अहिलेको आवश्यकता अपरिग्रह ⁄ दिनुमा जस्तो आनन्द, सन्तुष्टि र धर्म लिनुमा छैन ∕

Dr.-Rabindra-Sameerसबैलाई थाहा छ, धर्मका १० अंगमध्ये अपरिग्रह एकदम महत्वपूर्ण अंग हो । यो सबैभन्दा ठूलो मानवीय धर्म हो । आफूलाई आवश्यक पर्नेभन्दा बढी सम्पत्ति सञ्चय नगर्नु अपरिग्रह हो । यो महाविपत्तिमा परिग्रह अर्थात् आफूलाई अनावश्यक ‘राहत’ सञ्चय गर्ने ठूलो दरिद्रता र अमानवीय काम यहाँ भइरहेको छ ।
विकटका प्रभावितले एउटा पाल पाएका छैनन्, एक किलो चामल पाएका छैनन् भने सिटामोलको मुखसमेत देख्न पाएका छैनन् । तर, राजधानीका गोदाममा, लोभीपापीका घरमा, राजधानीबाहिर सडक र सहर भएका ठाउँका लोभीपापीले टन्न पाल, बोराका बोरा खाद्यान्न, कपडाहरू, टन्न ब्ल्याङ्केट आदि पालैपालो सपरिवार गएर ओसारिरहेका छन् ।
अरू त अरू बाहिरबाट आएका औषधिहरू, सर्जिकल सामानहरू समेत थुपारेर डेट एक्सपायर बनाउँदैछन् । उस्तै परे कपासका सिरानी बनाउन बेर छैन । अरूलाई दिनुभन्दा बरु डेट एक्सपाएर गराउने मानसिकताभन्दा पापी मानसिकता के होला ?
लगभग दस लाख पाल आइसकेको खबर हामीलाई जानकारी छ । तर, दुर्गमका जनता आठ घन्टा हिँडेर सम्बन्ध्ति ठाउँमा पुग्दा पनि पाल नपाउँदा रुँदै गाउँ फर्किएका छन् । उनीहरूको आँशुको सराप लाग्नेछ, सञ्चयकर्ता महानुभावहरूलाई दिनुमा जस्तो आनन्द, सन्तुष्टि र धर्म लिनुमा छैन ।
हालसम्मका मेरा ३२ वटा प्रभावित क्षेत्रका निःशुल्क स्वास्थ्य शिविरको अनुभवले निकालेको निष्कर्ष हो । अहिलेसम्म आएका औषधि, पाल, चामल, ब्ल्याङ्केट आदि समानुपातिक ढंगले वितरण गर्ने हो भने सबैलाई पुग्ने आएको छ । थुपारिएको औषधि गाउँ–गाउँमा रहेका स्वास्थ्य चौकीमा पठाउने हो भने जनतालाई यत्रो सास्ती हुने थिएन । यसको अनुगमन गर्ने कसले ? कर्मचारीहरू हाजिर गरेर भूइँचालोको गफ गरेर टाइम पास गरिरहेका छन् । उनीहरूलाई अनुगमनमा किन पठाइँदैन ?
सरकारले सिस्टम बसाल्न सकेन । लोभीपापीहरूले मानवीय धर्म बुझेनन् । हामी निःस्वार्थी मित्रहरूले यो भेदभावको अन्त्य गर्न लागौँ । समाज मगन्ते र अरूको आशा गर्ने विक्षिप्त नसिकतामा अघि नबढोस् ।

प्रतिक्रिया