मनको डर हटाएर बाँच्ने कोसिस गर्नुको विकल्प छैन

Lokbikay-Adhikari-(Majh-ma)वैशाख १२ गते भूकम्प जादाँ शनिबार परेकाले म धापासीस्थित घरको तेस्रो तलामा थिएँ । परिवार आफ्नै धुनमा कता–कता थिए । एक्कासी घर हल्लिन थाल्यो सुरुमा अरू बेला जस्तै सानो होला भन्ने लाग्यो । तर, धक्का विस्तारै बढ्दै गयो । त्यसपछि भने लाग्यो, भूकम्प अब ठूलै आउने भयो । धक्का बढदै गएपछि परिवारलाई सम्झिएँ र ‘कता छौ’ भनेर कराएँ । कोही बोलेनन् । आफू ढोकामा टाँसिएर बसेँ । अन्तिम दश सेकेन्ड त ‘अब जिन्दगी यत्तिकै रहेछ’ भन्ने लाग्यो । बाँच्ने आश मारिसकेको थिए । अरू केही सम्झिनँ, धक्का केही कम भएपछि परिवारको खोजी गरेँ । सबै सुरक्षित रहेछन् । उनीहरूलाई सुरक्षित बस्न सुझाव दिएँ ।
धक्का कम भएको मौकामा तल आएँ । झट्ट अफिस सम्झिए, फोनले काम गरेको थिएन । सबै बिदामा थिए । यतिबेला जतिसक्दो चाँडो अफिस पुग्नुपर्छ भन्ने लाग्यो । त्योभन्दा पहिला बिदाको समयमा घरमा बसेर कम्प्युटरबाट काम गथ्र्यौं । अफिसको नेटवर्कले काम गरेको हुन्थ्यो । तर, त्यो दिन भूकम्प आएसँगै बत्ती र सबै सूचनाका नेटवर्कले काम गरेको थिएन । त्यसैले पनि मलाई सक्दो छिटो अफिस पुग्न जरुरी थियो । अफिसमा चाहिँ चार रेक्टर स्केलभन्दा माथिको भूकम्प आउँदा साइरन बज्छ । साथै फोनको घन्टी बज्ने सिस्टम छ, घरमा त्यस्तो हँुदैन । आफ्नै घरमा बस्ने अर्जुन भाइसँग सहयोग मागेर आफिस आएँ । करिब पाँच मिनेटमा अफिस पुगेँ । कपडा फेर्ने समय थिएन । त्यतातिर ध्यान पनि गएन । घरको सामान्य पहिरनमा आएँ । चार दिनसम्म त्यही कपडामा अफिसमै बसेँ ।
त्यतिबेला कति छिटो अफिस पुग्ने भन्ने मात्र थियो । वास्तविकता बुझेर सम्बन्धित ठाउँमा सूचना दिनेभन्दा अरू केही सोचिनँ । बिदा भएकाले अफिसमा कोही छैन भन्ने थाहा थियो । त्यसैले पनि अफिस पुग्ने हतारो थियो । भूकम्प ठूलै गएको थाहा थियो तर कहाँ र कति स्केलको भनेर पत्ता लगाउने काम हाम्रो थियो । त्यतिबेला मैले आफ्नो काँधमा ठूलो जिम्मेवारी भएको ठानेँ र त्यसैअनुसार काम गर्ने कोसिस गरेँ । सबैभन्दा पहिला केन्द्र पत्ता लगाएर सूचना दिनु आवश्यक थियो जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्थ्यो ।
अफिस छिर्ने बेलामा अर्को झट्का आयो । सबैतिर हल्लिन थाल्यो । बिस्तारै सबै जिम्मेवार कर्मचारीहरू आए । कसैले कसैलाई बोलाउनु वा खबर गर्नु परेन । सबैले आफ्नो जिम्मेवारी बुझेर आउनुभयो । सानो ठूलो भूकम्प जाने क्रम निरन्तर छ । भूकम्प गइरहन्छ । हामी आफ्नो काममा त्यतिकै खटेका छौँ । अरू घरबाहिर बस्छन् । हामी आफ्नो कार्यकक्षमा काममा लागेका हुन्छौँ, यो सामान्य कुरा हो । शनिबारदेखि यता कुनै कर्मचारीले कार्यालय छोडेका छैनन् । सबैले आफ्नो जिम्मेवारी पूरा गरेका छौँ । भूकम्पको धक्का महसुस हुनेबित्तिकै तारम्तार फोन आउँछ । भूकम्प कहाँ गयो भनेर ? हामीले भन्दा पहिला जनताले थाहा पाउँछन् । मेसिनमा रेकर्ड हुनुभन्दा पहिला फोन आउन थाल्छ ‘कहाँ केन्द्र बिन्दु हो ? कति रेक्टरको हो’ भनेर । कुर्सीमा बसेर काम गरेका हुन्छौँ । कुर्सी हल्लिरहेको हुन्छ । कतिबेला कुर्सीबाट लडिएला झँै हुन्छ । तर पनि काम हाम्रो लागि पहिलो कुरा हो ।
भूकम्पको कारण अहिलेसम्म नेटवर्कले काम नगरेको वा समस्या भएको छैन । हामीले सबै काम सामान्य रूपमा गरेका छौँ । सबैलाई समयमै सूचना दिएका र जानकारी गराएका छौँ । मैले जागिरे जीवनमा यस्तो खालको अवस्था कहिले पनि भोगेको थिइनँ । पहिला–पहिला आफन्तले के काम गर्ने हो भनेर सोध्ने गर्दा उनीहरूको बुझाइमा म भूकम्प नाप्ने मान्छे भएको थिएँ । सामान्य रूपमा लिन्थेँ । अहिले बल्ल यो विभागको महत्व सबैलाई थाहा भयो । ठूलो काम पो रहेछ भन्न लागेको छ । राम्रो काम रहेछ भन्छन् । वैशाख १२ देखि यता दुई दिन साँझ घर गएँ । एक रात पनि घरमा बसेको छैन । यही अफिस नै घर भएको छ । भूकम्प गएको चौध दिनको दिन दिउँसो नुहाउन गएँ ।
शनिबार अफिस छिरेपछि मैले कामबाहेक अरू केही सोच्न भ्याइनँ । साथीहरूले फोन गर्दा वा कसैसँग बसेर कुरा गर्दा बाहेक कसरी बाँच्ने ? फेरि आए के गर्ने ? जस्ता कुरा सोच्ने वा मनमा डर पलाए जस्तो हुन्छ । अरू बेला यी कुरा सोच्ने समय नै पाइएन । शनिबार मात्र बाह्र घन्टामा ३८ वटा ठूला भूकम्प गए । एक सेकेन्ड पनि फुर्सद भएन । शनिबार भूकम्प गयो आइतबार साँझसम्म हामीले पानी पनि खान पाएनौँ । रेडियो नेपालबाट घन्टा–घन्टामा सोध्थे, कतिपटक निद्रामा पनि बोले । कैयौँपटक मिडियासँग कुरा गर्दा गर्दै भूकम्प गएको छ । त्यतिबेला तत्कालै भन्ने गरेको छु, ‘लौ फेरि गयो है, एकछिन पख्नुस् ।’
नेपालको सन्दर्भमा अहिलेको भूकम्प अनौठो भएको छ । अहिले कैयौँले भन्छन्– कस्तो गाह्रो जागिर । तर, मलाई कामले धेरै आत्मसन्तुष्टि भएको छ । खुसीले खाएको जगिर हो । अहिले प्रभावकारी रूपमा आफ्नो भूमिका निभाउन पाएको छु । बाहिरबाट पनि सबैले राम्रो मानेका छन्, खुसी छु । यो बीचमा केही ठाउँबाट अनावश्यक अनेक हौवा फैलाएर मान्छेलाई आतंकित पार्ने काम भयो । मान्छे धेरै त्रसित थिए । अहिले पनि बारबार आउने धक्काको कारण मान्छेको जीवन सामान्य बन्न सकेको छैन । हामीले सक्दो आफ्नो भूमिका निभायौँ । अब जनताले पनि सामान्य मान्नु पर्छ ।
सुरुको दिनदेखि घरमा रात बिताएको छैन । परिवारसँग सम्पर्क पनि भएन । परिवार घरमै बसेछन् वा कता बसे, त्यो पनि थाहा भएन । सबैको फोन अफ थियो, बत्ती थिएन । परिवारसँग भूकम्प गएको चौथो दिन मंगलबार मात्र फोनमा सम्पर्क भयो । त्यसयता पनि साह्रै कम सम्पर्क हुन्छ । उनीहरूले पनि मेरो जिम्मेवारी र बाध्यता बुझेका छन् । त्यसैअनुसार सहयोग मिलेको छ ।
