कैलाश मानसरोवरमा योग शिविर गरेर फर्किएकालाई काठमाडौँमा सम्मानित

काठमाडौँ । विश्व शान्ति तथा आध्यात्म विज्ञान समाज नेपालको आयोजनामा काठमाडौँमा सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाललाई ‘विश्व योग गुरु देश’ बनाउने अभियानमा सक्रिय रहेका अन्तर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्माको प्रमुख आथित्यमा कावेश्वरी नगरपालिका स्थित कृष्ण मन्दिरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विशेष योग शिविरसहित सञ्चालित सो कार्यक्रममा करिब ४०० जना साधक तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्माले हालै १२औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वका १०० जना नामी योगी एवं ध्यानीहरूको नेतृत्व गर्दै पवित्र भूमि कैलाश मानसरोवरमा विशेष योग तथा ध्यान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका थिए । गत असार ३ गतेदेखि १३ गतेसम्म चलेको उक्त ऐतिहासिक मानसरोवर यात्रा र योग शिविरको सन्दर्भ पारेर नेपाल आइपुगेका आचार्य शर्माकै मुख्य उपस्थितिमा काठमाडौंमा यो बृहत कार्यक्रम राखिएको हो ।

असार २० गते सम्पन्न यस विशेष शिविरमा योग र ध्यानको व्यावहारिक अभ्यासबारे सिकाउनुका साथै कैलाश मानसरोवरको आध्यात्मिक महत्त्व र योगीहरूका लागि यसको महिमाबारे विस्तृत चर्चा गरिएको थियो । कार्यक्रममा उपस्थित साधकहरूले चक्र साधना, दश महाबन्ध विधाको रहस्य र शिव ताण्डवको अभ्यास समेत गरेका थिए। सो अवसरमा आध्यात्मिक कविता वाचन समेत गरिएको थियो ।

नेपाललाई ‘गुरुदेश’ का रूपमा विश्वभर चिनाउने लक्ष्य बोकेका गुरु शर्माले हालसम्म नेपालमा मात्रै ३,००० जना अन्तर्राष्ट्रिय स्तरका योग गुरुहरू उत्पादन गरिसकेका छन् । शनिबार आयोजित सोही विशेष समारोहमा उनीहरूको योग्यता र तालिमको स्तरअनुसार २०० घण्टा, ४०० घण्टा र ६०० घण्टाको पाठ्यक्रम सफलतापूर्वक पार गरेका नयाँ योग गुरुहरू तथा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र एवं सम्मान-पत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरूले नेपालको मौलिक पहिचान योग र आध्यात्मलाई विश्वस्तरमा पुर्‍याउन आचार्य राजन शर्माले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया