
वसन्त ऋतुले ढोका उघारेको थियो । सिमलका राता पूmल, पालुवा र कलिला पलपलाउँदा कोसा हाँगामा अंकुराएका देखिए । वनमा तेजपातका कलिला पातले पूmलको रूप धारण गर्दा वन मनमग्न भयो । लिची, आँप, लालीगुराँस, टाँकी, चाँप, चिमाल, प्राइमूलादेखि सुनाखरी उचाइ भूगोलको तहअनुसार लामबद्ध थिए । प्रकृतिका सन्तान ती सबैलाई सुम्सुम्याएर चुम्बन गर्न मिल्ने कलिला ओठजस्ता कोमल, सुन्दर, आफैँमा उन्मत्त भई दुलहीलाई झैँ सिँगारेका थिए प्रकृतिले प्रकृतिलाई नै । त्यसैले कोइली, कोकले, लामपुच्छ«े, जुरेली, भँगेरा, ढुकुर, विऊकुह्यो, डाँफे, मुनाल, लेकाली ढुकुर वसन्तको नृत्य गर्दै लीन थिए प्रेममा । लंगुर, हरिण, भालुले त्यो दृश्य गमेर हेर्थे ।
अपराह्नतिर मनसुनपूर्वको मौसमले सबैलाई आ–आफ्नो गुँडमा जान आह्वान गर्दै गड्याङ्गुडुङ गर्ने, असिना र चट्याङ पार्ने, हावाहुन्डरी ल्याउने, पानी पार्ने गर्छ । बिहानीपख तराईको फाँटदेखि हिमालय पर्वतका चुचुरासम्मको वातावरण नयाँ हिउँले स्नान गरेको हिमालको चुलीजस्तै सफा भई मन्त्रमुग्ध पाथ्र्यो सम्पूर्ण प्राणीलाई । त्यो क्षण यस्तो हुन्थ्यो कि मानौँ मिथक कथाको स्वर्गबाट अप्सरा उर्वशी देवघाटमा झरेर नारायणीमा स्नान गरी आफ्नो विलक्षण सुन्दर रूप प्रदर्शन गर्दै छिन् । थप मोहित पार्दै छिन् इन्द्रलाई । पोखरा, सिक्लेस, क्हफुचे हिमताल, क्हफुचे हिमनदी, मादी नदीको शिर, अन्नपूर्ण चौथो, दोस्रो र लमजुङ हिमालको हिमनदीदेखि कोरीको लेकसम्मको यात्रामा देखिएको, भोगेको र अनुभव गरिएको सत्य कथा हो यो ।
२०८२ सालको चैतको प्रारम्भमा घोडेजात्रा, आदिनाथ स्नान, मत्स्यनारायण मेला, चैते छठ, चैते दसैँ सकिएको थियो । त्यस्तैमा नयाँ सरकार बन्यो । आमनागरिकको अपेक्षामाथि उल्लेख गरेको जस्तो बिहानीपखको सफा वातावरणको छ । के शासन पनि त्यस्तै सफा वातावरणमा हुँदै जाला ? मनमनमा प्रश्न छ । त्यस्तैमा मित्रद्वय ज्ञानेन्द्र बानियाँ, मुकुन्द केसी र म यात्रामा निस्क्यौँ मोदी गापाको कोरी लेकतिर ।
मुग्लिङदेखि आँबुखैरेनीसम्मको सडकखण्ड विस्तार बाँकी छ । त्यसबाहेक पोखरासम्मको राजमार्गमा यात्रा गर्दा मलाई अलास्काको राजधानी एङ्कोरेजदेखि सिवार्ड जाँदाजस्तो आनन्द लागेको थियो त्यस्तै लाग्यो । फरक मात्र के भने हाम्रोमा सुन्दर उपत्यका, बैँसालु महाभारत, मध्यपहाडमा रहेको सुरम्य हरियाली र उच्च हिमालय पर्वत शृंखला, मस्र्याङ्दी, मादी, सेती, मोदी नदी छन् भने त्यहाँ विशाल अलास्का समुद्र र समुद्रसँगै एक हजार मिटर वरपर उठेका होचा तर हरिया पहाड ।
