काठमाडौं, ३० जेठ । विद्यार्थी संगठनले निजी विद्यालयले मासिक शुल्कबाहेक अन्य शीर्षकमा गरिएको शुल्क मिनाहाको विरोध जनाएका छन् ।
उनीहरूले शुल्क मिनाहाका नाममा अभिभावकको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउँदै आन्दोलनको तयारी गरेका छन् । बुधबार आन्दोलनको तयारीमा रहेका विद्यार्थी संगठन शिक्षामन्त्री चित्रालेखा यादवले माग सम्बोधन गर्ने भनेकाले केही दिन रोकिएका थिए ।
भूकम्पका बेला पढाइ नभएको एक महिनाको शुल्क मिनाहा माग गर्दै आएका विद्यार्थी संगठन निजी विद्यालयले माग पूरा नगरेपछि आन्दोलन घोषणाको गहृकार्यमा लागेका छन् । उनीहरू शनिबार शुल्क मिनाहाको माग गर्दै आन्दोलन घोषणा गर्दै छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले माग सुनवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको जानकारी दिए । ‘हाम्रो माग न सरकारले सम्बोधन गर्यो न निजी विद्यालयले,’ उनले भने, ‘त्यसैले सम्पूर्ण शैक्षिक संस्थाको एक महिनाको मासिक शुल्क मिनाहा माग गर्दै आन्दोलन गर्न बाध्य भयौँ ।’ बिहीबार प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा एक महिनाको यातायात, प्रयोगशाला, खाजाखर्च शीर्षकको शुल्क मिनाहा गर्ने विज्ञप्तिमार्फत जनाएका थिए ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले लटरपटर विज्ञप्ति निकालेर अन्य शीर्षकमा गरिएको शुल्क मिनाहा आफूलाई मान्य नभएको बताए । उनले आफ्नो माग सम्पूर्ण शैक्षिक संस्थाले एक महिनाको शुल्क मिनाहा गर्नु भने पनि दुई संस्थाले गरेको र त्यसमा पनि मासिक शुल्क मिनाहा नगरेकामा आपत्ति जनाए । ‘उहाँहरूले पहिले जे गर्छु भन्नुभएको थियो । त्यही गर्नुभएको छैन,’ उनले भने, ‘समग्र संस्थाको नामबाट विज्ञप्ति निकाल्छु भन्नुभएको थियो । त्यो पनि गर्नुभएन । मासिक शुल्क मिनाहाका नाममा अन्य शीर्षकको शुल्क मिनाहा गरेको मान्दैनौँ ।’ उनले माग पूरा नगरेकाले आन्दोलन कार्यक्रम सार्वजनिक गरिने बताए ।
संगठनहरूले शनिबार पत्रकार सम्मेलनमार्फत एक साता दबाबमूलक आन्दोलन घोषणा गर्ने छन् । मल्लले अहिल्यै शैक्षिक हडतालसम्मको आन्दोलन घोषणा नगर्ने जानकारी गराउँदै विद्यालय सञ्चालकलाई लक्षित गरी आन्दोलन हुने बताए । ‘विद्यालय भर्खर खुलेकाले शैक्षिक हडताल कार्यक्रम हुँदैनन्,’ उनले भने, ‘तर विद्यालय सञ्चालकलाई मासिक शुल्क मिनाहा गर्न दबाब दिने
आन्दोलन हुनेछन् ।’
प्रतिक्रिया