नेपालको चुनौती समाप्त

universiadकाठमाडौं, २८ असार । दक्षिण कोरियाको ग्वाङजुमा जारि २८औँ समर युनिभर्सियाड गेम–२०१५ मा नेपालको चुनौती आइतबार समाप्त भएको छ । नेपाल पदकविहीन रह्यो । युनिभर्सियादको ११औँ दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो । आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै पराजित भए ।

छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्पm महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसिलियासँग पराजित भइन् । निमा ५–१८ ले पछि परिन् । यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन् । सीता दोस्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन् । सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन् ।
त्यस्तै, जाङसियोङ होङग्लिडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेज्युएलाका कोरिए फिग्युरोसँग ८–११, ५–११, ११–६, ७–११ र १२–१४ ले पराजित भए । टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न सात खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरिसकेका छन् । टेबलटेनिसमा सबैभन्दा बढी सात खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोमा तीन, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २–२ तथा लनटेनिसमा एक खेलाडी सहभागी थिए । खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो । महासचिव बोहराका अनुसार चीनमा भएको २६औँ संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुसको कजानमा भएको २७औँ संस्करणको बुद्धिचाल र साम्बोमा समान २–२ खेलाडीले भाग लिएका थिए ।
युनिभर्सियाडको औपचारिक समापन जुलाई १४ मा हुँदै छ । ओलम्पिक पछि दोस्रो ठूलो बृहत् मानिने यो खेल मेलामा विभिन्न एक सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् । विभिन्न २१ खेलमा दुई सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । नेपाली टोली नेतृत्व विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले गरिरहेका छन् ।

प्रतिक्रिया