अस्पतालमा एआरटी सेवा सुरु

ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटारले ओखलढुंगामा एआरटी सेवा सञ्चालनमा ल्याएको छ । एचआइभी संक्रमितको उपचारलाई ध्यानमा राखेर जिल्ला स्वास्थ्य कार्यालयको पहलमा एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) सेवा सुचारु गरिएको हो । जिल्ला अस्पताल रुम्जाटारमा एआरटी सेवाको उद्घाटन गर्दै जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले एचआइभी संक्रमितको उपचारमा ठूलो मद्दत पुग्ने बताए ।

संक्रमितहरूका लागि अब औषधी सेवन गर्न राजधानी तथा अन्य सहर धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । ओखलढुंगाको यो सेन्टर नेपालको ६१औँ सेन्टर भएको कार्यालयले जनाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले अस्पतालमा संक्रमितको परीक्षण तथा उपचारका लागि आवश्यक उपकरण तथा औषधी निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
ओखलढुंगामा हाल सात एचआइभी संक्रमित उपचार गराइरहेका छन् । सेवा सुचारु हुनुपूर्व ओखलढुंगाका संक्रमित स्वास्थ्य परीक्षण तथा औषधी लिन पूर्वको धरान वा काठमाडौं जानुपर्ने बाध्यता थियो । (सौस)

प्रतिक्रिया