समय : जेठ ४ गते बिहान ।
स्थान : काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानभैरव मन्दिर ।
यो ठाउँमा राता, पहेँला लुगा लगाएका महिला, पुरुष र केटकेटीको भिड थियो । सबैका हातमा केही न केही पूजा सामग्री थिए । लामो समयदेखि सार्वजनिक स्थानमा भूकम्पबाट ज्यान जोगाउनबाहेक यसरी कुनै एक ठाउँ मान्छे कमै भेला हुन्थे । उक्त भेला हेर्दा लाग्थ्यो, यहाँ कुनै पवित्र काम वा अनुष्ठान हुँदै छ । अनुमान सही थियो, उक्त भेला भूकम्पबाट मुक्ति पाइएला भन्ने विश्वास गर्नेहरूको जमात थियो । घरघरबाट स्वस्फूर्त आएका भक्तजनले पूजासामग्री आफै ल्याएका थिए । स्थानीय समाजसेवीको पहलमा भएको उक्त पूजालाई क्षमा पूजाको नाम दिइएको थियो । पूजापछि भक्तजनले सवा लाख दीप प्रज्ज्वलतनसमेत गरे ।
वैशाख १२ र २९ गतेको भूकम्पले त्रसित भएका उनीहरू मन शान्त पार्न भगवान्को शरणमा गएका सहभागीले बताए । ‘प्राकृतिक विपत्तिका अगाडि कसैको केही लाग्दो रहेनछ भन्दै पूजा गरेमा बाँच्न सकिएला कि भनेर क्षमा पूजामा लागेको’ पूजा समितिका संयोजक गोपाल आचार्यले बताए । संयोजक आचार्यले भने, ‘देशमा यत्रो विपत्ति आइलाग्यो । हामी मैतिदेवी ज्ञानेश्वर क्षेत्रमा बस्नेहरू भगवान्को कृपाले सकुशल छौँ । अब पनि कसैलाई केही नहोस् भनेर सबैको सल्लाह र सहयोगमा यो पूजा गरेका हौँ ।’ उनको भनाइमा देवी–देवता रिसाएकाले नै यसरी बेला–बेला भूकम्प आएको हो । देशमा शान्ति र समृद्धिको कामनासहित उक्त पूजा गरिएको संयोजक आचार्यले बताए ।
क्षमा पूजाले आफूहरूबाट भुलचुकमा केही गल्ती भएको भए देवी–देवताले क्षमा दिनुका साथै आफूहरूको रक्षा गर्ने उनीहरूको विश्वास छ । ‘मान्छे आफूलाई समस्या पर्दा केही उपाए नलागेपछि देवी–देवताको शरणमा पर्छ भन्थे । हामी पनि उनै देवताको शरणमा परेका छौँ’, आचार्यले भने । भूकम्प गएयता आफ्ना दैनिकी र कामकाज ठप्प भएको बताउने जनताले यति बेला यो प्राकृतिक विपत्तिको सामाना गर्ने अरू कुनै उपाए देखेनन् । हुन पनि भूकम्पका झड्का रोक्ने वा त्यसबारे पूर्व जानकारी हासिल गर्ने आजसम्म कुनै साधन बनेको छैन । पूजाका लागि उनीहरूले स्थानीयस्तरमा रकमसमेत संकलन गरेका थिए । उक्त रकमको पैसाले सबैलाई प्रसाद वितरण गरिने पनि उनले बताए ।
भूकम्प आएयता कहिले स्कुल त कहिले चौरमा रात बिताएको बताउने इन्दिरा सिंहले पनि पूजा गरेपछि शान्ति हुने आस रहेको बताइन् । सिंह भन्छिन्, ‘एक दिन पनि शान्तिले घरमा सुत्न पाइएको छैन । घरभित्र गयो कि सिँगै घर हल्लिएजस्तो हुन्छ, डराउँदिन भनेर हुँदो रहेनछ । मन भित्रको डर भाग भनेर मात्र के गर्नु ? उनले थपिन्, ‘कति दिन यसरी त्रासमा बस्ने ? अब त अति नै भयो’, उनले आफ्नो समस्या पोखिन् ।
यति बेला भूकम्पको कारण सबै नेपाली जनता त्रसित छन् । हुनेले पाल टांगेर अनि नहुनेले खुला आकाशमुनि रात बिताउने गरेका छन् । ज्ञानेश्वर क्षेत्रका जनताको दैनिकी पनि त्यसैगरी चलेको छ । दिन यताउता गरेर काट्छन् । रात पर्दै जाँदा कता जाने भनेर उनीहरूको चिन्ता सुरु हुन्छ ।
भूकम्पले लथालिंग बनाएको दैनिकीमा सहजता आउला भन्ने विश्वासले क्षमा पूजामा सहभागी हुन आएकी सुनीता रोक्कालाई पनि अब भने प्रकृतिले दुःख नदेला भन्ने आस जागेको छ । ‘अब त अति भयो । अरू बेला आउँदा एक दिनमा छाड्ने भूकम्पले महिना बित्न लाग्दा अझ छोडेको छैन । केही न केही नभएको भए यस्तो नहुनुपर्ने हो’, उनले आफ्नो आस्था प्रस्ट पारिन् ।
राति राम्रोसँग सुत्न नपाएको र दिनमा पनि ढुक्कले घरमा बस्न नसकेको रोक्काले बताइन् । ‘वरपर गाडी आउँदा पनि मन थररर काम्ने गरेको’ उनको भनाइ छ । पूजापछि असन्तुष्ट देवी देवताको चित्त बुभ्mने र आफूहरू शान्तिले बस्न पाउने उनीहरूको विश्वास छ । पूजामा सयौं महिला, पुरुष र केटाकेटीको सहभागिता थियो । पूजासँगै उनीहरूले शान्तिको कामना गर्दै भजन, किर्तनसमेत गरेका थिए ।
– चमिना भट्टराई
प्रतिक्रिया