एउटा वस्तुमा धनात्मक र अर्कोमा ऋणात्मक जम्मा भएका चार्ज जब सन्तुलनमा फर्कन खोज्छन्, त्यही क्रममा झट्का वा झिल्काका रूपमा विद्युत् महसुस गर्छौं । प्रकृतिमा यही सिद्धान्त अझ विशाल रूपमा पनि देखिन्छ । बादलभित्र पानीका थोपा, हिउँका साना कण र हावा निरन्तर एकअर्कासँग ठोक्किरहेका हुन्छन् । प्रत्येक टक्करमा अत्यन्त सानो मात्रामा विद्युत्ीय चार्ज छुट्टिन्छ । लाखौँ–करोडौँ यस्ता ठक्करपछि ती चार्जहरू जम्मा हुँदै जान्छन् । अन्ततः जब त्यो सन्तुलन भंग हुन्छ, आकाश चिर्दै चट्याङ चम्किन्छ । अर्थात्, चट्याङ केवल प्रकाश होइन । यो प्रकृतिले घर्षणबाट सिर्जना गरेको विशाल विद्युतीय विसर्जन हो ।

हामीलाई सामान्यतया लाग्छ, विद्युत् जलविद्युत् आयोजना, सौर्य प्यानल, वायु ऊर्जा, ब्याट्रीबाट प्राप्त हुन्छ । यी बाहेक पनि प्रकृतिबाट विद्युत् पाइन्छ होला ? बादलभित्र चट्याङ किन पर्छ ? लजालु झारले कसैले छोएको कुरा कसरी थाहा पाउँछ ? मौरीले गुलिया फूलहरूलाई अरूभन्दा सजिलै कसरी भेट्टाउँछ ? शार्कले अँध्यारो समुद्रमा आफ्नो सिकार कसरी पत्ता लगाउँछ ? माटोभित्र रहेका सूक्ष्म जीवहरूले इलेक्ट्रोन किन आदान–प्रदान गर्छन् ?
अझ अनौठो प्रश्न जंगलमा हजारौँ झ्याउँकिरी, फट्यांग्रा र चराहरूको आवाज निरन्तर गुन्जिरहेको छ भने, के त्यो केवल आवाज हो ? कि त्यसभित्र पनि भविष्यको विद्युत्को कुनै सम्भावना लुकेको छ ? आधुनिक विज्ञानले पनि भन्छ, ‘ऊर्जा न त सिर्जना गर्न सकिन्छ, न त नष्ट गर्न सकिन्छ । एकप्रकारको ऊर्जालाई अर्कोमा रूपान्तरण गर्न सकिन्छ ।’ काठमाडौँ विश्वविद्यालयमा दशकौँदेखि ऊर्जा, जलविद्युत्, ग्यास, बायोमास आदि विभिन्न प्रकारका क्षेत्रमा काम गरिरहेका छौँ । विद्यार्थीहरू पनि यस्तै विषयहरूमा प्रोजेक्ट र थेसिस गर्न आइरहन्छन् । विद्यार्थीहरूले कहिलेकाहीँ बालहठ प्रदर्शन गर्छन् । मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरू आर्जन सिल्वाल, सौगात गुरुङ, उमा श्रेष्ठ र आदेश सिपाई ‘न्यून गतिको फ्ल्युड प्रवाहमा प्रयोग हुने ब्लेड–रहित टर्बाइनको अध्ययन तथा कार्यक्षमता विश्लेषण’ बारे प्रोजेक्ट गर्न जिद्दी नै गरेर लागे । यो भनेको फरक तरिकाबाट विद्युत् उत्पादन गर्ने हुटहुटी हो ।
हामीले प्रायः विद्युत्लाई तारभित्र बग्ने वा स्विच थिचेपछि बल्ने बत्तीका रूपमा मात्र बुझ्यौँ । तर प्रकृतिले भने मानिसले विद्युत् उत्पादन गर्न सिक्नुभन्दा करोडौँ वर्षअघि नै विद्युत्को उपयोग गरिरहेको थियो । कतै त्यो जीवित कोषहरूबीच सूचना पठाउन प्रयोग भइरहेको थियो, कतै सिकार गर्न, कतै आफ्नो रक्षा गर्न त कतै वातावरण बुझ्न ।