मैले भन्न बिर्सनु हुँदैन, त्यो सिक्लेसको यात्रामा लामो हिमशृंखला त छँदै छ, त्यसमा थप के भने ८ हजार मिटरमाथिका मनास्लु, अन्नपूर्ण प्रथम र धवलागिरि देख्ने अवसर मिल्छ । त्यसबाहेक पश्चिममा अन्नपूर्ण प्रथमदेखि पूर्वमा मनास्लुसम्मको जन्तीको लस्करजस्तो देखिने हिमालको दृश्य देख्दा विदेशी पर्यटक हर्षले यति आल्हादित हुन्छन् कि ती रमाउँछन्, हाँस्छन्, नाच्छन् र हर्षविभोर भई रुन्छन् डाँको छोडेर । देखेको छु मैले विदेशी त्यसरी रोएको । उनीहरूलाई हिमालका शृंखला, चुचुराको नाम र उचाइसँग त्यत्तिकै लगाव हुन्छ । त्यसो हुनुमा उनीहरूको देशमा हिउँले ढाकेका पर्वत भए तापनि हिमालय पर्वतजस्ता उच्च पर्वत नहुनु हो ।

संसारकै मानिसका लागि प्रिय छ पोखरा । ताल, नदी, उपत्यका, होचा र अग्ला पहाड, हिमालय र उचाइअनुसारको वनस्पति, जीवजन्तु, खेतीपाती, विभिन्न जातिको बसोबास, तिनको संस्कार र संस्कृतिले पुलपुल्याएको छ पोखरालाई । बालकदेखि वृद्धसम्मका मानिसलाई मन पर्ने सहर हो पोखरा । युवायुवतीको लागि त पहिलोपटक प्रेमरूपी अमृतरस पान गर्न उन्मत्त पार्ने सहर हो पोखरा । पोखरा विस्तार हुँदै छ । समृद्ध हुँदै छ । सम्भावनानुसार विकास हुन धेरै बाँकी छ विश्वसँग प्रतिस्पर्धा गर्न । मेरो भन्नु के भने मात्तिन हुँदैन पोखरा ।
काहुँखोला पुग्दा दिउँसोको २ बज्यो । पिपलबोट नजिकको साँघुरो बोलेरो पार्कमा मोटर पार्क ग¥यौँ । प्रतिव्यक्ति ६०० मा ८ जना यात्री राखेर बोलेरोले सिक्लेससम्म पु¥याउँदो रहेछ । अन्य यात्री थिएनन् । त्यति पैसा तिरेर उकालियौँ विजयपुर खोला तरेर । १ घण्टा गुडेर थुम्के पहाड, पखेरा, क्षेत्री, बाहुन र गुरुङ गाउँ, बारीका पाटा, वन, खोला र खोल्सा नाघेपछि मुकुन्दले झस्कँदै भने, ‘ला, मेरो ट्रेकिङ बुट काहुँखोलामा हाम्रो मोटरमै छुटेछ ।’ पल्याकपुलुक हे¥यौँ । ‘चप्पलले हिउँ थेग्छ यार । हिँड जाउँ ।’ भन्न मन लागेर पनि भनिनँ ।
अमेरिका–इरान युद्ध, तेलको मूल्य, कच्ची बाटोमा गुड्नुपर्ने भएकाले चालकले रकम थप्नु पर्छ भन्ने नै भए । नाइँनास्ति गर्ने ठाउँ थिएन । फक्र्यौं र जुत्ता बोकेर अर्को बोलेरो लिएर अपराह्न ४ बजे नेपालको प्रख्यात गुरुङ गाउँ सिक्लेस (१ हजार ९०० मि.) पुग्यौँ ।
पहिले यसलाई ७०० सिक्लेस भनिन्थ्यो । त्यसो भन्नुको अर्थ त्यहाँ ७०० घरपरिवार थिए रे ! त्यसैको पूर्वी पखेरोमा मादी नदीको देबे्र काखमा त्यस्तै ठुलो तानतीङ गुरुङ गाउँ छ । यी २ गाउँ मादी नदीको उत्तरी सीमामा अन्नपूर्ण दोस्रो र चौथो तथा लमजुङ हिमालको संरक्षण र मादी नदीको पालनपोषणमा रहेका छन् । यहाँका बासिन्दाले उनीहरूको पैतृक थलो क्होलासोथारलाई मानेका छन् । त्यसो त सिक्लेसका गाउँलेसँग हजारौँ वर्ष पुराना श्रुति र मिथक अनगिन्ती छन् सुख र दुःखका ।