अहिले मिडिया र सूचनाको कारण धेरै सहज भएको छ । समयमै सूचित गर्दा काममा सहजता हुन्छ । यो भूकम्पमा पनि त्यस्तै भएको हो । गोरखाको कैयाँै प्रभावित ठाउँमा सात दिन पैदल हिँडेर जाने ठाउँ छन् जहाँ हप्तौँपछि उद्धार कार्य भए । भूकम्प गएपछि सबैभन्दा पहिला त्यसको केन्द्रबारे सही सूचना दिन सकियो भने उद्धारमा सहजता हुन्छ । भूकम्पको केन्द्रबिन्दु सुरुमा लमजुङ भनिएको थियो । तर, मैले तुरुन्त गुगलमा सर्च गरेर हेरेँ– गोर्खाको वारपाक रहेछ । त्यही सूचना सबैतिर दिएँ । त्यसले गर्दा उद्धार कार्यमा सुरक्षा निकायलाई सजिलो भयो । अहिले लाग्छ, नेपालीले भूकम्पलाई जापानीहरूले जस्तै पचाउनुपर्ने भएको छ । यो यस्तो प्रकृति हो जसलाई हामी कसैले टार्न र छेक्न सक्दैनौँ । कसरी सुरक्षित हुने भन्दा अरू केही उपाय छैन ।
भूकम्पले पु¥याउने क्षतिका कारण धेरै छन् । सुरुमा गोर्खाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गयो । त्यसको असर सिन्धुपाल्चोकसम्म पुग्यो । बीचमा भागमा कतै कम कतै बढी क्षति भए । त्यो जमिनमुनिको माटोको कारण हो । बलौटे माटो छ भने बढी क्षति हुन्छ र त्यस्तो ठाउँमा भूकम्पको तरंग धेरै समयसम्म रहिरहन्छ । घरको बनावट र भूकम्पको प्रकृति पनि अर्को कुरा हो । एक सेकेन्डमा कतिपटक हल्लाउँछ भन्नेमा पनि भर पर्छ । तरंग ढिला आयो भने कम क्षति पुग्छ । छिटो–छिटो आयो भने बढी क्षति हुन्छ । यसका धेरै कारण छन् ।
अहिले भूकम्पको अन्तराष्ट्रिय अनुभवलाई अध्यन गर्ने समय पाएको छैन । पहिला जे अध्यन गरेको थिएँ त्यसैको आधरमा काम गरेको छु । पत्रिका पढ्ने, समाचार सुन्नेसम्म फुर्सद छैन । कहिले काहीँ जापानमा भएको बेला भोगेको भूकम्प सम्झन्छु । कामले थाकेर आएको थिएँ । होटलको उन्नाईसौँ तलामा हुँदा ७ दशमलब २ मापनको भूकम्प गयो । सुरुमा डर लाग्यो । सुइसुइ गर्दै बसेको होटल हल्लिन थाल्यो । कता जाने उपाए थिएन । अगाडि हेरेँ– सुपरमार्केटको लिफ्ट चलिरहेको थियो । ठूलो गएको रहेनछ भन्ने लाग्यो । फेरि ढुक्क भएँ । म त यतिबेला जापानमा पो छु त भनेर । आनन्दले बसेँ । पिङ खेले जस्तै लाग्यो, रमाइलो लाग्यो ।
अब नेपालीले विश्वासले बाँच्नुपर्छ । मनमा भएको डर हटाएर बाँच्ने कोसिस गर्नुको विकल्प छैन, हामीसँग । यति बेला हामीले सिकेको सिकाइ भनेको कसैको हल्लामा नलागी सुरक्षित बस्ने हो । सामान्य कुरालाई सामान्य रूपमा लिनुपर्छ । कसैले भनेर हँदैन । सधैँ घरबाहिर बसेर पनि हुँदैन । यो बीचमा साना भूकम्प पन्ध्र हजाराँपटक गयो चार रेक्टरभन्दा कमको । सबै डाटा विस्तारै बाहिर ल्याउने छौँ । अहिले त्यतातिर हेर्ने फुर्सद नै छैन । देशभर २१ ठाउँमा भूकम्प नाप्ने स्टेशन छन् । मापन केन्द्र चाहिँ दुईवटा छन् । अझ पनि केही समय निरन्तर पराकम्पन जान सक्छ । त्यसमा सुरक्षित रहनेबाहेक कुनै उपाय छैन । हाम्रो हातमा नरहेको कुरामा चिन्ता लिनु हुँदैन । धैर्य र संयमित भएर सुरक्षित बस्नु नै अहिलेको उपाय हो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया