दुई माना चामल र एउटा वाइवाईले ज्यान गयो

Sanjeeb-Story-Photo-Dolakhaदोलखा जिल्लाको उत्तर विकट क्षेत्र चिलंखा–६ धस्सामा खेतीपातीबाट आफ्नो गुजारा गर्दै आएका ६५ वर्षीय मकरध्वज खड्का र उनीजस्ता सयौँ अन्य गाउँवासी । गत १२ वैशाखमा आएको महाविनाशकारी भूकम्पमा आफ्नो घर क्षतिग्रस्त भएसँगै खुला आकाशमुनि बस्दै आएका थिए । उद्धार र राहतका कुराहरू चर्चामा रहे पनि त्यहाँसम्म आइपुग्न भ्याएका थिएनन् ।

भूकम्प आएको १७औँ दिन मात्रै चिलंखाको आकाशमा हेलिकोप्टर उडेको देखियो । ‘त्यसरी हेलिकोप्टर देखिएको केही समयमै सबै गाउँले जम्मा भएका थियौँ । गाउँको विद्यालयमा सरकारका तर्पmबाट नेपाली सेनाकोे उपस्थिति देखिएसँगै गाउँका सबैमा राहत पाउने ठूलो आशा पलाएको थियो,’ खड्काले सुनाए । तर, सबै गाउँले विद्यालयमा भेला भए पनि नेपाली सेनाले कुनै राहत नलिई आएको देख्दा सबैजना निराश देखिन्थे । हामीे गाउँलेलाई, ‘यसको आसपासमा मात्रै आएको हो, भोलि सिँगटी जानु । एक बोरा चामल, पाल, कम्बल आदि राहत त्यहीँ दिन्छ’ भनिएको थियो । सबै गाउँले निन्याउरो अनुहार पार्दै उही भत्केको घरतर्प फर्किए ।
भोलिपल्ट (मंगलबार) चिलंखाका स्थानीय बासिन्दा बिहान सबेरै दोलखाको उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिँगटीमा आए । उनीहरू करिब ६ घन्टा लामो पैदल यात्रा पूरा गरेर सिँगटी पुगेका थिए । तर, सिँगटीमा आउँदा पनि राहत भन्ने कुराको कहीँ कतै अत्तोपत्तो थिएन । बजारमा सबै क्षेत्र घुम्दासमेत कता राहत दिइएको हो वा दिने भनिएको हो भन्ने केही अत्तोपत्तो नै गाउँलेहरूले पाएनन् । सिंगटीमा निरर्थक घुम्ने कामबाहेक अरू केही उपलब्धि भएन ।
‘धेरै समय घुमेर थाकेर बसेका थियौँ । त्यसरी घुम्दाघुम्दै थाकेर बसेको धेरै समयपछि मात्रै थाहा भयो, इलाका प्रहरी कार्यालय सिँगटीमा केही राहत बाँकी छ । मध्याह्न मात्रै थाहा पाइयो, इलाका प्रहरी कार्यालय सिँगटी अघिल्लो दिन बाँडेर केही बाँकी रहेको थाहा भयो । अरू केही नपाए पनि केही बोरा चामल, केही कार्टुन चाउचाउ पाइने कुरा सुनियो । त्यति भएपछि मलिनो मन लिँदै घर फर्केने क्रममा थियौँ । भूकम्पले बाटो बिग्रेकाले बस नजाने भयो भन्ने थाहा भएपछि हिँड्न लागेका थियौँ,’ उनले भने ।
बल्लतल्ल सिँगटी प्रहरीमा जाँदा दुई माना चामल र एउटा चाउचाउभन्दा बढी केही पाइएन । अलिअलि राहतको नाममा पाएको चामल चिउरा चाउचाउ र कसैकसैले पाएको पाल लिएर सबैजना गाउँ फर्कन लागेका थिए । एउटा ट्रकमा उतै जाने भनेर सबै गाउँले त्यसका चढे । दिउँसो करिब एक बजेतिर ट्रक सिगंटीबाट चिलंखातर्प हुइँकियो ।
