ललितपुर, १५ असार । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले सवारी दुर्घटनाका घाइतेहरूको घटनास्थलमै प्राथमिक उपचार गर्न काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई प्रशिक्षण दिन सुरू गरेको छ ।
सवारी दुर्घटनामा परेका मध्ये कतिपय घाइतेको तत्काल प्राथमिक उपचार हुन नसक्दा ज्यानसमेत जाने जोखिमलाई मध्य नगर गर्दै उपत्यका ट्राफिक प्रहरीले अल्का अस्पतालसँग सहकार्य गरेर दुर्घटनास्थलमै घाइतेको प्राथमिक स्वास्थ्य उपचार गर्ने अभियान सुरु गर्न लागेको हो ।
पहिलो चरणमा ललितपुरमा उक्त अभियान सुरु गरेको ट्राफिक प्रहरीले दोस्रो चरणअन्र्तगत काठमाडौ र भक्तपुरका ट्राफिक प्रहरीलाई प्राथमिक स्वास्थ्य उपचारसम्वन्धी प्रशिक्षण दिन सरु गरेको छ ।
सवारी दुर्घटनापछि घाइतेहरुको जीवनरक्षा गर्न मद्दत पुगोस भन्ने उद्देश्यले ट्राफिक प्रहरीसँग सहकार्य गरिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले बताए । अध्यक्ष थापाले ट्राफिक प्रहरीले आग्रह गरे देशव्यापी रुपमा प्रशिक्षण दिन आफूहरू तयार रहेको बताए ।
अस्पतालका चिकित्सकद्वय शविचन्द्र अमात्य र धर्मागत भट्टराईले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई कसरी उपचार गर्ने, उनीहरुको शरीरबाट बगीरहेको रगतलाई रोकथाम कसरी गर्ने, श्वास प्रश्वासमा समस्या भएकालाई कसरी सहज गराउने जस्ता बिषयमा प्रशिक्षण दिइरहेका छन् ।
उपत्यकाका कंलकी, थानकोट, कोटेश्वर र भक्तपुरमा सबै ट्राफिक प्रहरीलाई एक सातासम्म यस्तो प्रशिक्षण दिइने अस्पतालले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख जयबहादुर चन्दले अल्काको सहकार्यका कारण ट्राफिक प्रहरी अब सडकमा पहिलो स्वास्थ्यकर्मी भएर उभिने पाउने भन्दै यो अभियानलाई देशव्यापी बनाएर लैजान पहल गर्ने बताए ।
प्रतिक्रिया