‘सडकमा दौडनलाई बाघको जस्तो मुटु चाहिन्छ ! बाटो छेउछाउको खाना पचाएभै आफ्नो भावुकता पचाउन सक्नुपर्छ । किनकि, प्रत्येक दिन बाटोमा उम्रने रङ्गीबिरङ्गी पूल र काँडाहरूले पलपलमा स्वर्ग र नर्कको अनुभूति दिइरहेका हुन्छन् ।’
यो उर्दी ड्राइभर जंगबहादुरको हो ।
काठमाडौंबाट सुर्खेत, सुर्खेतबाट काठमाडौं रात्रि बस दौडाउनु उसको काम । खलासीले ठिक्क पारेर बस बाटोमा लगिदिएपछि जंगबहादुर सुर्ती मुखमा घुसार्दै आफ्नो सिटमा गएर बस्छ । अनि बस स्टार्ट गरेर टाउको पछाडि घुमाउँछ, उसका आँखाले बिस्तारै यात्रुको अनुहार चाल्न थाल्छन्, कतिको जीवन र लक्ष्य बोकेर हिँड्दै छु भनेर हैन, कति पैसा उठेछ भनी टाउका हेरेर अड्कल्न । ती टाउकाहरू परिचित भएमा अथवा आफन्त परेमा दिक्क मान्छ । कारण तिनसँग टिकटै छैन, यदि भएमा पनि आधाभन्दा बढी पैसाको पक्कै छैन भन्ठानेर अस्पष्ट शब्दमा गुनगुनाउँछ, ‘बडो नेता भइटोपलेका, लाजसरम नभएका, मेरो गाडीमा बसेर दाँत देखाइरहेका छन् ।’ त्यसपछि उसको हात गियरतिर बढ्छ ।
बाटोमा यात्री चढेमा उसका आँखा पछाडि दौडिन्छन् । कन्डक्टरले कति पैसा उठायो, चाल पाउनलाई । नास्ता गर्ने ठाउँमा सबै यात्रुले केही न केही खाऊन् भन्ने आशा लिएर खानाका परिकार चाख्दै केही उँचो स्वरमा भन्छ— ‘आहा…, आज कस्तो मिठो नास्ता बनाएछौ त, मगमगी बास्ना आइरहेको छ !’
उसको खाना खुवाउने होटल एकलासमा हुन्छ । होटलवालालाई भन्छ, ‘सडेगलेको ल्याएर यात्रुका अगाडि राखिदेऊ, आमुन्नेसामुन्ने बिस्कुट पनि पाइँदैन । नघिचेर सुख ? पैसा उठाउने लट्याङ्ग्रो छँदै छ । यदि ग्राहकले पैसा दिनलाई आनाकानी गरेमा मेरो खलासी गाडीमा गएर हर्न दिन थालिहाल्छ । होटलमा पाउने राम्रो कुरा भनेको केटी कामदार भए पुग्छ । चाहे प्रत्येक हप्ता बदल्नु किन नपरोस्, ताजा भन्ने कुरा पनि तिनीहरू नै हुनुपर्छ ।’ यात्रुले खानामा खर्च गरेको पैसामा पनि जंगबहादुरको भागबन्डा लाग्छ ।
बाटोमा खेल्ने नन्नामुन्ना गरिब बालबच्चालाई चर्को हर्न दिएर खेद्दै कराउँछ, ‘पाँच लाखका पोका हो, मेरै गाडीको टायरमुनि परेर फुट्न चाहन्छौ ? पाँच/सात लाख हत्याउनका निम्ति जन्माएर बाटोमा थापिएका बल्छी हो, भाग… ।’
बाटोमा तरुनी देखे उसको गाडी प्याँपुँद्रप्याँपुँद्र पुल्किँदै भित्ता चाट्न पुग्छ ।
एक दिन जंगबहादुरको गाडीको टायरमा काँटी लागेछ । फुस्स… हावा ओकलेर टायर घोप्टे प¥यो । उसले झरेर खलासीलाई करायो, ‘टायर बदल् ।’
खलासी केही बोल्नलाई अग्रसर देखियो तर बोल्न सकेन ।
‘किन ? के भयो ? मलाई के हेरेको ? तेरो आरती उतारूँ, फटाफट टायर फेर्, ढिलो हुन्छ ।’
‘अर्को टायर पनि बिग्रेकै छ ।’ खलासी पनि उसैको चेलो, के कम, कामकाजभन्दा फाल्तु कुरामा
ध्यान दिन्थ्यो ।
‘यतिका दिनसम्म के हेरेको त ?’ खलासीको तिघ्रामा एक लात्ती बजायो जंगबहादुरले ।
‘आजभोलि भन्दाभन्दै गाडीमा चढेर हिँडिहालियो, टायर बनाउन त छुट्यो गुरुजी ।’ खलासी टाउको कन्याउन थाल्यो ।
जंगबहादुर जंगियो, ‘टायर निकालेर जा, नजिक कता पर्छ, बनाएर ले ।’
खलासी टायर गुडाउँदै वर्कसपतर्प हिँडेपछि जंगबहादुर केही पर देखिने कुमारी होटलमा पस्यो । घरमूलीभै सरासर भित्र गएर खाटमा बस्दै जाँडको जर्किन समात्यो । खाँदै जाँदा उसको दृष्टि बाह्रवर्षे कलकलाउँदी नानीमा पर्यो, जो पढ्नलेख्नमा व्यस्त थिई । जंगबहादुर उठेर नजिकै पुग्यो । अनि गाला सुमसुम्याउँदै भन्यो, ‘के लेख्दै छौ मैया ।’
देख्नेहरू बालबच्चाप्रति ऊ हुरुक्कै हुँदोरहेछ भन्ने अड्कल काट्न सक्थे । जंगबहादुरलाई बच्चीको गाला सुमसुम्याउँदा बेग्लै किसिमको सन्तुष्टि मिलेथ्यो । ‘आजसम्म मेरो ध्यान यो होटलमा किन नपुगेको !’ ऊ चुकचुकायो । उसका आँखा बच्चीकै जिउमा गडेका थिए र मुसुमुसु मुस्कुराएर रक्सीको गिलास रित्याउँदै थियो । ट्याँद्र… गाडीको हर्नले मिठो सपनाबाट ब्यूँझेभै ऊ झसंग भयो ।
‘टायर फेरिसकेछ ?’ उसले बरबराउँदै घडी हेर्यो, घन्टा सुईले डाँडै काटिसकेको रहेछ । उठेर फेरि नानीको चिउँडो समात्दै भन्यो, ‘अर्को पटक आउँदा नानीलाई काठमाडौं लान्छु है घुमाउन ?’
नानीले उसको हात धक्याउँदै भनी, ‘छिः कस्तो नकचरो मान्छे ।’
जंगबहादुर रन्कियो, ‘के भन्यौ ?’ आँखा तर्दै हात केटीको जिउमा घुसार्यो । पसलेको ध्यान त्यतै रहेछ । असह्य भएकाले झम्टिन पुग्यो । सामान्य धक्कामुक्का र भनाभन भयो । वरपरका मान्छे जम्मा हुने डरले जंगबहादुर खित्का छोडेर हाँस्दै बाहिरियो, देख्नेसुन्नेहरूले ठट्टा भएको ठानून् भनेर । उसलाई गाडी हिँडाउन पनि हतार थियो । यात्री आत्तिए होलान् भन्ने डर पनि तर ऊ पसलको घटनाले रन्थनिएको थियो ।
एकै छिनमा उसको गाडी हावासँग बात मार्न थाल्यो तर उसका दिमागमा पसलेसँग बदला लिने र उसकी छोरीलाई फसाउने योजना बन्दै थियो । उसले खाना खुवाउने होटलमा बाह्र बजे पु¥यायो ।
‘बाटोमा बस बिग्रेकाले खाना खुवाउन अबेर ग¥यो, समयमै काठमाडौं पुर्याउँछ होला ।’ यस्तै सोचेर यात्रुहरूले चित्त बुझाएका थिए । जब एकलासको होटलमा लगेर सडेगलेको खाना खुवाउँदै छ भन्ने चाल पाए, तब यात्रु तात्तिए ।
उता ड्राइभरको अन्तस्करणमा बाह्रवर्षे नानी र हातपात गर्ने उसको बाबु नाचिरहेका थिए, ‘पसलेलाई कसरी पन्छाऊँ र उसकी छोरीलाई काठमाडौं घुमाउन कहिले ल्याऊँ ? यस दिमागमा कुनै जुक्ति किन फुर्दैन…।’ जंगबहादुरलाई यही प्रश्नले रिँगाइरहेको थियो । बेलाबखत आफ्नै टाउकामा हत्केला बजाथ्र्यो । मानौँ दिमागलाई ब्यूँझाउँदै छ ।
ड्राइभरको अवस्था देखेर यात्रीहरू आफ्नो समस्या आपै सुल्झाउनपट्टि लागे, ‘दाजुभाइ हो, ड्राइभरले टन्न जाँड धोकेर आएको देखिन्छ । हाम्रो बाध्यतातर्प यसको ध्यानै छैन । त्यसैले यसको मानसिक तनाव बढाउनु उचित छैन, गाडीलाई कुनै खाल्टोमा छिराइदिन के बेर ?’