हुन त अन्नपूर्णको दक्षिण गुरुङ र धवलागिरिको दक्षिण काख मगरको प्राचीन बसोबास क्षेत्र भनिएको छ । स्वेदशी र विदेशी अनुसन्धानदाताले स्वीकारेका छन् । अनुसन्धान जति गरे पनि पूरा हुँदैन । त्यसो भने पनि धवलागिरिको उत्तर माथिल्लो डोल्पासम्म मगर र अन्नपूर्णको उत्तर मनाङ, मनाङको पनि उत्तर नार र त्यसको पनि उत्तरी सीमा पूm गाउँमा गुरुङ जातिको प्राचीन कालदेखि बसोबास थियो । त्यसबारे थोरै ‘श्वेत पर्वत’ पुस्तकमा उल्लेख गरेको छु मैले । त्यसबारे चर्चा गरिने छैन यहाँ ।
प्रकृति संरक्षणका अभियन्ता, अन्नपूर्ण प्रकृति संरक्षण कोषका जन्मदाता चद्र गुरुङ यसै गाउँमा जन्मेका थिए । २०६३ असोज ७ गते हर्क गुरुङसमेत रहेको टोलीमा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा अन्य २३ जना प्रकृतिविद्सहित उनी पनि परेका थिए । उनको नाम घुन्सा गाउँ प्रवेशद्वारनजिकै राखिएको स्तम्भमा रहेको सम्झेँ ।

मादीको किनारबाट उठेको पहाडको छातीमा पूर्व–दक्षिण फर्केर बसेको छ सिक्लेस गुरुङ गाउँ । पहाडको खुट्टा र टाउकोको भागमा वन छ । गाउँको पुछारमा बारीका पाटा छन् । पूर्वोत्तरमा आफ्नै अनुहारतिर फर्केको दाहिने हातको आकारमा अन्नपूर्ण चौथो, दोस्रो र लमजुङ हिमालले सुम्सुम्याएका छन् । पूर्व र पश्चिममा स–साना खोलाले पहाडलाई विभाजन गरेको छ । मोटर पार्क पश्चिममा गरिएको छ । पहिले खरको, त्यसपछि पातलो स्लेटको छानो हुँदै अहिले टिनको छानो भएका ढुंगेघर हिमाललाई लोभ्याएर उभिएका छन् ढल्के परेको पाखोमा । गाउँ र विभिन्न थर (इलाका)मा प्रवेश गर्न चिल्ला छपनीको सिँढी, चौपारी, बिसौनी, धारा, धर्मशाला र शिखर शैलीजस्तो देखिने कोइबो धि (कुल÷देव÷देवीघर) बनाइएका छन् ।
यहाँ लामाथर, गैरीथर, सभाथर, धप्राङथर, हर्पुथर, कोय (कुइने) र इर्दुथर नामका घान्द्रुकका जस्तै टोल छन् । ती थरमा ४ जात र १६ जात गुरुङका विभिन्न थर (लामा, गोसे, गेगो, लौरी, घ्रोसे, लेगो कोन्मे, पोजुमे, ल्याप्से, गोरासे, क्रोस, लेप्से, कोन्मे, गोस्मे)को विभिन्न थर(टोलमा) बसोबास रहेको छ । गुरुङबाहेक पेसागत जातिको बसोबास छ यहाँ ।
सामायन्यतयाः यहाँका बासिन्दाले छोरीको ७ र छोराको ९ दिनको दिन आफ्नै पुरेतको उपस्थितिमा न्वारान गर्छन् । २० वर्षपहिलेसम्म अधिकतर आमाबाबुले कुल र कुटुम्बको पहिचान गरी, घर–वन गरी घरजम गर्न सक्ने कुमार वा कन्याको ठम्याइँ गरी, कन्या वा कुमारको घरमा पाहुर पु¥याई मागी विवाह गर्ने चलन थियो । अहिले पूर्ण रूपमा प्रेमविवाहमा परिणत भएको छ ।
