विनाशकारी महाभूकम्प र त्यसपछिका पराकम्पनले जमिन नराम्रोसँग हल्लाउनुका साथै विभिन्न ठाउँमा छिया–छिया बनाएको छ । भूकम्पमा बढी क्षति भएका १४ जिल्लामा वर्षा लागेसँगै पहिराकोे जोखिम बढेकोे छ । जल तथा मौसम विभागका अनुसार यस वर्षको मनसुन जेठ चौथो साताबाट सुरु हुँदै छ । विभिन्न समयमा गएको विनाशकारी भूकम्पसँगै गएका सैयौँ पराकम्पनले छिया–छिया बनेको प्रभावित क्षेत्रका पहाड मनसुनी वर्षासँगै पहिरोको खतरा बढेको हो ।
मनसुनसँगै भूकम्पले थर्काएका, भास्सिएका, पहाड फुटेकाले पोहिरोको जोखिम पूर्वानुमान भएको हो । वर्षासँगै भूकम्प र त्यसपछि गएका धक्काबाट नराम्ररी उजाडिएका पहाडी बस्तीमा सरकारबाट अध्यायन अनुसन्धान नहुनाले फेरि ठूलो क्षेती हुन सक्ने विज्ञहरूको अनुमान छ । पहाड र चट्टानलाई हल्लाएर भू–धरातल खुकुलो बनाएकाले वर्षामा ठूला–ठूला पहिरोको सम्भावना रहेको नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरूले औँल्याएका छन् ।
‘हाम्रो अध्ययनले सयौँ ठूला पहिरो जाने र राजमार्ग रोकिन सक्ने प्रबल सम्भावना रहेको देखियो,’ त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक मेघराज धितालले भने, ‘साना तर धेरै लामा सुख्खा पहिरो देखिएका छन्, वर्षाले तिनै ठाउँमा भीमकाय पहिरो निम्त्याउन सक्छ ।’
महाभूकम्पलगत्तै आएका चिनियाँ प्रज्ञा प्रतिष्ठानका ११ सदस्य भूगर्भविद् र त्रिभुवन विश्वविद्यालयका भूगर्भविद्ले गोरखादेखि रामेछापसम्मैको मध्यपहाडी र उच्चपहाडी क्षेत्रमा हेलिकप्टरबाट विभिन्न पहाडी क्षेत्रको सर्वेक्षण गरेका थिए । सँगै विभिन्न टोलीले सम्भावित खतरामा रहेका राजमार्ग र उच्चजोखिममा रहेका बस्तीको स्थलगत अध्ययनसमेत गरेका थिए ।
महाभूकम्पपछि तारन्तार आएका पराकम्पनको हल्लाइले भिरालो जमिनमा फैलिएका सयौँ बस्ती र राजमार्ग रहेका पहाडको सतह कमजोर बनेकाले लामो वर्षा हुनेबित्तिकै पहिरो जानसक्ने प्राध्यापक धितालले बताए । सिन्धुपाल्चोकको तातोपानी जोड्ने कोदारी राजमार्ग, दोलखादेखि तामाकोसी जोड्ने मार्ग, बालाजु बाइपासदेखि नुवाकोट हुँदै रसुवागढी जोड्ने पासाङ ल्हामु शेर्पा मार्गका विभिन्न खण्ड र मुग्लिङ–नारायणगढ खण्डमा सबैभन्दा बढी पहिरोको जोखिम रहेको भूगर्भशास्त्रीहरूको निष्कर्ष छ ।
सिन्धुपाल्चोकको कोदारी मार्गमा निर्माणाधीन सुख्खा बन्दरगाहसमेत थर्किएर कमजोर बनेकाले त्यो असुरक्षित रहेको विशेषज्ञहरूले जनाएका छन् । गत वर्षको साउनमा गएको जुरे पहिरो आसपासको क्षेत्र, खाडीचौर, चर्नावतीलगायतमा ठूला धाँजा फाटेकाले पहिरो जान सक्ने धितालले औँल्याए । उक्त क्षेत्रको चट्टान कमजोर भएकाले चट्टानी पहिरोको सम्भावना बढी देखिएको छ ।
गोरखादेखि सिन्धुपाल्चोकसम्मका हिमाली बस्तीहरूसमेत पहिरोको उच्च जोखिममा रहेको उनीहरूले औँल्याएका छन् । पहिलेदेखि नै पहिरोको जोखिममा रहेको गोरखाको केरौँजामा थप पहिरो गएपछि बस्ती नै स्थानान्तरण गरिसकिएको छ ।
विनाशकारी महाभूकम्पसँगै लगातार भूकम्पका सानातिना धक्का गइरेहेका छन् । सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा, गोरखामा केन्द्रबिन्दु बनेर धेरै भूकम्प गएकाले ती जिल्लाका पहाड बढीमा पहिरोको जोखिममा परेको भूगर्भविद्हरूको भनाइ छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार एक महिनामा ४ देखि ७ दशमलब ६ रेक्टर स्केलसम्मका ३ सयभन्दा बढी भूकम्प गएका छन् ।
भूगर्भशास्त्रका अर्का प्राध्यापक डा. रञ्जनकुमार दाहालले विगतदेखि नै ठूला भूकम्पपछि भीमकाय पहिराहरू जाने गरेकाले बढी केन्द्रबिन्दु बनेका स्थान पहिरोका हिसाबले उच्चजोखिममा रहेको बताए ।
