सातौं राष्ट्रिय खेलकुदका लागि तीव्र तयारी

sports-reports5काठमाडौं, ७ साउन । एकवर्षअघि नै पूर्वाञ्चलमा हुने भनी घोषणा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा हुने भएपछि नेपाली खेलकुद क्षेत्र फेरि चर्चामा आएको छ ।

हुने या नहुने विवाद र अन्योलताको बीच हुन लागेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न खेलकुद संघहरूले आफ्ना खेलाडीलाई प्रशिक्षण दिनसमेत थालिसकेका छन् ।
यस्तै, प्रतियोगिता हुने स्थान पूर्वाञ्चलमा पूर्वाधार पुनर्निर्माणको कार्यलाई अघि बढाइसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट नै भारतमा हुने १२ सागका लागि खेलाडीहरू छानिने भएकाले खेलाडीहरूले छनोट हुने उद्देश्यका साथ प्रशिक्षण थालेका छन् । सागमा नेपालले २२ भन्दा बढी खेलमा सहभागिता जनाउँदै छ । सागमा सम्मिलित खेल नै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने भएकाले खेलाडी तथा संघहरूले सोहीअनुसार नै प्रशिक्षणलाई तीव्रता दिएका छन् । वैशाखामा भएको भूकम्पपछि भत्किएको संरचनाभित्रै कराँते, तेक्वान्दो, एथलेटिक्स, जुडो, भारत्तोलनलगायत विभिन्न खेलहरूले रंगशालामै प्रशिक्षण दिन थालेका हुन् ।
खेलाडीले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्दै अघि बढ्ने मुख्य खुड्किलोको रूपमा राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिइन्छ । तर, राष्ट्रिय खेलकुद प्रतियोगिता विगत दुई वर्षदेखि निरन्तर रूपमा प्रतियोगिता सञ्चालन नहुँदा खेलाडी र खेलप्रेमीमा नैराश्य उत्पन्न छाएको थियो । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गत वर्ष नै हुनुपर्ने भए पनि तत्कालीन सदस्यसचिव युवराज लामा र खेलकुदमन्त्री पुरुषोत्तम पौडेलबीचको टकरावका कारण हुन सकेको थिएन ।
आउँदो मंसिरमा प्रतियोगिता हुने भएपछि धेरैलाई फेरि केही समय सक्रिय तुल्याउने भएको छ । यसअघि २०६९ मा सूदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समाप्तिसँगै सातौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पूर्वाञ्चलले पाएको थियो । राष्ट्रिय खेलकुद परिषद्मा केशवकुमार विष्ट सदस्यसचिव नियुक्त भएपछिसँगै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने बताएका थिए । पूर्वाञ्चलको विभिन्न स्थानमा प्रतियोगिता सञ्चालन गर्ने भनिए पनि ती स्थानका बारेमा राखेपले टुंगो लगाउन नसकेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले जानकारी गराए । ‘विगतमा हुने जस्तो कमीकमजोरी नहोस् भन्ने उद्देश्यले हामीले प्रतियोगितालाई सभ्य ढंगबाट अघि बढाउने योजना बनाएका छौँ ।’ सदस्यसचिव विष्टले भने, ‘यसैको विस्तृत अध्ययनका लागि म प्रतियोगिता हुने स्थानमा गएको हुँ । प्रतियोगिताको भौतिक पूर्वाधार निर्माणका लागि नै अहिले हाम्रो मुख्य जोड छ । यसका लागि २३ करोड बजेट छुट्याइएको छ ।’
नेपालको खेलकुद क्षेत्र दिन प्रतिदिन खस्किरहेको अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलाडी र खेलकुद क्षेत्रलाई माथि उकास्न सक्ने ओलम्पियन दीपक विष्टले बताए । राष्ट्रिय प्रतियोगिता नै खेलाडी जन्माउने मुख्य प्रतियोगिता भएको भन्दै उनले हरेक खेलाडीहरू स्टार बन्न मिहिनेत गरिरहेको हुन्छ । तर, नियमित रूपमा प्रतियोगिता हुन नसक्दा खेलाडीहरू निराश हुनुपर्ने अवस्था आएको दीपक विष्टको भनाइ छ । प्रतियोगिता ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुनेछ ।

प्रतिक्रिया