मेरी श्रीमती त प्रायः सधैँजसो मसितै जुलुसमा हिँड्दथिन्

Narayan-Tiwariअचानक झस्किएँ । त्यहाँ भित्तामा त राजा र रानीका मुस्कुराइरहेका तस्बिर थिए । म राजाको मुस्कानलाई कुटिल मुस्कान ठान्दथेँ । स्वस्फूर्त थिएन त्यो मुस्कान, मलाई लाग्थ्यो । तर, रानी ? बिचरी रानी ! इतिहासको यस कालखण्डमा सबैभन्दा अबोध, निरिह गौप्राणी लाग्थ्यो मलाई यी रानीको मुस्कान । मानौँ, जबर्जस्ती मुस्कुराइरहेकी छन् । अरूकै निम्ति, अरूकै खातिर, बलजफ्ती, करैले मुस्कान उर्मान खोजिरहेकी थिइन् । यहाँ पनि नारीले हारेकी थिइन्, मलाई लाग्थ्यो । यद्यपि, रानी चाहन्थिन् होला यो के गरेको ? यो कुटिल मुस्कानले किन प्रजालाई घाइते बनाएको ? नगरौँ न ! चुपैचाप बसौँ न । यसो गरे कसो होला ? भन्न ! तर, शक्तिशाली राजाकी अर्धांगिनी अन्यत्रझैँ, अरू अधिकांश पुरुषहरूकी अर्धांगिनीझैँ यहाँ पनि हारेकी थिइन् । इतिहासको यस क्षणमा यति दयनीय अनि शक्तिहीन नारी देख्दा र अनुभूत गर्दा म मनमनै द्रवित हुन्थेँ र मनैमन भन्दथेँ, ‘उनको कुनै दोष छैन, उनको कुनै दोष हुनै सक्दैन ।’
‘खोई फोटा ?’ मनका तरंगलाई थाँती राखेर त्रालाई सोधँे ।
बा हाँस्नुभयो, रुञ्चे हाँसो । काका पनि छेवैमा हुनुहुन्थ्यो, खोक्नुभयो । हारेको खोकाइ ! बोल्नलाई शब्दहरू नभेटिएपछि सायद यस्तै हुन्छ । खोकी लाग्छ, खखक् हुन्छ ।
‘तैँले हटाउन भनिस् रे त !’ काकाको खोकी निहुँ खोजाइमा रूपान्तरण भएर प्रकट भयो ।
‘मैले त उहिल्यै भन्दा–भन्दा थाकेको थिएँ, अहिले चाहिँ बा कसरी मान्नुभयो ?’
पुलुक्क बाको मुखतिर हेरेँ । त्यहाँ अझै रुञ्चे हाँसो उम्रिरहेको थियो ।
‘प्रधानमन्त्रीकै कार्यालयबाट हटाएपछि हाम्रो घरको भित्ताबाट, त्यो पनि बरन्डाकै भित्तामा, जोकोहीले घरमा पाइला टेक्नासाथ देखिहाल्नेगरी राख्नुभयो त ! हटाइयो नि हटाइयो । जुन दिन मातृकाले मुट्ठी बजारे र गिरिजाले हटाए, त्यही दिन हाम्ले पनि हटायौँ !’ बाको सट्टा साहिँलो भाइचाहिँ बोल्यो । ऊ के चाहन्थ्यो राजालाई राख्न चाहन्थ्यो वा हटाउन ? मैले पहिले पनि र अहिले पनि उसको कुराबाट भेउ पाउन सकिनँ ।
‘अहिले त हटाउनु भयो नि, हेरौँ न त कति दिनलाई हो ?’ कान्छो भाइ च्याँट्ठिएर बोल्यो । ऊ राजाको मुस्कान मन पराउने मान्छे थियो, त्यो पनि सक्रिय मुस्कान मन पराउने ।
‘फोटा मात्र होइन, अब यस देशबाट राजालाई नै हटाउनुपर्छ,’ मैले आफूभित्रका उकुसमुकुसलाई व्यक्त गरिदिएँ । अहिले त खुला वातावरण छ । जसले जे पनि निर्धक्क बोल्न सक्छ । तर, मैले हिजो पनि बालाई भनेको थिएँ, ‘यो फोटो यहाँ नराख्नुस् । मन लाग्छ भने तपाईं आफ्नो सिरानीमा राख्नुस् ।’ बाले कहिल्यै मान्नुभएको थिएन ।
मैले भनेको थिएँ, ‘यो घर तपाईंको मात्र होइन, मेरो पनि हो । राजालाई भित्तामा टाँगेर तपाईं यस घरलाई राजावादीको घर बनाउँदै हुनुहुन्छ ।’ जनआन्दोलन–१ हुँदा पनि मैले भनिरहेँ । बाले मान्नुभएन ।
जनआन्दोलन–२ चलिरहँदा त झन् मैले आगो भएर भनेँ, ‘मचाहिँ आन्दोलनमा लागिरहने तपाईंचाहिँ यस घरलाई राजाको घर बनाइरहने, यो कदापि हुन्न !’ फेरि पनि बाले मान्नुभएको थिएन ।
कतिपटक मैले फोटो झिकेर बाको सिरानीमा लगेर राखेँ तर हरेकपटक बिहान सुतेर उठ्दा फोटो त ठामको ठाम !