‘केही ठाउँमा गत वर्ष जुरेमा जस्तो पहाडै खस्ने खालका पहिरोको पनि सम्भावना छ,’ धितालले थपे, ‘कम्पनले जमिनको सतह कमजोर बनाइसकेकाले अहिले हाम्रा पहाडले ठूलो वर्षा थेग्न सक्ने अवस्था छैन ।’ विशेषज्ञहरूले बढी भिरालो, थुम्का, खोंच, नदी किनार र चट्टान बढी भएको क्षेत्रका बस्ती उच्च जोखिममा रहेकाले बेलैमा बस्ती स्थानान्तरण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । ‘विगतमा गएका साना पहिरोमा भूकम्पपछि ठूलो पहिरो थपिएको र वर्षामा अझै थपिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्छ,’ उनको सुझाव छ । नेपालमा सामान्यतया जेठ अन्तिममा सुरु हुनुपर्ने भए पनि असार पहिलो सातादेखि मनसुन सुरु हुने गरेको छ ।
भूगर्भविद्को टोलीले पहिरोले भासिने सम्भावना बढी रहेका सडक, ठूला आयोजना, ठूला पहिरा आएर बाटो बन्द हुनसक्ने खण्ड, विद्युत् गृह र अन्य संरचनालगायत जोखिमबारे पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको छ । ‘राजमार्गका कुन–कुन स्थान जोखिममा छन्, भौतिक मन्त्रालय र सडक विभागका अधिकारीहरूलाई जानकारी गराएका छौँ,’ धितालले भने, ‘गृहमन्त्रालयलाई पनि सम्भावित अवस्थाबारे जानकारी गरायौँ ।’
उनले अग्ला पहाडका थुम्का र टापुमा रहेका बस्तीसमेत पहिरोको जोखिममा रहेकाले सतर्कता अपनाउनुपर्ने सुझाए । उनले भने, ‘थुम्कामा रहेका बस्तीहरू मज्जाले हल्लिएकाले लगातार वर्षासँगै आउने पहिरोले बस्ती नै सखाप पार्न सक्ने देखिन्छ ।’ कुनै–कुनै स्थानमा ठूलो पहिरो आई खोलारनदी थुनिने र पानीको बहावले कमजोर बनेको बस्ती बगाउने सम्भावना रहेकाले खोंचमा रहेका बस्ती बढ्ता जोखिममा देखिएका छन् ।
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत रहेका भूगर्भविद् डा. विशालनाथ उप्रेतीले भूकम्पले जमिनमा धेरै चिरा पार्नुका साथै जमिन खुुकुलो बनाएकाले पहिरोको जोखिम अत्यधिक रहेको बताए । ‘जमिन क्षेती पु¥याएकाले वर्षात्को समयमा ठूलो पहिरोको सम्भावना जहाँतहीँ छ,’ उप्रेतीले भने, ‘ठूला चट्टानी पहिरोसमेत आउन सक्छ ।’ बाहिरी भू–वनोट राम्रो देखिए पनि भित्री भागमा धाँजा परेकाले वर्षात्को पानी पर्नेबित्तिकै पहिरोको रूप लिन सक्ने उनले औँल्याए ।
खानी तथा भूगर्भ विभागले भूकम्पपछि पहिरोको जोखिम अध्ययन गर्न अति प्रभावित ६ जिल्लामा परिचालन गरेको १८ वटा समूहले अध्ययन गरिरहेका छन् । भूकम्पपछि आएको सुख्खा पहिरोले बस्ती जोखिममा छन् छैनन्, जोखिममा भएका बस्तीलाई कहाँ सार्ने आदि विषयमा अध्ययन गर्न समूहहरू खटाइएको विभागका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए । अति प्रभावित भई संकटग्रस्त घोषणा गरिएका सिन्धुपाल्चोक र गोरखामा चार–चार, दोलखा र धादिङमा तीन–तीन तथा नुवाकोट र रसुवामा दुई समूह अध्ययनका लागि खटाइएको छ,’ उनले भने ।
आठ समूहलाई तीन दिनभित्र काम सकी प्रतिवेदन बुझाउन समय दिइएको छ । विभागको नेतृत्वमा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) नेपाल भौगर्भिक समाज, भूगर्भशास्त्र केन्द्रीय विभाग कीर्तिपुर र त्रिचन्द्र क्याम्पसलगायत संघसंस्थाका भूगर्भविद् अध्ययनमा सहभागी छन् । समूहले एक सातादेखि नै स्थलगत रूपमा अध्ययन सुरु गरेको महानिर्देशक महतोले जानकारी दिए ।
पहिराका विषयमा काम गर्न सरकारले विभागकै नेतृत्वमा गृहमन्त्रालय, नापी विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, भूगर्भशास्त्र विभाग, भौगर्भिक समाज, इसिमोड, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र राष्ट्रिय भू–उपयोग आयोजनाका प्रतिनिधि रहेको कार्यदल गठन गरेको भूगर्भ विभाग स्रोतले जनाएको छ ।
– सञ्जीव दाहाल
प्रतिक्रिया