एडिबीका अध्यक्ष नेपालमा

काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ । गत महिना एडिबी अध्यक्ष बंगलादेश भ्रमणमा जाँदा त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए ।

एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया