घर बनाइदिएपछि पार्टीप्रति भूकम्पपीडित प्रसन्न

Photo-4-Kaski-Featureभूकम्पले भत्किएको घर । कुबेलामा सुरु भएको वर्षायाम । दिन त जेनतेन बित्थ्यो उनको । तर, घामले नेटो काटेपछि उनको मनको ढुकढुकीको पारो बढ्थ्यो । अब भने उनी ढुक्क छन् । दिनभरी घरको काम गर्दा, राती पानी पर्‍यो भने कहाँ सुत्ने भन्ने चिन्ता गायब भएको छ । यसको कारण एउटै हो, कास्कीको माझठानाकी सरस्वती पौडेलको घर पुनर्निर्माण भएको छ । एमाओवादी कास्कीका कार्यकर्ताले भूकम्पले क्षति भएको घर निर्माण गरिदिएका हुन् ।

‘एक कप चिया पनि आफ्नै खाएर, माओवादीले घर बनाइदिए । बर्खालाई ओतको चिन्ता हट्यो ।’ खुसी हुँदै उनले सुनाइन् । सरस्वती जस्तै माझठानाका इमनाथ ढुंगाना, सूर्य पराजुली र विष्णुमाया परियारसहित दर्जनौँ घर परिवारलाई अब यो वर्षायाम कसरी टार्ने भन्ने चिन्ता छैन । गत जेठ ६ गतेबाट एमाओवादी कास्कीले जिल्लामा पुनर्निर्माणको अभियान कास्की क्षेत्र नम्बर १ बाट सुरु गरेको हो । जुन अभियान माझठानाको पुनर्निर्माण सकाएर, शनिबारदेखि कास्कीको कालिका गाविसमा आइपुगेको छ । माझठानामा मात्र १२ वटा घर पुनर्निर्माण भएका छन् ।
पुनर्निर्माणमा एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेलदेखि सोही क्षेत्रबाट चुनाव उठेका विष्णु पौडेल र पुराना नेताहरू कोमलनाथ बराल तथा रामराज रेग्मीसम्म आपैmँ साबेल ढुंगा बोकेर काममा खटिएका छन् । दैनिक ३० देखि ५० जना श्रमदानमा खटिएका छन् । श्रममा खट्न नै सबैले आफ्नो खाना र खाजा मात्र होइन, चिया खान पनि जनतालाई दुःख दिन्नन् । रातमा सुत्न पनि जनतालाई अप्ठ्यारो पार्दैनन् । पाल टाँगेर वा विद्यालयमा सुत्छन् । ‘कोही चिया नखाए रिसाउँछन्, उनीहरूलाई नकार्न सकिएन तर जनतालाई एक पैसाको पनि मार नपर्ने गरी पुनर्निर्माणमा जुटेका छौँ । हामीलाई चाहिने चामल र दाल हामीले नै बोकेर हिँडेका छौँ,’ टिममा खटिएका उपाध्यक्ष गंगा पोखरेलले भने । टोलीले गरिब, विपन्न बर्ग, दलित र पाल टाँगेर सुतिरहेका परिवारको घर पुनर्निर्माणमा जोड दिएको छ ।
सबैभन्दा बढी क्षति भएको क्षेत्र नम्बर एकको ठूला स्वाँरामा शनिबारदेखि पुनर्निर्माणमा जुटेका माओवादी कार्यकर्ताले करिब ३० वटा घर पुनर्निर्माणको लक्ष्य लिएका छन् । माओवादीको स्थायी टिम नै पुनर्निर्माणमा आएपछि, गाउँलेहरू पनि खुसी भएका छन् । उनीहरूले माओवादी पुनर्निर्माणको टिम बस्ने स्थानमा गएर आफ्नो घर पुनर्निर्माणका लागि आग्रह गर्ने गरेका छन् । कालिकापछि, रुपाकोट हुँदै अन्य क्षतिग्रस्त ठाउँमा पुनर्निर्माणका लागि टिम परिचालन हुने एमाओवादी कास्कीले जनाएको छ । गाउँमा पुनर्निर्माणमा माओवादीले पूर्वाग्रह नराखेको गाउँलेले बताए । ‘अरू पार्टीका नेता–कार्यकर्ताहरू आफ्ना नजिककालाई खुसुखुसु बाँडेर गए,’ माझठानाकी विष्णुमायाले भनिन्, ‘एमाओवादीले भने अरू पार्टीका मान्छे पनि नभनी सबैको घर बनाए ।
आपू बस्ने घर बनाउँदा हामीले एक ढिको नुन पनि खर्चिनु परेन ।’ यो पुनर्निर्माण अभियान पालैपालो कास्की जिल्लाभर सञ्चालन हुने एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला बताउँछन् । टोलीमा माओवादीका नेताहरू डम्बर विक, कपिल, विश्वप्रकाश लामिछाने र निर्मला क्रान्तिलगायतको सहभागिता छ ।

प्रतिक्रिया