स्वयच्छिक अवकाशमा बढ्दैछ आकर्षण

कैलाली, ६ वैशाख । जनमुक्ति सेनाको कैलालीस्थित सातौ डिभिजनको सहायक शिविर लोकेश स्मृति ब्रिगेड गोरंगे र लिस्नेगाम स्मृति ब्रिगेड बडैपुरमा माओवादी लडाकुको पुनःवर्गिकरण गर्ने काम सम्पन्न भएको छ ।

शनिबारबाट शुरु गरिएको पुनःवर्गिकरणमा दुईटा शिविरबाट एक हजार ७६ जना लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् । गोरंगे र बडैपुर सहायक शिविरमा रहेका लडाकुको पुनःवर्गिकरण गर्ने काम सम्पन्न भई स्वैच्छिक अवकाश रोजेकाहरुलाई अवकाश रकमको चेक दिएर विदाई पनि गरिएको माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनस्थापना सम्बन्धी विशेष समितिका संयोजक गोपालसिंह बोहराले जानकारी दिए ।

उनले आजबाट डिभिजनको मुख्य शिविर तालबन्दमा पुनःवर्गिकरणको काम शुरु गरिएको बताए ।

यसअघि अधिकांश लडाकुले सेना समायोजनमा जान चाहेको भएपनि एक्कासी माओवादी लडाकु र शिविर नेपाली सेनाको मातहतमा राखिए पछि अधिकांश लडाकुले असन्तुष्टी जनाउदै स्वैच्छिक अवकाश रोजेका हुन् ।

सातौं डिभिजनमा ३१ सय ३१ लडाकु रहेकोमा यसअघिको वर्गिकरणमा १७ सय ६२ लडाकुले समायोजन रोजेका थिए । यी मध्ये पनि अहिलेको पुनःवर्गिकरणमा अधिकांश लडाकुहरुले धमाधम स्वैच्छिक अवकाश रोजेका छन् ।

सातौं डिभिजनमा पुनःवर्गिकरणका लागि बोहराको नेतृत्वमा १२ जनाको टोली खट्टिएको छ । टोलीले बिहीबारसम्म सातौं डिभिजनको पुनःवर्गिकरण गरिसक्ने बताएको छ ।

प्रतिक्रिया