अर्जै उच्च माविमा राजनीति

Arjai-Ma-Vi-Gulmiबुटवल, २४ जेठ । गुल्मी जिल्लाको अर्जै उच्च माविमा राजनीतिले उग्र रूप लिएपछि शिक्षकबीच हात हालाहाल भएको छ ।

भनिन्छ, विद्यालय शिक्षाको ज्योति दिने ठाउँ हो । तर, अर्जै उच्च माविमा कार्यरत शिक्षकहरूले आफ्नो पदीय दायित्व बिर्संदै पाटीको झन्डा बोकेर हिँड्न थालेपछि विद्यालयमा यतिबेला समस्या आएको छ । महिना दिनमा नै प्रध्यानाध्यापकको राजीनामा आउने विद्यालयमा पछिल्लो एक साताअघि शिक्षकबीच कुटपिट भएको घटना सार्वजनिक भएसँगै विद्यालयको यथार्थ बाहिर आएको हो ।
जेठ १२ गते विद्यालय समयमा वैद्य माओवादी निकट मानिने शिक्षक जोरासिंह पुनले विद्यालयमा मादकपदार्थ सेवन गरी प्रअलाई अपशव्द प्रयोग गर्दै बेइजत गरेको स्रोतले बताएको छ । तर, यो कुरा भने शिक्षक पुन पक्षले स्वीकार गर्ने पक्षमा भने देखिएको छैन । कांग्रेस, एमाले शिक्षक एक पक्षमा उभिएका छन् भने एमाओवादी, वैद्य माओवादी शिक्षकहरू अर्को पक्षमा उभिएका छन् ।
जेठ १२ गते जोरा पुनले प्रअको कार्यकक्षमा पुगी गुप्तांग देखाएको आरोप कांग्रेस, एमाले निकट मानिने शिक्षकहरूको दाबी छ ।
‘अर्मादित कार्य जोरासरले गरेका हुन’ स्रोत भन्छ ‘शिक्षक धनिश्वर अर्याल र शिक्षक पदम पाण्डेलाई जोरासरले हानेर भागे ।’
पदम पाण्डेलाई जोरासिंहले आँखामा चोट लाग्ने गरी मुक्का प्रहार गरेको बुझिएको छ । रुकुम जिल्ला स्याल पाखा गाविसका जोरासिंह पुन ०६२ असार १६ गते अस्थायी दरबन्दीमा माविका गणित शिक्षक हुन् ।
मुक्का प्रहार गरेपछि जोरासिंह भागेको र अर्को बिहान १३ गते प्रहरी चौकी इस्मामा गई गल्ती भएको र माफ पनि मागेको कांग्रेस, एमाले निकट शिक्षकहरूले बताएका छन् । ‘गल्ती जोरासिंहको मात्र छैन, यहाँ धेरै षडयन्त्र रचिएका छन्’ वैद्य निकट मानिने स्रोतले भन्यो, ‘जोरालाई पिल्लरमा बाँधेरसमेत पिटेका छन् ।’
पुनलाई त्यहाँका शिक्षकहरूले पिल्लरमा बाँधेर पिटेको बुझिएको छ । ‘पदमको रगत देखिएर पिटेको प्रमाणित भयो, तर जोरासिंहलाई पनि पिल्लरमा बाँधेर पिड्दा पनि चोट लागेन, त्यही भएर प्रमाण भएन’ स्रोतले भन्यो ।
प्रत्यक्षदर्शीका अनुसार जोरासरलाई पिल्लरमा बाँधेको बताएका छन् । ‘म जाँदा पिल्लरमा बाँधिएको थियो, हामीले यसो गर्न हुन्न भन्यौँ’ नाम नभन्ने सर्तमा प्रत्यक्षदर्शीले भने ।

प्रतिक्रिया