मत्युसंस्कार कर्मको सन्दर्भमा गाउँले, आफन्तजन भेला भई मृतकको मृत्यु यात्रा सुखद होस्, बाटोमा भूतप्रेत नलागोस्, भूतात्माले बाघ नपारून्, भूत बन्न नपरोस् भन्दै लौरी (लामा÷झाँक्री)ले अक्षता छर्कंदै, ढ्याङ्ग्रो ठटाउँदै, कपडाले बाटो देखाउँदै मृतकलाई लैजान्छन् । तोकिएको चिहानडाँडामा विधिपूर्वक सुखसाथ आफ्नो स्थानमा बस्न, भूतप्रेत भई नभड्किन आह्वान गर्दै गाड्छन् । सो स्थानमा आर्थिक अवस्था हेरी सानो मठ बनाइन्छ । कसैको दुर्घटनामा परी मृत्यु भएमा त्यस्तोलाई जलाउने गरिन्छ ।
मेरो गाउँ विहादी पर्वतको लौकेमा रहेका गुरुङले पनि सोही संस्कारअनुसार चिहानडाँडामा लगेर गाड्ने र सानो मठ बनाउने गर्दथे । तिथि हेरेर १५ दिनसम्म अर्घौ गर्थे लौकेमा । सानोमा म अर्घौमा गएको सम्झना छ । चिहानडाँडामा गाई, बाख्रा चराउने गरिन्थ्यो । कहिलेकाहीँ चिहानडाँडामा राति झलल बत्ती बलेको देखिन्थ्यो । त्यसलाई अन्य गाउँबाट देख्ने गाउँलेले अधेँरी रातमा चिहानडाँडामा गाडेको मृतक भूत बनेर नृत्य गरेको भन्दथे र तर्सन्थे ।
स–साना बालबालिका रुँदा फुल्याउन ‘नकरा नि, नत्र चिहानडाँडाको भूत आएर लैजान्छ ।’ भन्थे । रुँदै गरेका बालबालिका तर्सेर चुप हुन्थे । वास्तवमा त्यो भूतको नृत्य नभइकन वल्लो गाउँदेखि पल्लो गाउँ जाँदा गाउँलेले अँधेरीरातमा उज्यालोको लागि बालेको खर, दाउराको राँको वा अगुल्टो थियो । अहिले गाउँ शून्यप्रायः छ । बिजुलीबत्ती र मोटरबाटो पुगेको छ । भूतले कुलेलम ठोके ।
सिक्लेसमा मृत्युपछि घरपरिवारको अवस्था हेरी कुटुम्ब, परिवारजन र लौरीबीच सरसल्लाह गरी ३ देखि ७ दिनसम्म जुठो बारिन्छ । वार्षिक तिथिमा गर्ने पूजा र अर्घौ मिलेर गरिन्छ । त्यस बेला प्रत्येक परिवारले १ भारी दाउरा, १ पाथी अनाज (चामल) दिने चलन छ । अर्घौ गर्दा १५ दिनसम्म गरिन्छ । त्यस बेला पूजापाठ गर्ने, विभिन्न प्रकारका खाना बनाई आफन्त, कुटुम्ब, छोरी, ज्वाइँ, भान्जाभान्जी, गाउँले इष्टमित्रलाई बोलाई एक परिवारको रूपमा खाना खुवाउने गरिन्छ ।
आजकल खेती गर्न छोडे । गाउँलेको बसोबास पोखरा, काठमाडौँ, हङकङ र बेलायततिर भयो । यहाँ भएका बासिन्दाले आलु, गहुँ, तोरी, कोदो, कानु, मकै खेती गर्दै छन् । खेत प्रायः बाँझो पल्टेको छ अन्यत्रझैँ । पहिले कोरीको लेकसम्म भैँसी, भेडी गोठ हुन्थ्यो । अहिले एकाध भैँसी पालेका छन् भने भेडा पाल्नेको संख्या भने राम्रै भएको सेसुब्बा होमस्टेका घरधनी झलकबहादुर गुरुङले भनेका थिए ।
