सोल, ४ जेठ । अमेरिकी विदेशमन्त्री जन केरीले उत्तर कोरियासँग वार्ताका लागि संयुक्त राज्य अमेरिका सदैव तयार नै रहेको धारणा राखेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन् ।
उनले भने, ‘अमेरिका कहिल्यै पनि वार्ताको विरोधी होइन र अहिले पनि हामी उत्तर कोरियासँग वार्ताका लागि तयार छौँ ।’
‘तर उत्तर कोरियाको नेतृत्वले वार्ताका लागि बलियो र यथार्थ प्रतिबद्धता देखाउनुपर्छ’, उनले भने । उनले उत्तर कोरियाका नेताले अमेरिकासँग वार्ताका लागि साँचो अर्थमा र निष्कपट प्रतिबद्धता भने नदेखाएका बताए ।
‘पछिल्लो समयमा उत्तर कोरियाले देखाएको उत्तेजना तथा उसका क्रियाकलापले शान्ति वार्ताका लागि वातावरण भने बन्ने अवस्था छैन’, अमेरिकी विदेशमन्त्री केरीले भने ।
उत्तर कोरियाले पछिल्लो समयमा विभिन्न शान्तिको पक्षमा नभई उत्तेजक कामहरु गरिरहेको भन्दै उससँग तत्काल नै निशस्त्रीकरणसम्बन्धी वार्ता असम्भवप्रायः रहेको केरीले बताए ।
एक हप्तामात्र अघि पनि उत्तर कोरियाले एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसको सो कार्यको सबैतिर विरोध भएको थियो ।
यस क्षेप्यास्त्रले पानीबाट पानीमा हान्नसक्ने एक शक्तिशाली तथा आत्मरक्षाको प्रदर्शन गरेको स्पष्टीकरण उत्तर कोरियाले दिएको थियो ।
उता संयुक्त राष्ट्रसङ्घले भने उत्तर कोरियालाई क्षेप्यास्त्र निर्माणका लागि आवश्यक प्रविधि नै प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले सो प्रतिबन्धको बेवास्ता गर्दै बारम्बार यस्ता खालका क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । यी घटनाहरुको दक्षिण कोरियाले पनि विरोध गर्ने गरेको छ ।
प्रतिक्रिया