काठमाडौं, २० जेठ । उच्च माध्यमिक शिक्षा परिषद् सानो ठिमी भक्तपुरले आज (बुधबार) देखि कक्षा १२ को परीक्षा सुरु गर्दै छ । एम्बुलेन्स राखेर भूकम्पबाट अति प्रभावित सात जिल्लाबाहेकको परीक्षा सञ्चालन गरिने भएको हो । भूकम्पका कारण स्थगित भएको कक्षा १२ र ११ को परीक्षा स्थगित भएको थियो । परिषद्ले भूकम्प ६८ जिल्लाको परीक्षा बुधबारबाट हुने जनायो । कक्षा १२ को बुधबार र कक्षा ११ को असार १ गतेबाट परीक्षा सञ्चालन हुने भएको छ । परिषद्ले भूकम्पका कारण एक महिना ढिलो परीक्षा सञ्चालन गरेको हो । परिषद्ले भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, दोलखा, नुवाकोट, घादिङ र रामेछापमा पछि परीक्षा गर्नेछ । परिषद्ले परीक्षाको सम्पूर्ण तयारी गरिसकेको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक जयन्ती सत्यालले जानकारी गराइन् । उनले सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइसकेको बताइन् ।
परीक्षामा ६ लाख ७२ हजार सात सय ४४ परीक्षार्थी सहभागी हुँदै छन् । कक्षा १२ मा तीन लाख २५ हजार ६ सय ६० र कक्षा ११ मा तीन लाख ४७ हजार ८४ विद्यार्थी सहभागी हँदै छन् भने भूकम्प अति प्रभावित सात जिल्लाका ४६ हजार सात सय १९ विद्यार्थीले भने पछि परीक्षा दिने भएका छन् ।
कक्षा ११ र १२ मा एक सय ३८ विषयको परीक्षामा छात्र तीन लाख ३६ हजार ६ सय ५६ र छात्रा तीन लाख ३६ हजार ८८ रहेका छन् । परीक्षाका लागि आठ सय ४६ परीक्षा केन्द्र ताकिएको उपनियन्त्रक सत्यालले जानकारी गराइन् । उनका अनुसार परीक्षामा एक हजार ६९ सहायक केन्द्राध्यक्ष, सात हजार सात सय ६१ कक्षा गार्ड, नौ सय १३ पर्यवेक्षक, आठ सय ४६ कर्मचारी र १० हजार नौ सय ८८ सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
परीक्षा सुरु हुनुभन्दा अगाडि परीक्षार्थीलाई मनोपराशर्म दिइने भएको छ । केन्द्राध्यक्षले परीक्षाकेन्द्रमा भूकम्पबारे डराउनुपर्दैन भनेर परीक्षार्थीलाई मनोपरामर्श गर्ने उपनियन्त्रक सत्यालले बताइन् । ‘परीक्षा सुरु हुनुभन्दा अगाडि केन्द्राध्यक्षले परीक्षार्थीलाई भूकम्पको त्रास हटाउन मनोपरामर्श दिनेछन्’, उनले भनिन्, ‘जसले गर्दा विद्याथी ढुक्कले परीक्षामा लेख्न सक्छन् ।’ केन्द्राध्यक्षले मनोपरामर्श दिएपछि मात्र परीक्षा सुरु हुनेछ ।
यसैगरी, निरन्तर पराकम्पन आइरहेको अवस्थामा परीक्षा सञ्चालन गरेको परिषद्ले विद्यार्थीलाई परीक्षाको अवधिभर रेस्क्युका लागि तीन एम्बुलेन्स परिचालन गरेको छ । विद्यार्थी भयरहित वातावरणमा परीक्षामा सहभागी होऊन् भन्नका लागि डाक्टर नर्ससहित स्वास्थ्यकर्मी रहेको तीनवटा एम्बुलेन्स परिचालन गर्ने सत्यालले बताइन् । उनका अनुसार काठमाडौं ललितपुर र भक्तपुरमा ती एम्बुलेन्स परिचालन हुनेछन् ।
‘विद्यार्थीलाई परीक्षा अवधिभर भूकम्पका कारण कुनै दुर्घटना भए तीनवटा एम्बुलेन्स परिचालन गरेका छौँ,’ उनले भनिन्, ‘जसले गर्दा विद्यार्थी ढुक्कसँग परीक्षामा सहभागी होऊन् ।’ परीक्षा हलमा कुनै दुर्घटना भए एम्बुलेन्स तत्काल परीक्षा केन्द्रमा पुगी विद्यार्थीलाई उपचार गर्नेछ । उपनियन्त्रक सत्यालले केही दुर्घटना भए परीक्षा हलमा उपचार र आवश्यक परे हस्पिटलमा पनि लैजाने जानकारी गराइन् । एम्बुलेन्समा दुई डाक्टर दुई नर्ससहितको टोली मोबाइल गस्तीको रूपमा परिचालन हुनेछन् ।
यस्तै, परिषद्ले भूकम्प कारण त्रसित भएकाले विद्यार्थीलाई सहजकता परीक्षा केन्द्र ‘भुइँतला’मा राखेको छ । परिषद्ले भवनको अवस्था हेरी भरसक भुइँतलामा नै परीक्षा केन्द्र राखेको छ । उपनियन्त्रक सत्यालले परीक्षार्थीले सहज वातावरणमा परीक्षा दिनका लागि भरसक भुइँलतामा नै राखेको जानकारी गराइन् । ‘हामीले विद्यार्थीका लागि सहज होस् भन्नका लागि भरसक भुइँतलामै परीक्षा केन्द्रको व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘सुरक्षित भवनमा भने पहिलो तल्लामा समेतमा परीक्षा सञ्चालन गरेका छौँ ।’
अहिले सञ्चालन भएको परीक्षामा भूकम्पले घाइते भएका विद्यार्थी सहभागी नहुन नसके परिषद््ले पछि छुट्टै परीक्षाको व्यवस्था गरेको छ । परिषद्ले काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा सिन्धुली, सोलुखुम्बु र मकवापुरका अहिले घाइते भएर परीक्षा छुटेका विद्यार्थीलाई छुट्टै व्यवस्था गर्ने भएको हो । उपनियन्त्रक सत्यालले घाइते भएर अहिलेको परीक्षामा दिन नसक्ने विद्यार्थीलाई पछि छुट्टै परीक्षाको व्यवस्था गरिएको जानकारी गराइन् । ‘भूकम्पबाट घाइते विद्यार्थीले अहिलेको परीक्षा दिन नसकेको खण्डमा पछि उनीहरूका लागि छुट्टै परीक्षा सञ्चालन गर्छौं’, उनले भनिन्, ‘घाइते विद्यार्थीले परिषद्मा निवेदन दिनुपर्छ ।’
यसैगरी, परिषद्ले कुनै विषयको प्रश्नपत्रमा केही त्रुटि भए सच्याउनका लागि छुट्टै सूचना बोर्डको व्यवस्था गरेको छ । परिषद्ले कुनै विषयको प्रश्नपत्रमा त्रुटि भए सच्याउनका लागि टोलफ्री नम्बर १६१००१६६३९००२ प्रयोगमा ल्याएको छ ।
प्रतिक्रिया