शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच भेटवार्ता, कुन विषयमा भयो छलफल ?

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उनीहरुबीच विचार–विमर्श भएको बताइएको छ । भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै भने, ‘सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन्, त्यसलाई स्वीकार्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त हो, त्यसमा शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ ।’

मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भएतापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्यांकनको काम अघि बढाइएको बताए ।

सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयमा बजेट विनियोजन गरिने बताउँदै भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए ।

उनले सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।

मन्त्री पोखरेलले जापानमा विद्यालयतहदेखि नै विद्यार्थीलाई सांस्कृतिक, मूल्य र अनुशासन सिकाउने अभ्यासलाई नेपालले पनि अनुशरण गरी संस्कृति, मूल्य–मान्यता तथा सहकार्यको भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए । जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस पहलमा जापानले आवश्यक सहयोग गर्ने बताए ।

उनले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए । राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताए ।

उनले शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्य आवश्यक रहेको उल्लेख गरे । राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राखे ।

सूचना प्रविधि क्षेत्रमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्यलाई अझ मजबुत बनाउन सकिने बताए ।

प्रतिक्रिया