प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी प्रतिनिधिलाई एक्ला एक्लै भेटेका हुन् । यसअघि विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री शाहले सिंहदरबारमा यसरी एक्लै भेटेका थिएनन् ।

एडीबीका अध्यक्ष कान्डाबीले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए । वाग्लेसँग भेटेपछि नेपाल र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसमध्ये ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि खर्च गरिने छ । त्यस्तै, पाँच करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत भन्सार तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया