देउखुरी, ११ जेठ । आइतबार मध्याह्न सतबरिया–२ वनघुस्री गाउँमा छुट्टै उत्साह थियो । १३ दिनअघि वैशाख २८ गते सोही समयमा देखिएको जस्तो दृश्य थिएन त्यहाँ । कालोमोसो र जुत्ताको माला लगाउन तम्सिएका हातमा फूलमाला र अबिर थियो ।
गाउँलेको अमानवीय व्यवहारका कारण विस्थापित भएकी वनघुस्रीकी एक महिला १३ दिनपछि गाउँमा पुनःस्थापित भएकी छिन् ।
विस्थापित महिलालाई गाउँका अगुवासहित स्थानीयले माफी माग्दै स्वागत गरेका छन् । ‘जे जस्तो भयो, अब पुराना घटनालाई बिर्सेर नयाँ सुरुआत गर्नुपर्छ’ गाउँका अगुवा सालिकराम चौधरीले निधारमा अबिर लगाउँदै भने, ‘पहिले जे जस्तो अवस्थामा थियौँ अब पुनः त्यसैगरी बस्छौँ ।’
अनैतिक सम्बन्ध र बोक्सीको आरोप लगाउँदै कपाल मुन्डन गरी कालोमोसो र जुत्ताको माला लगाई सामाजिक बहिस्कार गरेकाहरूले नै ती महिलालाई फूलमाला, अबिर लगाएर घर प्रवेश गराएका थिए ।
‘समाजमा बसेपछी सामाजिक कामहरू गर्नुपर्छ, मानिस भएर मानिसको अपमान गर्ने काम कसैले गर्नु हुँदैन’ दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने, ‘असामाजिक गतिविधि गर्नेलाई कानुनले पनि छोड्दैन तर समाजमा दिगो शान्ति स्थापनाका लागि मेलमिलाप पनि आवश्यक पर्छ ।’
घटना दोहोरिएमा कालोमोसो लगाउन उस्कानेसहित गाउँका अरू मानिसलाई कानुनी कारबाही गरिने प्रजिअ पौडेलले बताए ।
कालोमोसो दल्ने घटनामा संलग्न सीतारामी चौधरी, पानमती चौधरी, हिरामोती चौधरी, जानकी चौधरी, दिलकुमारी चौधरी, आशाकुमारी चौधरीलाई प्रति व्यक्ति दुई/दुई हजारका दरले जरिवाना तिराएको छ ।
‘अहिले पुनःस्थापना गरेपछि यहाँकै मानिसबाट पुनः घटना दोहोरियो भने सुरुमा उस्काउनेलाई कारबाही हुन्छ’ उनले भने, ‘समाजमा मिलेर बस्नका लागि मेलमिलाप भनिएको हो, फेरि त्यस्तै गतिविधि भए कारबाही हुन्छ, धरौटीमा रिहा भनेको उन्मुक्ती होइन, जतिबेला पनि हिरासतमा लिएर थुन्न सक्छौँ ।’
आइतबार गाउँमै पुगेर प्रमुख जिल्ला अधिकारी पौडेलसहित सभासद् पार्वती डिसी चौधरी, सरोकारवाला संघसंस्था तथा कार्यालयका प्रमुखलगायत गाउँका स्थानीय वासिन्दाका बीचमा फूलमाला, अबिर लगाएर विस्थापित महिलालाई पुनःस्थापित गराएका हुन् ।
कार्यक्रममा ती महिलालले आफूमाथि भएको जस्तो व्यवहार समाजमा कसैलाई पनि नहोस् भन्दै समाजमा मिलेर बस्ने प्रतिबद्धता जनाइन् । घटना भएको दिनदेखि ती महिला घोराहीको सेवा केन्द्रमा बस्दै आएकी थिइन् ।
कालोमोसो दल्ने घटनामा संलग्न सीतारामी चौधरी, पानमती चौधरी, हिरामोती चौधरी, जानकी चौधरी, दिलकुमारी चौधरी, आशाकुमारी चौधरीलाई प्रति व्यक्ति दुई/दुई हजारका दरले जरिवाना तिराएको छ । बिहीबार ती महिलालाई धरौटीमा रिहा गरेको हो ।
प्रतिक्रिया