सुधार गृहमै हत्या

चितवन, १३ फागुन । सुधार गृहमा व्यक्तित्व सुधारका लागि राखेका एक युवालाई  कुटपीट गरेर हत्या गरेको खुलेपछि जिल्ला प्रहरी कार्यालय चितवनले छ जनालाई नियन्त्रणमा लिएको छ ।
व्यक्तित्व सुधारका लागि भरतपुरमा रहेको यूनिटी पुर्नस्थापना केन्द्रमा राखिएका रुद्र गूरुङलाई दुई दिनमै कुटपीट गरी हत्या भएको खुलेको हो । गुरुङलाई उनका परिवारले गएको सोमबार केन्द्रमा राखेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीको गैंडाकोट गाविस वडा नंं २ शिलन्यास चोक घर भएका ३६ वर्षीय रुद्र गूरुङलाई केन्द्रमा कुटपीट गरेका कारण शुक्रबार ज्यान गएको थियो ।  अत्याधिक मदीरा सेवन गर्दै आएका उनलाई परिवारले आचरण सुधारका लागि केन्द्रमा भर्ना गरेका थिए ।
मृत्तकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । शरीर भरी निलडाम देखिएकाले गुरुङको कुटपीटबाट ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भुपाल भण्डारीले बताए ।
पक्राउ पर्नेमा भरतपुर बाह्रघरेका सुमन सुनुवार, उपजङ गुरुङ र राजीव शर्मा रहेका छन् ।
घटनाको विषयमा यूनिटी पूर्नस्थापना केन्द्रका अन्य चार जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिए । घटनाको विषयमा न्यायीक छानबिन हुनुपर्ने, अवैधानीक रुपमा सञ्चालन गरिएको सुधार केन्द्रहरु तत्काल बन्द गरिनुपर्ने, उचित क्षतीपूर्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै पीडित परिवार आज जिल्ला प्र्रहरी कार्यालय पुगेका छन् ।

प्रतिक्रिया