जुरिच । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताक्रमअनुसार नेपाल दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा पुछारमा पुगेको छ । अघिललो महिना १८३ औँ स्थानमा रहेको नेपाल दुई स्थान तल झर्दै दक्षिण एसियाली राष्ट्रमा पनि पुछारमा पुगेको हो । नेपालले पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका कारण पनि वरीयतामा प्रभाव परेको देखिएको छ ।
अफगानिस्तान भने १७ स्थान फड्को मार्दै दक्षिण एसियाली राष्ट्रको शीर्षस्थानमा उक्लिन सफल भएको छ । अघिल्लो महिना शीर्ष स्थानमा रहेको भारत भने १५ स्थान तल झर्दै १५६ औँ स्थानमा पुगेको छ । त्यस्तै, भुटान पनि सात स्थान तल झर्दै १६६ औँ स्थानमा पुगेको छ । बंगलादेश १६९, पाकिस्तान १७२ स्थानमा छ । माल्दिभ्स भने एक स्थान फड्को मार्दै १७६ औँ स्थानमा छ । श्रीलंका भने १८३ औँ स्थानमा यथावत छ ।
यस्तै, कोपा अमेरिकाको उपविजेता अर्जेन्टिना विश्वविजेता जर्मनीको शीर्षस्थानको दवदवालाई अन्त्य गर्दै सात वर्षपछि शीर्ष स्थानमा उक्लिएको छ । विश्व विजेता जर्मनी भने एक स्थान तल झर्दै दोस्रोमा छ । बेल्जियम, कोलम्बिया, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल क्रमशः तेस्रो, चौथो, पाँचौँ, छैटौँ र साताँै स्थानमा छन् । त्यसैगरी, रोमानिया, इंग्ल्यान्ड र वेल्स शीर्ष १० भित्र अटाउन सफल भएका छन् । (एजेन्सी)
प्रतिक्रिया