आस्तिकता वा नास्तिकता तत्काल निर्णयमा पुगिने विषय होइन

Babulal-Bhandary‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक’ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्यु शैयामा पुगेर अभिभूत भएको गहनतम तत्व वोध हो यो, जसरी मूर्धन्य स्कटिस कवि एवं लेखक सर वाल्टर स्कटले मृत्यु शैयाबाट बोलेका थिए–आजन्म देउता छैनन् र नर्क (स्वर्ग समेत) हँुदैन भनेर मानियो, आज यसघडीमा आएर बल्ल वोध भयो, दुवै कुरा अटल सत्य रहेछन् ।
हाम्रा महाकवि देवकोटा कुनै औषत कवि या साहित्यकार थिएनन् । सरस्वतीका वरदपुत्र यिनले नेपाली साहित्यमा ५० वर्षकै उमेरमा यस्तो एउटा उचाइ बनाए जसलाई आजपर्यन्त कसैले छुन सकेको छैनन् निकट भविष्यमा समेत यसको संभावना कमै छ । उनी यस्ता अनुपम र विलक्षण प्रतिभा हुन जसको चेतनालाई कतिपयले आफ्नो युगभन्दा एक सय वर्ष अगाडिको मान्दछन् । स्वयं महापण्डित राहुल सांकृत्यायनले एक ठाउँमा हिन्दी साहित्यका त्रिमूर्ती पन्त, प्रसाद र निरालालाई एकीकृत गरे पनि देवकोटाको सिर्जनशीलतालाई नभेट्ने बताएका छन् । माथिको सोही कविताको अर्को हरफ छ ‘म शून्यमा शून्य सरी विलाए’ । यसलाई समस्त हिन्दूधर्म र दर्शनको सारसूत्र भने पनि हुन्छ । यसले शुक्ल यजुर्वेदको अंग मानिने इशावास्योपनिषदको शान्तिमन्त्र ‘पूर्णमदः पूर्णमिदम् ………वसिष्ये’ भावलाई समग्रतामा पक्डेको छ ।
उता, नेपाली साहित्याकासका अर्का महारथी वालकृष्ण समले लेखेका छन् ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ । अनि सम पनि स्मृतीमा यति प्रचण्ड कि आपूm जन्मेको घडीमा धाईआमाले नुहाइदिएको समेत उनलाई हल्का याद रहेछ । समको यस पंक्तिको लाक्षणिक अर्थ केलाउँदै जाँदा पनि आखिर देवकोटाकै भावभूमीमा पुगिन्छ र सबैको मनमा प्रश्न जन्मन्छ ‘ज्ञान (कैवल्य) कि विज्ञान ? पदार्थ कि चेतना ? अथवा भनौ आध्यात्मिकता कि भौतिकता ? यो उल्झन आपैmँमा यति गहन र सघन छ कि मानवजातीले सदियौँ अघिदेखि यसको निर्णायक जवाफ खोज्न सकेको छैन ।
हिन्दू दार्शनिक परम्परा भित्र बडे बडे अनिश्वरवादी र भौतिकवादी भए । इपू छैठौँ शताब्दीको बार्हस्पत्य सूत्रमा चार्वाक दर्शनले ‘भष्मिभूतस्य देहस्य पूनरागमनम् कुत ?’ याने जलेर भष्म भएको शरीरले कसरी पुनर्जन्म लिन सक्तछ भनेर आत्मा, ईश्वर, स्वर्ग, नर्क र पुनर्जन्मको अवधारणालाई ठाडो चुनौती दियो र प्रखरताका साथ भौतिकवादी आन्दोलनलाई उठायो । हिब्रु बाइबल (ओल्ड टेस्टामेन्ट)मा पनि राजा आशा र मनासे जस्ता नास्तिकहरूको सन्दर्भ भेटिन्छ । विज्ञान र धर्म दुई परस्पर विरोधी र निषेधकारी वस्तु हुन् भन्ने आम बुझाइ छ । विज्ञानको सम्बन्ध दृष्यजगत वा जड प्रकृतिसम्म मात्र छ । तर, धर्मले आधिभौतिकभन्दा पर आधिदैविक र आध्यात्मिक पक्षलाई समेत समेट्छ । यसरी हेर्दा हरेक ठूलो वैज्ञानिक स्वाभाविक रूपले नास्तिक वा धर्म विरोधी हुनुपर्ने हाम्रो बुझाइ बन्छ तर वास्तविकता यस्तो छैन ।
