पढ्ने आशा पराकम्पले रोक्यो

Nepali Studentकाठमाडौं, ३ जेठ । पछिल्लो पराकम्प नआएको भए आजदेखि देशभरका विद्यालय पुनः सञ्चालनमा आउने थिए ।

काठमाडौंको पूर्वोत्तरमा भागमा अवस्थित शङ्खरापुर नगरपालिकाका विभिन्न ठाउँमा पनि शैक्षिक वातावरण बन्दै थियो । अधिकांश विद्यालयमा भूकम्पले क्षति पुराएको भए पनि पढाइका लागि वैकल्पिक ठाउँ खोजिँदै थियो ।

नाङ्लेभारेमा रहेको नवीनग्राम शिक्षा मन्दिर प्राविको कक्षा ३ मा हुलेका बाख्रा तथा प्राङ्गणमा बाँधेका गाईबस्तु यही मसान्तदेखि अन्यत्र व्यवस्थित गरिँदै थियो ।

विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद दङ्गाल भन्दै थिए, ‘गाईबस्तुलाई पाल हालेर अन्यत्र कतै व्यवस्था गरेर भए पनि वैशाख १ गतेदेखि त पढाइ सञ्चालन गर्ने हो ।’

साँखुको भाग्योदय उमाविको आँगनमा बालमैत्री ठाउँ बनाइएको थियो । फेदीको भुवनेश्वर प्राविको कक्षा १ मा पढ्ने छात्रा रेजिना न्यौपाने, साँखुको एभरग्रिन स्कुलका कक्षा ४ का छात्र रिमेम्देन लामा, नवीनग्राम शिक्षा मन्दिर प्राविकी कक्षा १० की रुपा नेपाल र कक्षा ९ की सुनिता तामाङ तथा कक्षा ६ का दिनेश दङ्गाललगायत विद्यार्थी १ गतेदेखि विद्यालय जान उत्साही देखिए ।

विद्यालय नजिकैको बारीमा मकै गोड्दै गरेकी सुनिताले त भनिन्, ‘अब हामीलाई पढ्न भूकम्पले रोक्दैन ।’

भूवनेश्वरका प्रधानाध्यापक कविप्रसाद तिवारी, शिक्षक कान्छाप्रसाद तिवारी, पोखरीचौर प्राविका प्रधानाध्यापक ठाकुर दङ्गाल, शारदा माविका प्रधानाध्यापक रामबहादुर लामा विद्यार्थीको बालमस्तिष्कमा भूकम्पले पारेको असर निर्मूल पार्ने खालको शिक्षा दिन पाठ्यक्रम बनाउनमा व्यस्त थिए ।

शिक्षा क्षेत्रमा काम गर्ने ग्लोवल एक्सन नेपाल नामक संस्थाका निर्देशक बाबुकाजी श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वि वल्र्ड अनलुससँगको सहकार्यमा शङ्खरापुर नपामा पर्ने पुराना दुई गाविस लप्सेफेदी र नाङ्लेभारेमा सरकारको अनुमति लिएर विद्यालय सञ्चालनमा ल्याउन आर्थिक तथा भौतिक सहयोग गर्न तयार देखिन्थे ।

तर २९ गते पुनः ६।८ रेक्टर स्केलको पराकम्प आएपछि सहर बाहिरका कैयौँ सुनितालाई विद्यालय जाने र पढ्ने अधिकारबाट रोकेको छ नै, राजधानीका विद्यार्थी, शिक्षक र अभिभावक झन् अन्योलमा परेका छन् ।

दोस्रो ठूलो पराकम्प आएपछि शिक्षा मन्त्रालयले सूचना जारी गरेर भूकम्पबाट प्रभावित १४ जिल्लामा कम्तीमा १७ जेठसम्मका लागि विद्यालय नखोल्ने निर्णय गरिसकेको छ ।

यसै वर्ष राजधानीकै चान्दबाघ विद्यालयबाट ५ कक्षा उत्तीर्ण गरेर काभ्रेको पनौतीमा रहेको माल्वी स्कुलमा कक्षा ६ मा पढ्न जान तयार भएकी थिइन् घट्टेकुलोकी यशस्वी न्यौपाने ।

पुनः ठूलो पराकम्प आएपछि पनौती जाने नजानेमा अन्योलमा छिन् उनी । कारण उनको विद्यालय पनि ढलेको छ । ‘नयाँ विद्यालयमा पढ्न जानेमा उत्साहित थिएँ, अब त फेरि भूकम्प जाला कि भनेर जाने नजानेमा नै अन्योलमा छु’, यशस्वीले भनिन् ।

खोटाङ निवासी धनकुमारी गुरुङलाई पनि आफ्ना दुई बच्चाको भविष्यप्रति चिन्ता सुरु भएको छ । उनकी छोरी मेरिका कक्षा ४ मा तथा छोरा कावेश कक्षा २ मा सानोगौचरनस्थित पेनुट एकेडेमीमा पढ्छन् ।

बच्चाको पढाइबारे चिन्ता व्यक्त गर्दै गुरुङले भनिन्, ‘बारम्बार आउने भूकम्पको खतरा त छ नै, त्यसभन्दा पनि एक महिना हुन लाग्यो बच्चाले किताब नहेरेको, फेरि उनीहरुले यस्तो बेला कसरी पढाइमा मन देलान् र रु अहिलेकै अवस्थामा पढाइ सुरु भए पनि बच्चा विद्यालय पठाउन सकिँदैन ।’

‘वैशाख १२ गतेको भूकम्पपछि उपत्यका छोडेका धेरै अभिभावक १ जेठमा विद्यालय खुल्ने आशामा बच्चासहित राजधानी आइसकेका थिए । अब तीमध्ये ७० प्रतिशत पुनः गाउँ फर्किएका छन्’, हाँडीगाउँमा रहेको एड्भान्स्ड स्कुलका प्रधानाध्यापक पुरुषोत्तम देवकोटाले भने ।

उनका अनुसार ठूला पराकम्प कम भएको खण्डमा आउँदै गरेको एसएलसी परीक्षालाई समेत मध्यनजर गर्दै भौतिक संरचना सवल भएका विद्यालय खोल्न सकिने सुझाव प्रधानाध्यापक देवकोटाको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल परिस्थिति अनुकूल भएको खण्डमा आगामी हप्तापछि विद्यालय खोल्ने तयारी भइरहेको बताउँछन् ।

‘मन्त्रालयले फत्किएका विद्यालयमा प्रत्येक कक्षाका लागि २५ हजारका दरले बजेट छुट्याएर पुनःनिर्माण गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइसकेकोे छ’, उनले भने ।

प्रवक्ता लम्सालका अनुसार अब विद्यालय सञ्चालन हुँदा भूकम्पसम्बन्धी शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा जोड दिइनेछ ।

प्रतिक्रिया