गाउँलेले चैते दसैँ, वैशाख नयाँ वर्षमा घरमा शुभ होस् भन्दै टेह लब, बुद्धपूर्णिमा, नुहाई (न्वाँगी), कुलपूजा, दसैँ, तिहार, ल्होसार, माघे संक्रान्ति आदि पर्व मनाउँछन् । बाग्लुङ कालिकामा चैते दसैँमा मेला लागेझैँ सिक्लेसमा माघे संक्रान्तिमा छेलो फाल्ने खेल हुनुका साथै मेला लाग्छ । यहाँको सबैभन्दा लामो समय श्रीपञ्चमीदेखि बुद्ध जयन्तीसम्म गीत गाउँदै नाच्ने प्रख्यात नृत्य हो घाटु । यो नृत्य पौराणिक कालका गुरुङ राजा र रानीको कथामा आधारित छ । पुरानो पहिरन, चाडपर्व र संस्कार, रीतिलाई लोप हुन नदिन प्रयासरत छन् यहाँ बसोबास गर्ने गाउँले ।

बिहानको मौसम सफा थियो । गाउँ पार गर्दै गर्दा कलिलो घाममा सिक्लेसका घरका बार्दलीका गमलामा फुलेर झुलेका रंगीचंगी पूmलले झल्को दियो मलाई इलामको । उता अन्नपूर्णका चुचुराहरूको लस्कर यता घरमा पूmलको झकिझकाउ । कति राम्रो सुहाएको । हिजो सिक्लेसमा जीवन थप कष्टकर थियो । आज त हरेक थरमा जाने ढुंगेसिँढी छन्, मन्दिर छन्, पदमार्गमा चिल्ला ढुंगा ओछ्याइएका छन्, खानेपानीका धारा र धर्मशाला पर्याप्त छन् । स्वर्गवासी आफन्तको पुनर्जन्म होस् भनि पूजापाठ गरेर सम्पत्ति नास गर्नुभन्दा आफन्तलाई सन्तति, गाउँले र यात्रुले युगौँसम्म सम्झून् भनेर धर्मशाला, चौपारी, खानेपानी, पुलपुलेसा अधिक बनाउने प्रचलन जीवित रहेछ सिक्लेसमा ।
गाउँको पूर्वी कुइँनेटोमा पुगियो । त्यहाँ नेपालको झन्डासहित चौपारी बनाइएको छ । हामीले चौपारीमा विश्राम गर्दा घना वनको पाखोभन्दा केही माथि उभिएर, बिहानको कलिलो घामसँगै मुसुक्क मुस्काउँदै एकै ठाउँमा उभिएर हामीलाई एक टकले हेरिरहेका थिए आफन्तले ।
हामीलाई हेर्ने ती आफन्त गोबर सोहोर्दै गरेका गुरुङ बा, घाँस काट्दै गरेकी आमा, भेडा चराउँदै गरेका दाइका साथसाथै शाक्यमुनि बुद्धको भूमिस्पर्श मुद्रामा रही आशीर्वाद दिइरहेको अवस्थामा रहेको अन्नपूर्ण चौथो (७ हजार ५२५ मि.) र त्यसको भव्य हिमनदी थियो अनि त्यसनजिकै पोखराबाट पनि घुर्मैलो आकारमा अगाडि मुहार देखाएर आफ्नो विशाल शरीरलाई पछाडितिर फर्काएको जस्तो मुद्रामा विराजमान थियो अन्नपूर्ण दोस्रो (७ हजार ९३७ मि.) र त्यसकै छातीजस्तो भागमा रहेको हिमनदी र त्यसकै आधारका चुचुराहरू । अनि ‘म हुँ नि यस क्षेत्रको सबैभन्दा सुन्दर र विशाल हिमाल’ भनेजस्तो घमण्ड गरी आफ्नो पूर्ण रूपलाई देखाएर मैमत्ता भएको थियो लमजुङ हिमाल (६ हजार ९८३ मि.) ।
ती आफन्तले हामीलाई हेरिरहेको, हामीलाई माया र प्रेरणा दिइरहेको त्यो दृश्य वास्तवमा अकल्पनीय थियो र थियो त्यत्तिकै प्रेरणदायी पनि । तिनै हिमाललाई हेर्दै बाटो लाग्यौँ अन्नपूर्ण दोस्रोको क्हफुचे हिमनदी र हिमतालतिर ।
प्रतिक्रिया