सायद हामीले प्रकृतिलाई सामान्य दृष्टिले हेरिरहेका थियौँ । हामीले जंगल देख्यौँ, तर त्यसभित्र विद्युत् लुकेको छ कि भनेर हेरेनौँ । हामीले नदी देख्यौँ, त्यसबाट विद्युत् विकास ग¥र्यौं । बोटबिरुवालाई शान्त ठान्यौँ, तर तिनका शरीरभित्र निरन्तर चलिरहेका सूक्ष्म विद्युतीय संकेतहरूबारे कहिल्यै प्रश्न गरेनौँ । प्रकृतिको यस्तो रहस्यको उपयोग र व्यवसायीकरणबारे बल्ल ध्यान दिन थालेका छौँ । बायोटेक्नोलोजीको विकाससँगै इन्जाइमको प्रयोग गरेर बायोफ्युल सेलबाट बिजुली उत्पादनको अन्वेषणमा संसार लम्किरहेको छ ।

विद्युत् तारमा मात्र हुन्छ र ?
बाल्यकालमा बेलुन वा काइँयोलाई कपालमा दलेर भित्तामा टाँस्ने वा कागज तान्ने खेलको अनुभव हामीसँग छ । ऊनी स्वेटर फुकाल्दा सानो झिल्को देखिन्छ । कार्पेटमा हिँडेपछि वा प्लास्टिकको मेचबाट उठेर धातुको ह्यान्डल छुँदा हल्का झट्का पनि महसुस भएको छ । त्यहाँ ब्याट्री थिएन, कुनै तार थिएन । यस्तो प्रक्रियालाई इलेक्ट्रोस्ट्याटिक चार्ज वा ट्राइबोइलेक्ट्रिसिटी पनि भनिन्छ । दुई वस्तु एकअर्कासँग घर्षण हुँदा तिनका सतहबीच विद्युतीय चार्ज सर्ने प्रक्रिया हो । एउटा वस्तुमा धनात्मक र अर्कोमा ऋणात्मक जम्मा भएका चार्ज जब सन्तुलनमा फर्कन खोज्छन्, त्यही क्रममा झट्का वा झिल्काका रूपमा विद्युत् महसुस गर्छौं ।
प्रकृतिमा यही सिद्धान्त अझ विशाल रूपमा पनि देखिन्छ । बादलभित्र पानीका थोपा, हिउँका साना कण र हावा निरन्तर एकअर्कासँग ठोक्किरहेका हुन्छन् । प्रत्येक टक्करमा अत्यन्त सानो मात्रामा विद्युतीय चार्ज छुट्टिन्छ । लाखौँ–करोडौँ यस्ता टक्करपछि ती चार्जहरू जम्मा हुँदै जान्छन् । अन्ततः जब त्यो सन्तुलन भंग हुन्छ, आकाश चिर्दै चट्याङ चम्किन्छ । अर्थात्, चट्याङ केवल प्रकाश होइन । यो प्रकृतिले घर्षणबाट सिर्जना गरेको विशाल विद्युतीय विसर्जन हो ।
यदि साधारण घर्षणबाट विद्युत् उत्पन्न हुन सक्छ भने, हाम्रो वरिपरिका करोडौँ घर्षणहरू पनि कुनै दिन उपयोगी विद्युत्को स्रोत बन्न सक्छन् कि ? वैज्ञानिकहरूले विशेष पदार्थ र उपकरणहरू विकास गरिरहेका छन्, जसले दैनिक जीवनका यस्ता स–साना घर्षणहरू, जस्तै हिँड्दा जुत्ता र जमिनबीच हुने सम्पर्क, सवारीसाधनका कम्पन, मेसिनका चलायमान भागहरू वा कपडाको घर्षणबाट उत्पन्न हुने सूक्ष्म विद्युत् संकलन गर्न सकून् । सायद भविष्यमा हाम्रो प्रत्येक पाइला, कम्पन र घर्षण सूक्ष्म विद्युत्को सम्भावना बोकेर हिँडिरहेको हुनेछ ।

लजालु झारले हामीलाई के सिकाउँछ ?
