
मुगु । आईएनएफ नेपालद्वारा सञ्चालित समावेशी विकास, सशक्तीकरण तथा जीविकोपार्जन परियोजना आईडिएल २ कार्यक्रम अन्तर्गत छायाँनाथ रारा नगरपालिका–१३ र १४ मा आर्थिक वर्ष २०८२–८३ को सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ ।
कार्यक्रमले परियोजनाप्रति समुदायको विश्वास बढाउनुका साथै पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् । परियोजनामार्फत सञ्चालन गरिएका कार्यक्रम, आय–व्यय, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समुदायलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समूहका सदस्य, लाभग्राही, महिला, युवा, अपांगता भएका व्यक्तिका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
परियोजनाअन्तर्गत नेटामा १७ वटा र बाममा १० वटा गरी २७ वटा सामुदायिक समूह सक्रिय रहेका छन् । यी समूहमार्फत कुखुरापालन, खरायोपालन, बङ्गुरपालन, मासु पसल सञ्चालन, सिलाइकटाइ व्यवसाय, घुम्तीकोष सञ्चालन तथा अन्य आयआर्जनका गतिविधि सञ्चालन हुँदै आएका छन् ।
यसका साथै सामाजिक सचेतना, जलवायु परिवर्तन अनुकूलन, शिक्षा, स्वास्थ्य, अपांगता समावेशीकरण तथा समुदाय सशक्तीकरणका क्षेत्रमा पनि परियोजनाले निरन्तर काम गर्दै आएको आई एन एफ नेपाल मुगु शाखाले जनाएको छ ।
सामाजिक लेखा परीक्षणका क्रममा परियोजनाको आर्थिक तथा भौतिक प्रगति, स्रोत–साधनको उपयोग, सेवा प्रवाह र आगामी योजनाबारे खुला रूपमा जानकारी प्रस्तुत गरिएको थियो ।
सहभागीहरूले कार्यक्रमबारे जिज्ञासा राख्नुका साथै विभिन्न सुझावसमेत दिएका थिए। अधिकांश सहभागीले सामाजिक लेखा परीक्षणले संस्थाको कामप्रति पारदर्शिता बढाएको र समुदायसँगको विश्वास अझ मजबुत बनाएको धारणा व्यक्त गरेका थिए ।
प्रगतिशिल स्वाभालम्भ समुहका सहजकर्ता जुनेली बढुवाललले परियोजनाबाट आफूहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, परामर्श र समूहमार्फत बचत तथा घुम्तीकोषको सुविधा प्राप्त गरेको बताइन् । ‘पहिले घरायसी काममै सीमित थियौँ, अहिले कुखुरापालन र घुम्तीकोषबाट आम्दानी बढेको छ, परियोजनाले आत्मनिर्भर बन्न प्रेरणा दिएको छ,’ उनले भनिन् ।
जनचेतना स्वाभालम्भ समुहका सदस्य सुनमति बढुवालले परियोजनाले आफ्नो जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याएको बताए । पहिले खेतीपातीबाट मात्र परिवार चलाउन गाह्रो थियो। परियोजनाबाट बङ्गुर पालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र समूहको साथ पाएपछि आम्दानीको नयाँ स्रोत बनेको छ ।
अहिले परिवारको खर्च व्यवस्थापन गर्न सहज भएको छ । साथै अन्य सदस्य तथा सहजकर्ताहरुले घुम्तीकोष र कुखुरापालन कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन । समूहमा आबद्ध भएपछि बचत गर्ने बानी विकास भयो। घुम्तीकोषबाट सानो लगानी गरेर कुखुरापालन लगायतका व्यवसाय सञ्चालन गर्ने गरेका बताएका छन् ।
अहिले घर खर्चमा पनि सहयोग पुगेको र आत्मविश्वास बढेको उनीहरुको भनाइ छ । आईएनएफ नेपालका सहायक परियोजना अधिकृत शारदा हितानले सामाजिक लेखा परीक्षण संस्था र समुदायबीचको विश्वास बढाउने प्रभावकारी माध्यम भएको बताइन् ।
‘हामीले समुदायको सहभागितालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ, आज प्राप्त भएका सुझाव र प्रतिक्रियालाई आगामी योजना तथा कार्यान्वयनमा समावेश गरिने छ, परियोजनाको लक्ष्य आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि समुदायलाई सशक्त बनाउनु हो,’ उनले भनिन् ।
उनका अनुसार परियोजनाले विशेष गरी विपन्न, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको जीविकोपार्जनमा सुधार ल्याउने, आयआर्जनका अवसर विस्तार गर्ने र स्थानीय स्रोत–साधनको उपयोगमार्फत दिगो विकासमा टेवा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।
कार्यक्रममा सहभागीहरूले आयआर्जनका कार्यक्रमलाई अझ विस्तार गर्न, बजार व्यवस्थापनमा सहयोग गर्न, युवालाई उद्यमशीलतासँग जोड्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।



मुगु
प्रतिक्रिया