स्कुलमा पढाउन भ्याइनभ्याई

schoolकाठमाडौं, २९ जेठ । काठमाडौंको पूर्वी क्षेत्रका स्कुलमा अहिले भ्याइनभ्याई छ । एक होइन, दुई सिफ्टमा नियमित कक्षा सञ्चालनमा छन् । सहरी क्षेत्रका स्कुलमा विद्यार्थीको संख्या न्यून भइरहेको बेला, पूर्वी क्षेत्रमा भने स्कुलमा थामिनसक्नु विद्यार्थी आउन थालेका छन् । जोरपाटी, नारायणटार, मूलपानी, गोठाटार, थलीका स्कुलमा विद्यार्थीको चाप बढेको छ ।

भूकम्पपछि सिन्धुपाञ्चोकबाट बस्ती नै ती ठाउँमा सरेपछि बस्तीका विद्यार्थीले स्कुलहरू भरिएका छन् । भूकम्पका कारण सिन्धुपाञ्चोकबाट वागमती नदीको किनार, मूलपानी र थलीमा बस्ती सरेको छ । उक्त बस्तीमा रहेका स्कुले विद्यार्थी नजिकका स्कुलहरूमा भर्ना हुन थालेका छन् । भूकम्पका कारण उपत्यका सहरी क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म विद्यार्थी घटेका अवस्थामा ती क्षेत्रका स्कुलमा भने ३० प्रतिशत विद्यार्थी बढेका छन् ।

अहिले कतिपय स्कुलले दुई सिफ्टमा कक्षा सञ्चालन गरेका छन् । विद्यार्थी बढेसँगै विद्यार्थीले बस्ने डेक्सबेन्चको अभाव भएको छ । भवनमा क्षति पुगे पनि स्कुलहरूले अस्थायी टहरामा पढाउँदै आएका छन् । विशेष गरी कक्षा पाँचदेखि १० कक्षामा विद्यार्थीको चाप छ ।
भूकम्पका कारण विस्थापित भएपछि सिन्धुपाञ्चोकका केही बस्ती बागमती नदीको किनार, थली, मूलपानीमा आएर बसेका छन् । खगेन्द्र नवजीवन विशेष शिक्षा मावि जोरपाटी, कान्ति भैरव मावि थली, चामुण्डा मावि नारायणटार, अरुणदोय मावि आरुबारी, जोरपाटीलगायत स्कुलमा विद्यार्थीको चाप बढेको छ । विद्यार्थी चापका कारण अपांगता भएका विद्यार्थीलाई भनेर खोलिएको खगेन्द्र विशेष शिक्षा माविमा सांग विद्यार्थी भर्ना गरिएका छन् ।
स्कुलका प्रधानाध्यापक राघवप्रसाद दवाडीले विद्यार्थीले पढ्न पाउने अधिकार भएकाले सबै विद्यार्थीलाई भर्ना गरेको बताए । ‘हाम्रो विद्यालय शारीरिक अपांगता भएका विद्यार्थीका लागि स्थापना गरिएको नेपालको एक मात्र विशेष विद्यालय हो’, उनले भने, ‘तर के गर्ने विस्थापित क्षेत्रबाट विद्यार्थी आएपछि अन्यलाई पनि भर्ना गरेका छौँ ।’
सरकारको समाहित शिक्षाको अवधारणअनुसारले पनि अपांगताका लागि स्थापित स्कुलमा सांगलाई भर्ना गरिएको प्रधानाध्यापक दवाडीले जानकारी गराए । उनका अनुसार अहिले स्कुलमा दुई सयभन्दा बढी सांग विद्यार्थी भर्ना गरिएका छन् । शरीरिक अपांगता भएका विद्यार्थीलाई भने वर्षभर नै भर्ना लिने गरेको समेत दवाडीले सौर्यलाई जानकारी गराए ।
‘हाम्रा कक्षाकोठा साना छन् । त्यसैले धेरै विद्यार्थी राख्ने अवस्था थिएन’, उनले भने, ‘तैपनि, यस्तो विपत्को बेला विस्थापित भएर आएका विद्यार्थीलाई कार्पेटमा बसालेर पढाउन सयभन्दा बढी भर्ना गरेका छौँ ।’ सरकारले भूकम्प प्रभावित जिल्लामा कक्षा १० मा पढ्ने विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिएकाले पनि विद्यार्थीको चाप बढेको हो ।
अरुणदोय मावि जोरपाटीका प्रधानाध्यापक कृष्ण नेपालले प्रत्येक दिन १५÷२० जना नयाँ विद्यार्थी भर्ना गर्न आउने गरेको बताए । नौ सय विद्यार्थी हुने उक्त स्कुलमा अहिले एक हजार एक सय विद्यार्थी पुगेका छन् । उनले पुराना विद्यार्थी छाडेर नयाँ विद्यार्थी आउनेक्रम चलिरहेको बताए । चामुण्डा मावि नारायणटारका प्रधानाध्यापक यादव पौडेलले विस्थापित बस्तीले स्कुलमा विद्यार्थी चाप बढेको बताए । उनले अहिले पनि नयाँ विद्यार्थीका लागि फारम वितरण गरिएको जानकारी गराए ।
उक्त क्षेत्रका स्कुल स्रोतव्यक्ति यदुनाथ शर्माले बस्तीका कारण २५ देखि ३० प्रतिशत विद्यार्थीको चाप बढेको बताए । ‘भर्ना हुन आएका विद्यार्थीलाई हामीले स्कुललाई नफर्काउन भनेका छौँ’, उनले भने, ‘भवनमा क्षति पुगे पनि अस्थायी टहरा निर्माण गरी ती विद्यार्थीलाई व्यवस्थापन गर्न आग्रह गरेका छाँै । स्कुलले पनि त्यसै गरिरहेका छन् ।’ उनका अनुसार ती स्कुलमा कक्षा ५,६,९ र १० मा विद्यार्थी भर्ना बढी रहेका छन् ।

प्रतिक्रिया