लजालु झारलाई कसैले छोएको कसरी थाहा हुन्छ ? बिरुवाको आँखा छैन, कान छैन र मस्तिष्क पनि छैन । तैपनि कसैले छोएको केही सेकेन्डमै उसका पातहरू बन्द हुन्छन् । लजालु झारको शरीरभित्र पनि अत्यन्त साना विद्युतीय संकेतहरू यात्रा गर्छन् । जीवित शरीरभित्र चल्ने सूक्ष्म विद्युत्ीय संकेतहरूलाई वैज्ञानिकहरूले ‘बायोइलेक्ट्रिसिटी’ भन्छन् । जब कसैले लजालु झारलाई छुन्छ, त्यस ठाउँबाट सूक्ष्म विद्युतीय संकेत बिरुवाभित्र फैलिन थाल्छ । त्यो संकेत पातको फेदसम्म पुग्छ । त्यसपछि त्यहाँ रहेका कोषहरूले पानीको सन्तुलन परिवर्तन गर्छन्, र केही क्षणमै पातहरू बन्द हुन्छन् । पात बन्द गराउने काम विद्युत्ले गर्दैन तर कुन ठाउँमा बन्द हुने भन्ने सूचना भने विद्युत्ले पुर्याउँछ । यो ठीक हाम्रो शरीरजस्तै हो । हामीले तातो वस्तु छोएपछि हात तुरुन्त फिर्ता तान्छौँ । त्यो काम पनि हाम्रो स्नायु प्रणालीभित्र दौडिने विद्युतीय संकेतका कारण सम्भव हुन्छ ।
फरक यति मात्र हो, हाम्रो शरीरमा स्नायु छन् । लजालु झारसँग स्नायु छैन । तर प्रकृतिले सूचना पठाउने अर्को विद्युतीय प्रणाली विकास गरिसकेको छ । यदि एउटा साधारण बिरुवाले शरीरभर सूचना पठाउन विद्युत् प्रयोग गर्न सक्छ भने, अरू कति जीवहरूले पनि यस्तै अदृश्य विद्युतीय भाषा प्रयोग गरिरहेका होलान् ?
सायद प्रकृतिमा विद्युत् केवल बत्तीको बल्ब बाल्नका लागि मात्र होइन । यो जीवन सञ्चालन गर्नका लागि पनि उत्तिकै आवश्यक छ ।
मानव शरीरमा निरन्तर विद्युत् बगिरहेको हुन्छ । आखिर हाम्रो शरीरभित्र कुनै तार छैन । कुनै ब्याट्री छैन । कुनै स्विच पनि छैन । त्यो विद्युत् कहाँबाट आउँछ र कसरी नियन्त्रण हुन्छ ? यदि ती संकेत केही छिनका लागि पनि रोकिए भने, मुटु चल्न छोड्छ । मस्तिष्कले शरीरलाई आदेश दिन सक्दैन । मांसपेशीहरूले काम गर्न सक्दैनन् । अर्थात्, जीवन चलाउन पनि विद्युत् आवश्यक छ । यसका लागि विद्युत्गृह पनि शरीरभित्रै छ । शरीरमा भने विद्युत् तारबाट होइन, पानी र घुलिएका खनिज (आयन) मार्फत सर्छ ।
आयन भनेका साना विद्युतीय चार्ज भएका कण हुन् । जस्तै सोडियम, पोटासियम, क्याल्सियम र क्लोराइड । यिनै कणहरू कोषभित्र र कोषबाहिर सर्ने क्रममा अत्यन्त साना विद्युतीय संकेत उत्पन्न हुन्छन् । मस्तिष्कले हात उठाउन आदेश दिँदा, वास्तवमा स्नायुहरूमा यिनै सूक्ष्म विद्युतीय संकेतहरू यात्रा गरिरहेका हुन्छन् ।
