
काठमाडौं । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले असार २० गते गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विपस नेगी रहेका छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
नियन्त्रणमा लिईएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्वरको ट्रकलाई रोक्न खोज्दा नरोकि तिव्र गतिमा भागेको थियो ।
भागेको सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो ट्रकलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शंकास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याविनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्डल गाँजा जस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जनाएको छ ।
साथै, उनीहरुको साथबाट नेपाली रूपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाईल थान २ थान तथा ट्रक र मोटरसाईकलको ब्लुबुक समेत फेला परेको छ । नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक कारवाहीको लागि उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाउने प्रकृयामा भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया