१२ वैशाखको महाभूकम्पले भौतिक संरचना मात्र होइन, अधिकांश मस्तिष्कलाई असर गर्यो । भूकम्पपीडित जिल्लाका अधिकांश मस्तिष्कमा एउटा डर पैदा गर्यो । कुनै उमेर समूह छैन जो भूकम्पसँग नडराएको होस् । यस्तैमा झन् बाल मस्तिष्कलार्ई लिने हो भने धेरै बालबालिका भूकम्पसँग डराएको पाइयो । ठूला मान्छे डराएको देखेका बालबालिका झन् धेरै डराएको पाइयो ।
भय नै भयमा उनीहरूको दिन बित्न थालेको देखेपछि किड्स होम मन्टेश्वरी शंखमूलले बाल मस्तिष्कबाट डर हटाउने एउटा अठोट ग¥यो र बालबालिकाका लागि समर क्याम्प भनेर आफ्नो शंखमूलस्थित मन्टेश्वरीमा खोल्यो । सबै डराएका बाल मस्तिष्कलाई भेला गरी उनीहरूको दिनचर्या पहिले जस्तै बनाउने उद्देश्यका साथ निःशुल्क सो क्याम्प सञ्चालन गरिएको थियो । संचालक अजिता रिसाल भन्छिन्, ‘हामीले ४०, ५० जना बालबालिका होलान् भन्ने सोचेका थियौँ, तर अहिले धेरै बालबालिका आएका छन् ।’
सो मन्टेश्वरीको क्याम्प सञ्चालन गर्नुको एउटै उद्देश्य थियो– भूकम्पबाट प्रभावित मानसिकतालाई परिवर्तन गर्नु । बालबालिकामा आएको डरलार्ई हटाउनु । त्यसैले यस क्याम्पमा विशेष गरी बालबालिकाको भूकम्पबाट प्रभावित मानसिकतालार्ई परिवर्तन गर्नु र बालबालिकामा आएको डरलार्ई हटाउनु थियो । त्यसैले यस क्याम्पमा विशेष गरी बालबालिकालाई भूकम्प सम्बन्धि जानकारी दिने गरिएको छ । उनीहरूको दिमागमा भएको डर हटाउन उनीहरूलार्ई विभिन्न किसिमका काममा लगाइन्छ । उनीहरूलाई त्यस्तै खेलहरू पनि खेलाइन्छन् । सञ्चालक सुशीला रिसाल भन्छिन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको नै बच्चाहरूको दिमागबाट भूकम्पको डर हटाउनु हो ।’ भत्केको र चर्केको घरबाट उनीहरूको कलिलो मस्तिष्कमा पलाएको डर हटाउन क्याम्प सफल भएको उनको अनुभव पनि छ । उनी थप्छिन्, ‘आमाले बच्चा घरमा राख्न पनि डराइरहेको अवस्था छ, क्याम्प खुला र सुरक्षित ठाउँमा भएकाले आमाले बच्चालार्ई ढुक्कले छोडने गरेका छन् ।’
केही सीमित बालबालिकाका लागि खोलिएको सो क्याम्पमा सोचेभन्दा बढी बालबालिका आएपछि उनीहरूलार्ई आर्थिक कठिनाइ पर्न जाने देखेर नेपाल युथ फाउन्डेसन र रेस्टलेस भन्ने संस्थाले क्याम्पमा सहयोग गरिरहेका छन् । क्याम्पमा आएकामध्ये नौ वर्षीय बालक पौरख ध्वज क्याम्पमा आएदेखि मख्ख छन् । उनी क्याम्पमा पढ्न, खेल्न र खान आएको बताउँछन् । क्याम्पमा बच्चाका लागि निःशुल्क खानाको पनि व्यवस्था छ । कहिले हलुवा त कहिले अन्डा, चिउरा तरकारी, बिस्कुट, साथै जुस पनि दिने गरिएको छ । अर्को ६ वर्षीय बालिका आस्था पौडेल भने क्याम्पमा नाच्न पाइन्छ भन्दै मख्ख पर्छिन् । स्कुलभन्दा क्याम्प रमाइलो लागेको उनले बताउँछिन् । आठ वर्षीय अनिरुद्ध शर्मा क्याम्पको सुरुआती दिनदेखि आएका हुन् । उनले क्याम्पमा धेरै कुरा सिकेको बताए । उनी क्याम्पमा मज्जा गर्न आएको बताउँछन् । आफूलार्ई क्याम्पमा पकाएको क्वाँटीको झोल सारै मिठी लाग्ने बताउँदै उनी भन्छन्, ‘यहाँ बिस्कुट, अन्डा, जुस पनि खान पाइन्छ ।’
यस क्याम्पमा सबै थरीका सबै उमेर समूहका बालबालिका आउने गरेको सञ्चालकहरू बताउँछन् । एक वर्षदेखि १३ वर्षसम्मका बालबालिका दैनिक आउने गरेको उनीहरूले बताए । १२ वर्षीय बिगिना महजर्न पनि भूकम्प बिर्सन क्याम्पमा आएको बताउँछिन् । क्याम्पमा भूकम्प आउँदा केके गर्नुपर्छ भन्नेजस्ता कुरा सिक्नुको साथै खेलकुद, नृत्य र विशेष गरी चित्रकला सिकेको उनी बताउँछिन् ।
क्याम्पमा आउने प्रायः सबै बालबालिकालार्ई स्कुलभन्दा क्याम्प बढी रमाइलो लागेको बताउँछन् । सञ्चालक सुशीला भन्छिन, ‘यहाँ स्कुलमा जस्तो शिक्षा मात्र दिँदैनाँै । यहाँ बालबालिकाका लागि नयाँ कुरा सिक्ने अवसर पनि दिइन्छ । त्यसैले बालबालिका यस क्याम्पप्रति आकर्षित भएका हुन् ।’
क्याम्पमा कुनै उमेर समूह नभएको त्यहाँ आउने बालबाकिा साथीदेखि धेरै भाइबहिनी पनि पाएकोमा दंग छन् । बिगिनाले २० जनाभन्दा बढी साथी बनाइकेकी छिन् भने झन् धेरै भाइबहिनी पाएकी छिन् ।
बागडोलकी प्रमिला थापाको घरमा बच्चा हेर्ने मान्छे नभएपछि यस क्याम्पमा बच्चा पठाएको बताउँछिन् । क्याम्पमा आएदेखि बच्चामा आएको परिवर्तनले उनी मख्ख छिन् । क्याम्पमा बच्चाले नयाँ कुरा सिक्नुको साथै मान्छेसँग घुलमिल हुने वातावरण पनि पाउने हुनाले उनले बच्चालाई यहाँ ल्याएकी हुन् । उनले बच्चामा राम्रो व्यवहारकोे विकास भइरहे पनि गर्मीको मौसममा बच्चालाई पालमुनि राखेर पढाउँदा बच्चालाई समस्या हुने बताउँछिन् । उनको विचारमा यस्ता क्याम्प धेरै ठाउँ ठाउँमा चलाउनुपर्छ, यसो गर्दा क्यम्पमा सीमित बालबालिका हुने र यसले सञ्चालक र बच्चा दुबैलार्ई राम्रो हुने उनको विचार छ ।
तर, सञ्चालक अजिता भने यस्तो पक्षमा छैनन् । निःशुल्क भनेर क्याम्प सञ्चालन गरेपछि बालबालिका धेरै आएको उनले बताइन् । कसैलाई नआउ भन्न नमिलेको कारण नै बालबालिकाको संख्या ह्वातै बढेको उनी बताउँछिन् । भूकम्पले पीडित मस्तिष्कलाई केही राहत होस भन्ने अभिप्रायले चलाएको सो क्याम्पमा बालबालिकाको स्कुल सुरु भएपछि बन्द गर्ने उनीहरूको सोचाइ छ । जेठ १ गतेबाट सुरु भएको सो क्याम्प जेठ १५ गतेसम्म सञ्चालन गर्ने भने पनि बालबालिकाको स्कुलको टुंगो नलागेको कारण क्याम्प अन्योलमै छ । क्याम्पलार्ई व्यवस्थित गरी लगेका बालबलिकाले यस्ता क्याम्पबाट धेरै फइदा लिन सक्ने सञ्चालकको विचार छ । यस्ता क्याम्पले भूकम्पबाट डराएका बाल मस्तिष्कलाई परिवर्तन गरी आफ्नो दैनिक दिनचर्यामा फर्कन सहयोग गर्ने हुनाले यस्ता क्याम्प गाउँगाउँमा पनि सञ्चालन गर्नुपर्ने सुझाव सञ्चालक सुशीलाको छ । क्याम्प चलाएको दिनदेखि आजसम्म बाल मस्तिष्क आएको परिवर्तनबाट उनी खुसी छिन् ।
बालबलिका पनि क्याम्पबाट आपूले धेरै कुरा सिक्न पाएकामा मख्ख छन् । क्याम्पमा पढ्न नपर्ने, गृहकार्य पनि गर्न नपर्ने भएर पनि बालबालिका क्याम्पप्रति उत्साहित भएका हुन् । क्याम्पमा स्वतन्त्र भएर आफ्नो आफ्ना क्रियाकलाप गर्न पाउने भएर पनि उनीहरू यसप्रति बढी आकर्षित भएका हुन् । उनीहरूलाई दिनको दुईचोटि खाजाको व्यवस्था गरिदिएको छ । कतिपय बालबालिका त घरमा खाना नै नखाइ क्याम्पमा आउने गरेको सञ्चालक अजिताले बताइन् ।
– सरला बैंजु
प्रतिक्रिया