तातो वस्तु छोएर तुरुन्त हात फिर्ता तान्नु, आँखा झिम्किनु, मुटु नियमित रूपमा धड्किनु, बोल्नु, हिँड्नु, सम्झिनु–यी सबैको आधारमा कुनै न कुनै रूपमा यही जैविक विद्युत् काम गरिरहेको हुन्छ । अस्पतालमा गरिने धेरै परीक्षणहरू पनि यही विद्युत्लाई ‘सुन्ने’ र नाप्ने प्रयास हुन् । हामीले इसिजी गरेर मुटुको विद्युतीय गतिविधि हेर्छौं । इइजी गरेर मस्तिष्कका विद्युतीय संकेतहरू मापन गर्छौं । वास्तवमा तिनीहरूले हाम्रो शरीरभित्र निरन्तर चलिरहेको अदृश्य विद्युत् पढिरहेका हुन्छन् ।

फूलहरू पनि विद्युतीय संकेत पठाउँछन्
हामीलाई सानैदेखि सिकाइयो, मौरीले सुगन्ध र रङका आधारमा फूललाई भेट्टाउँछ । त्यो कुरा सही हो तर के त्यो पुरै सत्य हो ? उस्तै सुगन्ध भएका २ वटा एउटै रङका फूलमा मौरी एउटामा बस्छ र अर्कोमा जाँदैन । फूलहरूको वरिपरि मधुरो इलेक्ट्रिक फिल्ड हुन्छ । त्यसलाई आँखाले देख्न सक्दैनौँ, तर त्यसको प्रभाव मापन गर्न भने सकिन्छ । उडिरहेको मौरीको शरीरमा पनि सानो मात्रामा विद्युतीय चार्ज हुन्छ । जब मौरी फूलको नजिक पुग्छ, फूल र मौरीबीचको त्यो सूक्ष्म विद्युतीय अन्तरले मौरीलाई थप जानकारी दिन्छ । यसले फूलमा पहिले नै अर्को मौरी आएको थियो कि थिएन, परागको अवस्था कस्तो छ भन्ने जस्ता संकेतहरू बुझ्न मौरीलाई सहयोग गर्छ भन्ने अनुसन्धानहरूले देखाएका छन् ।
सैद्धान्तिक रूपमा, जहाँ विद्युतीय क्षेत्र हुन्छ, त्यहाँ ऊर्जा पनि हुन्छ । तर फूल र मौरीबीचको यो ऊर्जा अत्यन्तै सूक्ष्म हुन्छ – यति सानो कि अहिलेको प्रविधिले त्यसलाई उपयोगी रूपमा संकलन गर्न निकै कठिन छ । तर भविष्यमा सूक्ष्म ऊर्जा संकलन गर्ने प्रविधि अझ विकसित भयो भने, यस्ता प्राकृतिक स्रोतहरूबाट पनि ऊर्जा लिन सकिने सम्भावना पूर्ण रूपमा असम्भव भने छैन, किनकि बत्ती बाल्नकै लागि विगतमा जति ऊर्जा लाग्थ्यो, आज त्यसको नगण्य हिस्सा मात्र चाहिन्छ ।
अझ अर्को रोचक कुरा के छ भने, मौरीका पखेटाको तीव्र कम्पनबाट उत्पन्न हुने सूक्ष्म कम्पनहरूबाट पनि ऊर्जा निकाल्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ । पिजोइलेक्ट्रिक प्रणालीले दबाब वा कम्पनलाई सिधै विद्युतीय ऊर्जामा रूपान्तरण गर्छ । हाल यस्तो ऊर्जा अत्यन्त न्यून भए पनि भविष्यका सूक्ष्म ऊर्जा संकलन प्रविधिका लागि यसले सम्भावना देखाएको छ ।

यदि एउटा सानो मौरीले फूलको अदृश्य विद्युतीय संकेत महसुस गर्न सक्छ भने, हामीले प्रकृतिभित्र रहेका यस्ता कति विद्युतीय संकेतहरू अझै सुन्न र उपयोग गर्न बाँकी छ ।
शार्कले अँध्यारोमा पनि सिकार कसरी भेट्टाउँछ ?
