलहरुका बीच बिवाद छ ।

प्रतिक्रिया