सुर्खेत साक्षर जिल्ला घोषित

सुर्खेत २७ जेठ । मध्य तथा सुदूरपश्चिमाञ्चलको पहिलो तथा नेपालको नवौँ साक्षरता जिल्ला सुर्खेत घोषणा भएको छ । जिल्लाका १५ वर्षमाथिका ५० हजार बढी निरक्षर प्रौढलाई साक्षर बनाएपछि सोमबार सुर्खेतलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

नेपालमा पहिलोपटक सघन साक्षरता कार्यक्रम २०४५ साल सुर्खेतबाट सुरु गरिए पनि २०६९ सालबाट अभियानकै रूपमा सञ्चालन भएको थियो । ६० वर्षसम्मका कुल ५८ हजार चार सय १५ निरक्षरमध्ये ५० हजार चार सय ८१ साक्षर भएका छन् तर जिल्लाका सात हजार नौ सय ३४ जना अझै निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । अनौपचारिक शिक्षा केन्द्रको निर्देशन, राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा ९५ प्रतिशत बढी जनसंख्या साक्षर भएको हुनुपर्ने मापदण्ड छ । तसर्थ सुर्खेत जिल्लाको साक्षरता प्रतिशत ९६ दशमलव २६ भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । बाँकी ३ प्रतिशत ७४ लाई साक्षर बनाउने अभियान जारी रहेकाले शतप्रतिशत पु¥याउने ध्येय शिक्षा कार्यालयको छ । नेपाल सरकारले सञ्चालन गरेको साक्षर नेपाल अभियानको घोषणा पत्रमा १२ वटा मापदण्ड निर्धारण गरेको थियो । साक्षर जिल्ला घोषणा हुनका लागि नागरिकहरूले मातृभाषा पढ्न तथा लेख्न सक्ने, मूल्यसूची र बिल पढ्नसक्ने, ०–९ सम्मका अंक लेख्न सक्ने, एकदेखि सयसम्म गन्न सक्नेलगायत १२ नियम उल्लेख छन् । १२ नियममध्य न्यूनतम ७ सक्षमताहरू पूरा भएमा व्यक्तिलाई साक्षर भन्नसक्ने व्यवस्था छ ।
विद्यार्थी परिचालन र अनौपचारिक अध्ययन केन्द्रबाट कक्षा सञ्चालन गरेर यो साक्षरता उन्मूलन अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले बताइन् । उनले जिल्लाका ४४ गाविस र दुई नगरपालिकामा साक्षर कार्यक्रम सञ्चालन गरेर अभियान थालेको उल्लेख गरिन् । देशकै पहिलो सघन साक्षरता अभियान यहीँबाट सञ्चालन भएको बताउँदै अधिकारी हमालले नैतिक रूपमा पनि साक्षर जिल्ला घोषणा गर्नुपर्ने देखिएकाले सबैको साथ र समार्थनबाट घोषणा भएको बताएकी छिन् ।
सुर्खेतलाई साक्षरतासँगै अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा गरिएको छ । नेपालका अन्य कुनै पनि जिल्ला अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा नभएकाले सुर्खेत पहिलो जिल्ला भएको छ । जिल्लामा पाँचदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिकालाई शिक्षा प्रदान गर्न सरकारले जारी गरेको अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन निर्देशिका–२०७१ लागू गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लामा कुल पाँच सय ९० पूर्व प्राथमिक विद्यालय, बालविकास केन्द्र (सामुदायिक र संस्थागत दुवै ), पाँच सय २६ विद्यालय, (सामुदायिक र संस्थागत), सातवटा अनौपचारिक प्राथमिक विद्यालय, दुई खुला विद्यालय र दुई गृहणी विद्यालयमार्फत आधारभूत तहको शिक्षा प्रदान गरिरहेको जिल्ला शिक्षा अधिकारी हमालले जानकारी दिइन् । ५–१२ वर्ष उमेर समूहका ९८ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको रेकर्ड शिक्षा कार्यालयको छ ।
विद्यालयबाहिर रहेका बाँकी बालबालिकालाई विद्यालय ल्याउने प्रयास जारी राख्ने अधिकारी हमालको तर्क छ ।
घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सभासद् पूर्णबहादुर खड्काले साक्षर र शिक्षा प्रदाय सुर्खेत घोषणा गर्ने कार्य राम्रो भएको बताउँदै बाँकी व्यक्तिहरूलाई समेटेर शतप्रतिशत बनाउन आग्रह गरे ।

प्रतिक्रिया