आफ्नै बाबुआमालाई वृद्धाश्रममा छोडेर जीवन जिउने पश्चिमा संस्कृति नेपालमा पनि क्रमशः बढ्दैछ । मान्छेमा मानवीय संवेदना र आमाबाबुप्रतिको माया, आदर र सम्मान घट्दो छ । यही भएर होला, नेपालमा पनि वृद्धाश्रमको संख्या बढ्दैछ । ती वृद्धाश्रममा जीवनका अन्तिम पलहरू गुजार्ने वृद्धवृद्धाको संख्या पनि बढ्दो छ । जब फरक–फरक परिवारका मान्छे एक परिवारमा बस्छन्, तब उनीहरूको सम्बन्ध समान परिवारका सदस्यको झैँ हुन्छ, प्रायजसो ।
बिनापारिश्रमिक ५० वर्षभन्दा बढी समय आफ्नो घरमा काम गरेको व्यक्तिलाई आफ्नो नठान्ने र माया नगर्ने मालिक कतिजना होलान् यो दुनियाँमा ? सायद यो थाहा पाउन धेरै टाढा जान पर्दैन । तर, उत्तरार्धबाहेक जीवनको सबै समय बिनास्वार्थ मालिकको घरमा काममा खटिएका त्रिलोचन भण्डारीलाई उनका मालिकले हालै वृद्धाश्रममा छोडिदिएका छन् । भण्डारी इलामको फिक्कलमा जन्मेका हुन् ।
आफ्नो वास्तविक उमेर पनि थाहा नभएका भण्डारी ०२०/२२ सालबाट झापाको शनिश्चरे–१ का रमेश भट्टराईको घरमा काम गरेको बताउँछन् । आफ्ना बाबु र जेठो दाइको मृत्यु भएपछि उनले भट्टराईको घरमा काम गर्न थालेका हुन् । त्यसरी काम सुरु गर्दा प्रशस्त तलब दिने, खान लगाउन र बस्न राम्रो दिने आश्वासन भण्डारीलाई दिइएको थियो । कृषिसम्बन्धी सबै काम गर्ने भण्डारीले घरका भाँडा माँझ्नेसम्मका काम गरे । भट्टराईको घरमा बस्दाबस्दै उनले बिहे पनि गरेनन् । आफ्नो परिवारका सबै सदस्यसँग सम्बन्ध पनि टुट्यो । आफ्ना दाइ बिर्तामोडमा र भतिजाहरू फिक्कलमा छन् भन्ने उनले सुनेका रहेछन् ।
केही समयअघि बाँसमा ठोक्किएर उनका दुवै आँखाको ज्यति आंशिक रूपमा गुम्यो । यतिञ्जेलसम्म भट्टराईकै घरमा बसिरहेका उनले जब दृष्टि गुमाए, शारीरिक शक्ति घट्न थाल्यो तब उनले काम गर्न सक्न छाडे । भट्टराईले भण्डारीलाई उपचार गरेर आँखाको दृष्टि फकाईदिने वचन पनि दिएका रहेछन् । गत फागुनको दोस्रो साता ‘पहाडमा आँखाको राम्रो उपचार हुन्छ, उतै गएर उपचार गराऔँ’ भनेर भट्टराईले भण्डारीलाई फिदिम नपा–२, तालखर्कमा रहेको वृद्धाश्रममा ल्याएर छोडिदिए ।
‘भोलि आउँछु यहाँ बस्दै गर्नु भनेर म आँखा नदेख्नेलाई छोडेर सानो मालिक जानु भयो,’ भण्डारीले आफ्नो पीडा सुनाउँदै भने, ‘अहिलेसम्म उहाँ फिरेर आउनु भएको छैन ।’ भट्टराईका बाबुकै पालामा घरेलु कामदारको रूपमा राखिएका भण्डारीले साहुनीले माया गर्ने गरेको पनि बताए ।
भट्टराईले नै भण्डारीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रमाणपत्रसमेत दिलाइदिएका रहेछन् । ‘मेरो नागरिकता पनि उतै छ, सबै सामान पनि उतै छ,’ भण्डारी भन्छन्, ‘यतिबेर अहिलेसम्म त्यहाँ काम गरेको एक पैसा पनि लिन पाएको छैन ।’
बुढेसकालमा यसरी वृद्धाश्रममा बस्नुपर्ला भन्नेचाहिँ भण्डारीलाई लागेको रहेनछ ।
‘मेरो उपचार गरिदिए, म यहप्ँ बस्ने थिएँ,’ सम्हालिन मुस्किल पर्दै गएको प्रत्यक्षदर्शीले अनुभव गर्न सकिने भण्डारीले आक्रोश मिश्रित असन्तुष्टि पोख्दै भने, ‘यतिञ्जले काम लगाइसकेपछि मलाई उतै उपचार गरिदिनु नि, किन यहाँ अलपत्र पार्नु पापीले ?’
गत फागुन १५ गते भण्डारीलाई तालखर्कमा रहेको वृद्धाश्रममा छोडिएको वृद्धाश्रमको रेकर्डमा उल्लेख छ । तर, वृद्धाश्रममा हालसम्म आएका अन्य असहाय वृद्धवृद्धाको विस्तृत विवरण वृद्धाश्रममा उल्लेख गरिए तापनि भण्डारीको सन्दर्भमा उनको ठेगानामा ‘झापाबाट’ शब्द मात्र उल्लेख छन् । भट्टराई स्वयंले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको पाइएको छ । तर, भण्डारीलाई कसले बुझेर राख्यो भन्ने यकिन भएको छैन । वृद्धाश्रममा सहयोगीका रूपमा कार्यरत जानुका कार्की आफू माइत गएको समयमा भण्डारीलाई त्यहाँ ल्याइएको बताउँछिन् ।
वृद्धाश्रम सञ्चालन गरिरहेको ‘सिद्धपोखरी सेवा सदन, पाँचथर’ की अध्यक्ष राधिका थापाले भने यस सम्बन्धमा हालसम्म केही भनेकी छैनन् ।
प्रतिक्रिया