प्रवेशिका परीक्षाको नतिजा असार दोस्रो साता

SLC-Exam-Girlas-Nepalकाठमाडौं, २० जेठ । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा ल्याइएका छन् ।

भूकम्पका कारण परीक्षा प्रकाशनमा असर पर्ने चिन्ता देखिए पनि सात जिल्लाबाहेक सबै जिल्लाका उत्तरपुस्तिका आइसकेको छन् ।

बाँकी जिल्लाको पनि चाँडै केन्द्रमा आउने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए । बाँकी जिल्लामा धनकुटा, ललितपुर, धनुषा, महोत्तरीलगायत छन् ।

उनले हाल नतिजा प्रकाशनका क्रममा सम्परीक्षण गरिएका उत्तरपुस्तिकालाई कम्युटरमा चढाउने कार्य भइरहेको छ । आगामी असारको दोस्रो साताभित्र नतिजा प्रकाशनको तयारी भएको उनले जानकारी दिए ।

गत वर्ष चैत ५ गतेदेखि भएको सो परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी थिए ।

यसैबीच, भूकम्पप्रभावित जिल्लाका विद्यार्थीले आउँदो प्रवेशिका परीक्षा दिनका लागि तोकिएको भन्दा अन्यत्र जिल्लाका केन्द्रमा जान चाहेमा पीडितको पहिचानसहित स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सिफारिस आएमा त्यस्तो व्यवस्था गर्न सकिने नियन्त्रक द्वारेले जानकारी दिए ।

प्रतिक्रिया