काठमाडौं । नेपाल प्रहरी क्लबले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार महिला टिम इभेन्टमा स्वर्ण जितेको छ ।
लैनचौचरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । काठमाडौं जिल्ला खेलकुद विकास समिति र मेलम्ची सामुदायिक इंग्लिस स्कुल संयुक्त रूपमा तेस्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम इभेन्टमा प्रहरी र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रहरीले एपिएफ तथा आर्मीले ललितपुरलाई समान ३–० को नतिजामा हराए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रूपमा उद्घाटन गरे ।
भूकम्पपीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जम्मा ११ स्पर्धा समावेश छन् । आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यका अनुसार पाँचदिने प्रतियोगितामा १ सय ५५ खेलाडी सहभागी छन् । (सौस)
प्रतिक्रिया