काठमाडौं, २२ वैशाख । विनाशकारी भूकम्पपीडितको रक्तपरीक्षणका लागि भारतको उत्तर प्रदेश (युपी) सरकारले पठाएको ‘ब्लड टेस्ट किट’ केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइपुगेको छ ।
उत्तर प्रदेश सरकारले पठाएको ‘ब्लड टेस्ट किट’ भारतीय राजदूत रणजित रायले केन्द्रीय रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मोनिका राजकर्णिकारलाई हस्तान्तरण गरे । भारतले दिएको किटमा ‘एचआइभी’ परीक्षण किट पाँच हजार, ‘एचबी एसएजी’ जन्डिस परीक्षण किट पाँच हजार, ‘एचसिभी’ हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण किट पाँच हजार, ‘आरपिआर’ यौनरोग परीक्षण किट पाँच हजार र टिटी किट १० हजार छन् । अन्य किट ब्लड बैंकमा प्रयोग हुने भए पनि टिटी प्रयोग नहुने भएकाले अस्पताललाई हस्तान्तरण गर्ने केन्द्रकी निर्देशक राजकर्णिकारले बताइन् ।
यस्तै, केन्द्रीय रक्तसञ्चार केन्द्रले भूकम्पमा परी घाइते भएकालाई एक हजारभन्दा बढी पिन्ट रगत वितरण गरेको छ । यसअघि बिरामीका आफन्तबाट ल्याब शुल्क लिएर मात्र रगत प्रदान गर्दै आएकामा यसपटक निःशुल्क वितरण गरिएको हो । केन्द्रले भूकम्पपछि घाइतेका लागि रक्तदाताले केन्द्रमै पुगेर दुई हजार पिन्टभन्दा बढी रक्तदान गरेको पनि जानकारी दिएको छ । केन्द्रका अनुसार अहिले रगत अभाव छैन ।
त्यसैगरी, भारतको पश्चिम बंगाल राज्य सरकारले नेपालका भूकम्प पीडितहरूका लागि सहयोग स्वरुप ठूलो परिमाणमा राहत सामग्री प्रदान गरेको छ ।
पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नेपाल सरकारका भवन निर्माण तथा सहरी विकास मन्त्री डा नारायण खड्कालाई सोमबार काँकडभिट्टामा ती राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उपलब्ध गराइएको राहत सामग्रीमा एक लाख त्रिपाल, त्रिपालसँगै एक÷एक थान कम्बल र खाद्य सामग्रीहरू रहेका छन् । राहत सामग्री ३५ वटा ट्रकमार्फत नेपाल प्रवेश गराई प्रभावित क्षेत्रमा पठाइएको छ ।
हस्तान्तरणपछि मुख्यमन्त्री बनर्जीले नेपालमा आएको विनाशकारी भूकम्पले आफूलाई दुःखी बनाएको र विपद्मा पीडितलाई भावनात्मक रुपमा सहयोग गरेको बताइन् । उनले नेपाली जनताको लागि सहयोग गर्न पाएकामा खुसी पनि व्यक्त गरिन् ।
प्रतिक्रिया