काका पनि राजावादी हुनुहुन्थ्यो, कहिले भन्नुभयो बाले, ‘मलाई के थाहा, तेरो काकाले राख्यो होला ।’
मलाई उग्रवादमा विश्वास हुन्थ्यो भने त त्यो फोटो उहिल्यै फुटाएर झ¥याम्झुरुम पारिदिसक्थेँ । तर, म चाहन्थेँ, सहमतिमै होस् ।
म चाहन्थेँ, अब त बाले कुरा बुझ्नुहोस् । अरू राजा को कस्ता, को कस्तातिर नजाऊँ तर यो राजाको कुटिल मुस्कान ? सक्रिय राजा हुने यो राजाको चाहना ?
‘बा तपाईं बुझ्नुहुन्न ? दरबार हत्याकाण्ड पनि बुझ्नुहुन्न ? अहँ, यो राजा त ज्यान गए हुन्न !’ बा धेरै तर्क गर्नुहुन्नथ्यो तर काम भने आफूले चाहेकै खुसुखुसु..!
मैले आजित भएर छोडिदिएको थिएँ । वृद्ध भइसक्नुभएको बाको किन चित्त दुःखाउनु ? त्यसैले बाको चाहनाविपरीत फोटोलाई झ¥याम्झुरुम, कच्याक्कुचुक पारिहालेको थिइनँ मैले ।
घरका अधिकांश सदस्यमध्ये बा र कान्छो भाइ एक जनाबाहेक अरू कोही थिएनन् राजाको पक्षमा । काकीले त खुलेर काकाकै सामुन्ने ‘राजतन्त्र मुर्दावाद’ भनिदिनुहुन्थ्यो । माहिलो भाइ त खुँखार आन्दोलनकारी भएर निस्किएको थियो ।
मेरी श्रीमती त प्रायः सधैँजसो मसितै जुलुसमा हिँड्दथिन् । अरू सबैलाई बटुलेर काकी हिँड्नुहुन्थ्यो जुलुसमा । साहिँलो दोधारे भाइलाई पनि एक÷दुई दिन देखेँ हिँडेको जुलुसमा । यो १९ दिनको जुलुसमा सामेल हुन सबैभन्दा ठूलो जुलुस मेरै घरबाट निस्किन्थ्यो । केटाकेटीबाहेक, तीनजना राजावादीबाहेक अरू आठजना परिवारका सदस्य सबै राजाविराधी थियौँ । यसमध्ये पनि सबै एउटै राजनीतिक दललाई समर्थन गर्दैनथ्यौँ । सबै राजनीतिक दलका समर्थक थियौँ त्यहाँ । तर, पार्टीका सदस्य हामी कोही थिएनौँ ।
बाको पनि राजालाई समर्थन गर्ने कारण सुरक्षाको, मनोवैज्ञानिक कारण थियो भन्ने मलाई लाग्छ । बा हाम्रो परिवारलाई आसुरी शक्तिबाट रक्षा होस् भन्ने चाहनुहुन्थ्यो र दैवी शक्तिको पूजा गर्नुहुन्थ्यो । अर्थात्, राजा देवता हुन् र उनकै शक्तिका प्रतापले असुरहरूबाट रक्षा मिल्छ अर्थात् राजाको फोटो झुन्ड्याएपछि परिवारका कुनै सदस्यलाई राजाकै सेनामेनाको प्रकोपबाट पनि जोगाउन सकिन्छ अर्थात् छैनन् है यस घरमा कोही राजाविरोधी छैनन् भन्ने जनाऊ दिन पाइरहिन्छ भन्ने कारणले पनि हुनसक्छ बाले राजालाई समर्थन गर्नुभएको । छक्कापञ्जा नजान्ने, विवादमा फस्न नचाहने बूढापाकाहरूको यस्तै चाहना हुन्छ । फेरि हामी हिन्दू, शक्तिका पुजारी, शक्तिले गल्ती गरे पनि नगरे पनि जसको शक्ति उसको भक्ति गर्ने प्राणी हामी ।
बाभन्दा काका १० कदम अगाडि हुनुहुन्थ्यो । भनौँ न राजाको भन्दा पनि बढ्ता कुटिल हाँसो हाँस्नुहुन्थ्यो काका !
कान्छो भाइ त पढेलेखेर पनि नामुद मन्डले भइहाल्यो ।
जेहोस्, काठमाडौं पुगेर फर्किएपछि यसपटक घरको आँगनमा पाइला टेक्नासाथ, बरन्डामा उक्लिनासाथ राजारानीको फोटो गायब भएको देखेर म अत्यन्त खुसी भएको थिएँ ।
बाको हृदय परिवर्तन भएछ कि कसो ? घरका एक÷दुई मन्डलेहरू पनि बहुलाएछन् कि कसो ? आत्मसमर्पण पो गरेछन् कि कसो ? मनमनै सोचेर वार्तामा सरिक भएको थिएँ म ।
काका, कान्छो भाइ र बाको कुराबाट एउटा कुरा प्रस्ट बुझिसकेको थिएँ मैले कि परिस्थिति लोकतन्त्रमय भएको छ । निरंकुशतन्त्रका समर्थक पनि अब यसो लुक्न चाहन्छन् । लोकतन्त्रको शक्तिले उनलाई कोपभाजन नबनाओस्, यसबेला उनीहरू ओझेल पर्न चाहन्छन् ।
त्यसदिन पछि मैले त्यो राजारानीको फोटो केही दिनसम्म बाको ओछ्यानमा, सिरानीमा देखेँ । केही दिनपछि बाको सिरानीमुनि यसो विचार गरी हेरेको त्यहाँ पनि थिएन त्यो फोटो । कहाँ गएछ त्यो फोटो । मलाई साह्रै खुल्दुली भयो । बासित खुलेर सोध्न मन लागेन । आ, कति कुरा कोट्याउनु ! वृद्ध बाको पहिले पनि धेरै चित्त दुःखाइसकेँ, अझै कति चित्त दुःखाउनु ! होस्, जे भएको होस् !
मनमा तैपनि खुल्दुली भइरह्यो, कहाँ लुकाउनुभयो होला ? फेरि राजा शक्तिमा आउलान् र फेरि बरन्डामा, भित्तामा सानले टाँगुला भनेर कतै बाकसमा सुरक्षित पो राख्नुभएको छ कि ?
नभन्दै एकदिन बाकस खोतलखातल गर्दा सबैभन्दा तल कागतले राम्ररी बेरेर सुरक्षित तवरले त्यो फोटो राखेको फेला पारेँ । मनमनमा हाँसो पनि उठ्यो, होस् वृद्ध बाको किन चित्त दुःखाउनु भनेर जस्ताको तस्तै पारेर त्यो फोटो त्यहीँ छोडिदिएँ ।
त्यसैदिन राति हामी सबैले समाचार सुन्यौँ, हाम्रा प्रधानमन्त्री संसद्मा बोलिरहेका थिए, राजाले गद्दी छोडेर गए हुन्छ, देशबाहिर जाने हो कि देशभित्र तुरुन्त हिँडे हुन्छ …! यस्तै केही भनिरहेका थिए । परिवारका अधिकांश हामी आन्दोलनकारी त्यो कुरा सुनेर खुसी भयौँ । खुसीले ताली पिट्यौँ । कान्छो भाइ उठेर कता लाग्यो ! काका पनि उठ्नुभयो । बालाई पनि छटपटी चलेको मैले त्यसैबेला महसुस गरेँ ।
भोलिपल्ट बिहान मलाई फेरि त्यो बाकस खोलेर हेर्न मन लाग्यो । हिजै मात्र बाकसमा फेला पारेको फोटो आज नै किन मलाई हेर्न मन लाग्यो ? म भन्न सक्दिनँ । तर अचम्म, हिजोको आजै त्यो फोटो फेरि बाकसबाट गायब !
कहाँ गयो होला । मैले बाको आँखामा आँखा गाडेर हेरेँ । बाले असजिलो मान्नुभयो । उहाँका आँखा झुके । बा यताउति लागेका बेला आमाले मलाई खुसुक्क तान्नुभयो । घरपछाडि आँपको रूख भएनेर तानेर पु¥याउनुभयो ।
‘तैँले यही खोजेको होइन ? लु हेर..!’ आमा भन्दै पनि हुनुहुन्थ्यो र खोस्रिँदै पनि हुनुहुन्थ्यो । म झस्किएँ, त्यहाँ झर्याम्झुरुम भएर फुटेका सिसाका टुक्रा थिए र राजारानीको उही भव्य तस्बिर विरुप भएर, च्यातिएर नस्ट भइसकेको म देखिरहेको थिएँ । अब हाम्रा बालेसमेत त्यागेका यी राजा कहिल्यै फर्केर आउन सक्ने छैनन् भन्ने सोच्दै म मनैमन बालाई धन्यवाद भनिरहेको थिएँ ।
(‘काठमाडौँमा सूर्यस्नान’ कथासंग्रहबाट)

प्रतिक्रिया