मायन्कालाई उपाधि

tenishकाठमाडौं । प्रथम प्यारेन्टस् कप जुनियर लनटेनिस च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा हिजो यु–१८ तर्फ फाइनलसँगै प्रतियोगिता समाप्त भयो । ब्वाइजतर्फ संरक्षकभूषण बज्राचार्यले सक्षम कार्कीलाई ७–५, ६–२ ले हराएर उपाधि जिते । त्यस्तै, गल्र्सतर्फ मायन्का राणाले आकृति शाहलाई ६–१, ६–० ले पराजित गरि उपाधि हात पारिन् ।
प्रतियोगिताका विजेता र उपविजेतालाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, लनटेनिस संघका अध्यक्ष मनोज राणा, उपाध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । ६ दिने प्रतियोगिता जुनियर टेनिस खेलाडीका अभिभावकको संघ नेपाल जुनियर लनटेनिस च्याम्पियनसिप संघद्वारा आयोजित गरिएको थियो । उक्त संघका अध्यक्ष अजय विष्टले स्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै, प्रतियोगिताका प्रमुख अतिथि सचिव पौडेलले लनटेनिसलाई सहयोग गर्ने बताए । पौडेलले भने,‘लनटेनिसको पूर्वाधारको विकास गर्न संघसित सहकार्य गर्नेछु । अन्तर्राष्ट्रिय खेल गर्न पहल पनि गर्नेछु । साथै हार्डकोर्ट बनाउन रकम पनि सहयोग गर्नेछु । (सौस)

प्रतिक्रिया