क्षयरोगीको संख्या बर्सेनि वृद्धि

काठमाडौं । क्षयरोग उन्मूलनका लागि सरकारी प्रयास भइरहे पनि क्षयरोगी भने बढिरहेका छन् । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार यस्तो अवस्था देखिएको हो । राष्ट्रिय क्षयरोग केन्द्रले दिएको जानकारीअनुुसार आर्थिक वर्ष ०७०/७१ मा एक लाख जनसंख्यामा एक सय ३० र आर्थिक वर्ष ०७१/७२ मा सो संख्या बढेर एक लाख जनसंख्यामा एक सय ३६ जनामा क्षयरोग भेटिएको जनाएको छ । क्षयरोग नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष ०७०/७१ मा २३ करोड खर्चेको थियो भने ०७१/७२ मा सो बजेट बढाएर ३६ करोड पु¥याएको थियो । हाल संसद्मा विचाराधीन रहेको बजेटमा सरकारले क्षयरोग नियन्त्रणका लागि ७५ करोड विनियोजन गरेकोे छ । यसरी रोग नियन्त्रणमा सरकारी लगानी बढेजसरी रोगीको संख्या घट्नुपर्नेमा क्षयरोगी भने बढी रहेको देखिएको हो ।
केन्द्रले भने हरेक गाविस, नगरपालिकाको वडावडामा स्वास्थ्य स्वयंसेविकामार्फत अभियान सञ्चालन गरी समुदायमा रहेका क्षयरोगीलाई अस्पतालसमम ल्याउने वातावरण मिलाएकाले रोगीको संख्या बढेको बताएको छ । समुदायमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको र गैरसरकारी संस्थाले पनि यस्ता कार्यक्रम गरेकाले क्षयरोगीको संख्या बढेको देखिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानेले बताए । (सौस)

प्रतिक्रिया