‘बेर छैन, बेर छैन,’ सबैले चित्त बुझाए ।
फेरि जंगबहादुरको गाडी हावा चिर्दै हुइँकिन सुरु भयो । बाटोमा उसलाई सुर्तीको सम्झना आयो । स्टेयरिङ् छोडेर गोजीमा सुर्ती खोज्न के थालेथ्यो, गाडी त्रिशूली नदीमा हामफाल्न तत्पर भयो । झ्याप्प ब्रेक लगाएर स्टेयरिङ् घुमाउन थाल्यो । गाडीको एउटा चक्काले बाटो छोडिसकेको रहेछ, चढ्नै मानेन । आफ्नो कोशिस असफल भएपछि ऊ बाटोमा हामफाल्यो । हामफाल्दा स्टेयरिङ्मा जोर परेछ, गाडी उक्ल्यो । जंगबहादुर तुरुन्त उफ्रेर स्टेयरिङ् समात्न पुग्यो ।
ड्राइभर जङ्गबहादुरको नाटक देखिरहेका यात्रीले ‘राम…राम… राम…’ भन्दै छातीको ढुकढुकी छाम्न थाले । बसबाट नझरुन्जेल ईश्वरकै नाम जपिरहे ।
सुर्खेत फर्किंदा जंगबहादुरको गाडी कुमारी होटलमा बिहानपख पुग्यो । गाडी बाटैमा छोडेर ऊ होटलमा गयो । ढोकामा लात्ती दिएर भन्यो, ‘ए मैँया !
ढोका खोल त ।’
‘रोक्नुस् हो, खोल्दै छु,’ एकै छिनमा मैँयाको बाबु निस्क्यो ।
‘तँलाई बोलाएको हो त ?’ जंगबहादुरले आँखा तर्दै भन्यो, ‘फटाफट एक गिलास दे न त ।’
‘छैन,’ पसलेले ढोका बन्द गर्यो ।
‘तेरो हिसाबकिताब छिटै गर्छु ।’ फेरि ढोकामा एक लात्ती हानेर जंगबहादुर बसतर्पm हान्नियो ।
जंगबहादुरले बस लिएर काठमाडौं जाने पालो सातौँ दिनमा आयो । कुमारी होटल नजिकिँदा उसले गाडीको रफ्तार घटायो । सन्जोग, पसले साइकल निकालेर कतै हिँड्दै थियो । जंगबहादुरको गाडीले केही बेर पछ्यायो । जब जंगल सुरु भयो, एकाएक गाडी हुइँक्याएर पसलेलाई साइकलसहित उडाइदियो ।
ड्याम्म ठोक्किएको स्वर निकै टाढासम्म पैलियो । पसले निकै पर पुगेर लड्यो । जंगबहादुर र खलासी ओर्लेर हेर्न गए । पसले ठहरै भएको थियो । दुवैतर्प घनघोर जंगल, हातखुट्टा समातेर लतार्दै झाडीमा छोपिदिए । उसको साइकल पनि त्यतै फालिदिए ।
फेरि गाडीले आफ्नो गति लियो । अगाडि सशस्त्र प्रहरी चेक पोस्ट थियो । प्रहरीले गाडी चेक गर्दै भने— ‘के ठोक्किएको हो ड्याङ्ग ?’
‘केही हैन दाइ ।’ कुरा बनाएर जंगबहादुरले गाडी हुइँक्यायो ।
उसको कुरामा विश्वास नलागेर प्रहरीहरू हेर्न गए । उनीहरूले लास भेटेपछि सुर्खेत बस समितिलाई फोन गरे र थानकोट चेक पोस्टमा खबर गरिदिए ।
बिहान सात बजे जंगबहादुर र उसको गाडीलाई थानकोट प्रहरीले नियन्त्रणमा लियो ।
उता पसलेलाई गाडीले हिर्काएर मारेको खबर पैलिनेबित्तिकै बाटो जाम । सुर्खेतबाट समितिका मान्छे तुरुन्त घटनास्थलमा पुगे । प्रहरीको उपस्थिति थियो नै, बिमाका मान्छे बोलाएर क्षतिपूर्तिवापत पाँच लाख नभराएसम्म बाटो खुलेन । यो पाँच लाख सरकारी रेट हो । बाटो खुलेपछि पसलन्नी उफ्रिन थाली, ‘मेरो श्रीमानलाई जानेबुझेरै मारेको हो ।’
गाडीवालाहरू थुप्रै थिए, एकजुट भए, ‘जंगबहादुर त्यस्तो मान्छे हैन, आजसम्म उसको नराम्रो रिकटै छैन ।’