बा २ ख ८२६२ नम्बरको ट्रकमा सिँगटीबाट राहत लिएर सोरुङ झोरुङतर्पm जान लागेको ट्रकलाई चिलंखा भनेपछि ट्रकलाई ड्राइभर र खलासीले त्यसतर्पm लिएर गएका थिए । ‘ट्रकमा हामी चिलंखा ६, ७ र ९ वडाका ३५ जनाभन्दा धेरै थियौँ जो सिँगटीबाट राहत लिएर ट्रकको पछाडी बसेर चिलंखातर्पm लागेका थियौँ । केही समय नबित्दै करिब एक किमि अगाडि उकालो सुरु भएको थियो । तामाकोसी नदी किनारा खेतमा रहेको एउटा कुखुरा फार्मबाट कुखुरा आत्तिँदै कराउन थाले । केहीक्षण नबित्दै फार्मको घर ढल्न थाल्यो । हेर्दा भित्ताबाट एक्कासी माटो झिरझिर झर्न लाग्यो । तल हेर्दा त कुखुरा भागेको देखेको, केहीमाथि रहेको सिंगो डाँडो नै झरेको देखेँ, चिच्याएर कराउँदै गुरुजी रोक्नुस्, रोक्न्स् भनँे । धेरै गति भएकोले तुरुन्तै गाडी रोक्न गुरुजीले सकेनन् । नसुनिएर हो कि धेरै गति भएर हो कि या आत्तिएर हो, उनले ट्रक रोक्न सकेनन् । ट्रक निरन्तर अगाडि बढिरह्यो ।
‘म आत्तिरहेँ । मैले सबैका आँखा तिरिमिरी भएकाले कसैलाई देख्न सकिनँ । गुडिरहेको ट्रकबाट हेर्दाहेर्दै केही छिनमै पहिरोले ट्रकको अगाडिको भाग पुरियो । ट्रकमा हामी बसेको ठाउँमा ढुंगा र पहिरोले सँगै हामीलाई थिच्न लागेजस्तो भयो । त्यही बेला मसँगै रहेको र मेरो काँधमा चिउडो राखेर बसिरहेको गाउँको भतिजलाई माथिबाट खसेको ढुंगाले टाउकोमा नराम्ररी लाग्यो । उसको तत्काल मेरै आँखाअगाडि प्राण गयो । त्यसपछि त आत्तिएर कतै केही नसोची रोडमा हाम फालेँ । फेरि आपूmतिर पहिरो आउन लाग्यो । सकी नसकी जे जसो गरेर हुन्छ फेरि रोडभन्दा पनि तल हाम फालेँ । केहीपटक ढुंगाले लागेको थियो जस्तो भान भएथ्यो । त्यसपछि म त अचेत भएछु । होस आएपछि थाहा भयो, म तामाकोसी नदीमा पुगेको रहेछु र त्यहाँबाट मलाई नेपाली सेनाले सिँगटी ल्याएको रहेछ ।’
हाल उनी नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरेर काठमाडौं ल्याई सिनामंगलस्थित सशस्त्र प्रहरी र भारतीय सेनाले स्थापना गरेको स्वास्थ्य शिविरमा उपचाररत छन् ।
मकरध्वज १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट पीडित भएपछि राहत लिएर फर्किने क्रममा सिंगटीबाट केही अगाडि नपुग्दै घाइते भएका हुन् । सशस्त्र प्रहरी बलले जनाएअनुसार, उनको दाहिने पाता खुस्केको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । ‘दोलखा उत्तर विकट गाउँ चिलंखामै हामी त सेउलाले छाएर बसेका थियौँ । खासमा हामीलाई सिंगटीमा राहत आउँछ भनेर झुक्याइयो । तर, किन त्यस्तो गरियो भन्ने हाम्रो प्रश्न हो । नत्र त हामी सबै गाउँले पाखाको सिस्नु र वनको गिठ्ठा–भ्याकुर खाएर बाच्थ्यौँ । सेनाको हेलिकोप्टर आएर पाल र राहत सामग्री सिँगटीमा दिने भनेपछि हामी सबै त्यता गएका थियौँ,’ उनले गहभरी आँसु झार्दै भने, ‘त्यसरी न भनेको भए हामी सिँगटी जाँदैनथ्यौँ र सायद कसैको ज्यान पनि जाँदैनथ्यो । परिबार र आफन्तको अवस्था अज्ञात छ,’ उनले भने ।
अहिले उनलाई झल्झली त्यही याद आउँछ । भन्छन्, ‘एक बोरा चामल, पाल र कम्बल दिने भनेर सेनाले भोलि सिँगटी जानु भनेको थियो तर राहतका नाममा दुई माना चामल र एउटा वाइवाई चाउचाउभन्दा बढी केही पाइएन । त्यही भए पनि लिएर निराश हँदै फकिएका थियौँ ।’ खड्काको मर्मस्पर्शी वचन थियोे, ‘चामलका निम्ति म बाँचेर के भो र ? सबै चिलंखालीले ज्यान गुमाउनु प¥यो !’

प्रतिक्रिया