माइक्रोबायोलोजी र इम्युनोलोजीका जनक वैज्ञानिक लुइस पाश्चरले भनेका छन्– विज्ञानको अल्पज्ञानले व्यक्तिलाई जरुर नास्तिक बनाउँछ तर जतिजति विज्ञानको अध्ययन प्रगाढ बन्छ यसले ईश्वरको नजिक लैजान्छ । प्रकृतिका गूढतम रहस्य जति जान्दै गएँ, मलाई ईश्वरमाथि अझ बढ्ता विश्वास हुँदै गयो । १९३२ मा भौतिक विज्ञानमा नोबेल पुरस्कार थाप्ने जर्मन वैज्ञानिक वर्नर हेजिनवर्गले त्यही कुरा यसरी भाषान्तर गर्छन्– प्राकृतिक विज्ञानको गिलासमा पहिलो घुट्का नास्तिकताको हो जबकी गिलासको पिँधको अन्तिम घुट्कामा तपाईंलाई ईश्वरले पर्खिरहेको पाउनु हुनेछ तर लरतरो कोशिसले त्यहाँ पुगिन्न ।
विज्ञानको जगतमा चमत्कार र क्रान्ती ल्याउने र अहिलेसम्म नोबेल पुरस्कारले विभूषित हुने धेरैजसो वैज्ञानिक आस्तिक मात्र होइन, धार्मिक भटिन्छन् । कोपरनिकस, सर फ्रान्सिस वेकन, जोहानेस केप्लर, ग्यालिलियो ग्यालिली, रेने डेस्कार्ट्स, ब्लाइसी पास्कल, आइज्याक न्युटन, रोबर्ट बोइल, माइकल फराडे, ग्रेगोर मेन्डोल, विलियम थोमस केल्विन र म्याक्स प्ल्यांक जस्ता अरू पनि कैयौँ छन् जो प्रकटरूपबाट आस्तिक भेटिन्छन् ।
अरू त अरू जीवविकासको क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्ने स्वयं चाल्र्स डार्बिनले भनेका छन्, मलाई अफसोस छ, मैले एउटा सिद्धान्त प्रश्तुत गरेँ, जसलाई सोझा मानिसहरूले सत्य मानेर पत्याइदिए । मेरो अभिप्रायः भने त्यस्तो थिएन । विज्ञानको दुनियाका शीर्ष पुरुष अल्बर्ट आइन्स्टाइनले स्वयं आपूm धार्मिक भएको र ईश्वरमाथि आफ्नो आस्था भएको बताएका छन् तर उनले ईश्वरको साकार रूपभन्दा पनि डच दार्सनिक स्पिनोजाको शैलीको भगवान्मा विश्वास राख्छन् जसले यस विराट प्रकृतिको अस्तित्वगत संगतिमा आपूmलाई प्रकट गरिराखेको हुन्छ । धर्मविनाको विज्ञान लंगडो र विज्ञानविनाको धर्म अन्धो मान्छन् उनी र क्रिएसनिजममा विश्वास जताउँछन् ।
अहिलेसम्म यस धर्तीका सबैभन्दा ठूला नास्तिकमा गणना हुने व्यक्तिहरूमा पर्छन्, बेलायती दशर्नशास्त्री एजे अयर र एन्टोनी फ्लु । ईश्वर प्रति अनास्था मात्र होइन, ज्यादा घृणा पालेका एन्टोनीले २००४ मा संसारलाई चकित पार्दै सार्वजनिक रूपमा भने, जीवनका विशिष्ट अनुभव र भोगाइले मेरो बुझाई बदलियो र म धार्मिक भएँ । उनले एउटा सुन्दर पुस्तकाकारमा आफ्ना अनुभवलाई संगठित गरे ‘देअर इज अ गड’ ।
अर्का त्यत्तिकै चर्चित नास्तिक मानिन्छन् एजे अयर । हाम्रा ‘सेन्स’ ले पुष्टी गर्न नसक्ने हर कुनै कुरा ‘नन्सेन्स’ हो भन्ने उनी मृत्युको एउटा निकट अनुभूतिपछि आफ्ना सबै पूर्व अडानहरूको आपैmँले प्रतिवाद गरे र ठूला धार्मिक बने । पछि अस्पतालमा चिकित्सकलाई बताए, उनलाई परमात्माको साक्षात दर्शन भएको थियो । आस्तिकता वा नास्तिकता कसैले उठान गर्ने र त्यहीँ र त्यतिखेरै निर्णयमा पुगिने छलफलको विषय होइन । यो व्यक्तिगत विश्वासको पनि प्रश्न हो । समस्या यहि हो कि हामी अल्पज्ञ आफ्नो सानो आंँखीझ्यालबाट अनन्त ब्रह्माण्डलाई नियाल्दै एउटा साँघुरो क्षितिज समेटेर निष्कर्ष निकाल्छौँ । ज्ञानीहरू यसो गर्न हच्किन्छन् ।
(भण्डारीको फेसबुक भित्ताबाट)

प्रतिक्रिया