वर्षौंदेखि त्यही बाटो ओहोरदोहोर गरिरहेकाले प्रहरीहरू पनि जंगबहादुरलाई चिन्दथे, त्यसैले ती पनि उसकै पक्षमा देखिए । अन्ततः पसलन्नीले बुझी, ‘पाँच लाख रुपैयाँ लिएर बालबच्चासमेत गाउँतिरै फर्कन उचित छ ।’
यो घटनास्थल बाँके प्रहरी कार्यालयअन्तर्गत पर्दथ्यो । त्यहाँबाट मिलापत्र थानकोट प्रहरी चेकपोस्टमा आयो । थानकोट प्रहरी कार्यालयबाट गाडी छोडियो र जंगबहादुरलाई सम्बन्धित प्रहरी कार्यालय बाँकेमा चलान गरियो । विपक्षीसँग मिलोमतो भए पनि ज्यानसम्बन्धी मुद्दा भएकाले सरकारको मातहतमा गएर अठार दिन थुनामा बस्नुपर्ने नियम रहेछ । जंगबहादुरले अठार दिन नेपालगञ्ज हिरासतमा बस्नुपर्ने थियो तर समितिका मान्छेले दुई हजार घुस दिएर तेस्रो दिनमै रिहाइ गराए ।
सातौँ दिनमा गाडी हुइँक्याउँदै ल्याएर जंगबहादुरले त्यही कुमारी होटलअगाडि रोक्यो तर पसलको सञ्चालकदेखि लिएर रूपरंगसम्म सबै फेरिएको पायो । झुक्किएको त हुइनँ ? उसले चारैतर्फ आँखा घुमायो । अनि सोध्यो, ‘यो पसल किनबेच भएको हो ?’
पसलेले भन्यो, ‘हो हजुर, बिचरा गाउँले मान्छे, होटलसोटल चलाउने ढंग रहेनछ, त्यसैमाथि दुर्घटना भयो । उसकी स्वास्नी र छोराछोरी गाउँतिर लागे ।’
‘कहाँ हो तिनको गाउँ ?’ जंगबहादुरले पसलको र्याकबाट रक्सीको बोतल तानेर ठाडो घाँटी लगायो ।
‘खै, थाहा भएन हजुर ।’ पसलेका आँखा बोतलतर्पm थिए, कुनै राक्षस आएर आफ्नै रगत चुसिरहेको अनुभूति भयो उसलाई ।
‘जसरी हुन्छ, पत्ता लगाऊ है ? नत्र तिमीहरूमा पनि त्यही समस्या आइलाग्नेछ, हामीलाई पनि होटलसोटल चलाउन आउँदो रहेनछ कि के हो !’ खबरदारी गरेर जंगबहादुर गाडीतर्प लम्क्यो ।
पसलेलाई उडाएदेखि जंगबहादुरको चुरीफुरी झन् बढ्दै गयो । बाटो छेउछाउका पसलहरूमा जे चाह्यो खाने अनि पैसा नतिरी जाने गर्न थाल्यो । उसलाई रोकटोक गर्ने साहस कसको ? त्यस्ता पसलमा बस्ने प्रायः केटीहरूलाई उसको स्वभाव राम्ररी थाहा थियो र उसले चाहेजस्तो व्यवहार गर्थे । जंगबहादुरको बानी मन नपराउनेहरू उसका अगाडि नै पर्दैनथे ।
केही वर्षपछि जंगबहादुर पहिले जस्तो रहेन । उसको व्यवहार एकाएक बदलियो । सामुन्ने ह्विस्कीको बोतल ठडियोस् या कुनै तरुनी आएर आँखा सन्काओस्, उसमा जोस जाग्दैनथ्यो । जहिल्यै बिमारीको जस्तो कालोनिलो अनुहार । कसैले बोलाए ऊ भिजेको बिरालोजस्तो लुसुक्क अर्को बाटोतिर लम्किन्थ्यो । त्यस्तो ठाउँमा पुग्थ्यो जहाँ आपैसँग अलमलिन सकोस्, आफ्नै विगतको हिसाबकिताब गर्न सकोस् ।
अरू त अरू, ऊ आफ्नी श्रीमतीबाट पनि परपरै बस्न थालेको थियो । श्रीमती खोज्दै आइपुग्ली भन्ठानेर वर्तिरपर्तिर आँखा दौडाइरहन्थ्यो । उसको व्यवहारले कोल्टे फेरेको देख्नेहरू भन्थे, जंगबहादुर बौलायो ।
आफन्त र परिवारबाट लुक्दै हिँड्दा एकदिन ऊ गाडीमुन्तिर लुकेको रहेछ । गाडी चलेको चालै नपाउँदा किचियो । गाउँलेहरूले दुर्घटना भने, गाडीवालहरूले आत्महत्या । उसको शव अस्पताल पुर्याइयो । पोस्टमार्टम
गरियो । रिपोर्टमा लेखिएको थियो— मृतक पहिलेदेखि नै एड्सको रोगी रहेछ ।
प्रतिक्रिया