समुद्रको गहिराइमा घोर अन्धकार छ । पानी धमिलो छ । त्यस्तो अवस्थामा पनि शार्क आफ्नो सिकारसम्म पुग्छ । यो उसको आँखाले हेरेर वा नाकले सुँघेर मात्र होइन । शार्कले हरेक जीवित प्राणीको शरीरभित्र सानो मात्रामा भइरहेको विद्युतीय गतिविधि र विद्युतीय संकेत महसुस गर्न सक्छ । हाम्रो मुटु, मांसपेशी चल्दा वा स्नायुहरूले सूचना आदान–प्रदान गर्दा सूक्ष्म विद्युतीय संकेत उत्पन्न हुन्छन् । यी संकेतहरू यति कमजोर हुन्छन् कि हामीले कुनै उपकरणबिना तिनलाई महसुस गर्न सक्दैनौँ । तर शार्कले सक्छ । उसको टाउकोको अगाडिपट्टि रहेका विशेष संवेदनशील अंगहरूले पानीभित्र फैलिएका यस्ता सूक्ष्म विद्युतीय क्षेत्रहरू पत्ता लगाउन सक्छन् । अर्थात्, यदि कुनै माछा बालुवामुनि लुकेको छ भने पनि, त्यसको शरीरबाट निस्किरहेको कमजोर विद्युतीय संकेतले शार्कलाई उसको स्थान बताउन सक्छ ।

हामी समुद्रमुनि खोज तथा उद्धार गर्ने रोबोट, पानीभित्रका सेन्सर र स्वचालित उपकरणहरू बनाइरहेका छौँ । त्यसलाई सञ्चालन गर्न ऊर्जा दिनुपर्छ । शार्कले करोडौँ वर्षदेखि विद्युत्को सहायताले समुद्र हेर्न सिकिसकेको छ । भविष्यका प्रविधिहरूले पनि यही प्राकृतिक सिद्धान्त अपनाउँदै विद्युत् उत्पादन र विद्युतीय संकेत उपयोग गर्नेछन् । प्रकृतिले नयाँ सिद्धान्तबाट विद्युत्का उत्पादन गर्ने उपाय मात्र सिकाउँदैन, उसले विद्युत् कसरी महसुस र उपयोग गर्ने भन्ने कला पनि सिकाउँछ ।
जंगल साँच्चै शान्त छ
जंगलमा पाइने चराहरूको चिरबिर, झ्याउँकिरीको आवाज, फट्यांग्राको कराइ, रुखका पातहरूमा सुसाइरहेको हावा, खोलाको कलकल, सबैलाई आवाज भन्छौँ । विज्ञानले आवाजलाई कम्पन मान्छ । जहाँ कम्पन छ, त्यहाँ सैद्धान्तिक रूपमा विद्युत् उत्पादन गर्ने सम्भावना पनि हुन सक्छ । यो नै पिजोइलेक्ट्रिसिटी सिद्धान्त हो । यही प्रविधिमा रहेर पैदल यात्राबाट उत्पादन गर्ने स्मार्ट पदमार्ग, दिनभर हावाले हल्लाइरहेका पातहरू, कम्पन गरिरहेका रुखका हाँगाहरू, पात, ढुंगा र जमिनमा लगातार ठोक्किरहेका वर्षाका थोपाहरू, प्रतिसेकेन्ड सयौँपटक फर्फराइरहेका झ्याउँकिरीका पखेटाहरू, यी सबै गतिविधिहरू अत्यन्त साना हुन् । सैद्धान्तिक रूपमा विद्युत् यस्ता कम्पनबाट पनि निस्कन्छ, यद्यपि त्यसको परिमाण अत्यन्त सानो हुनेछ । तर एउटा जंगलमा दिनभर कति पात हल्लिन्छन् ? कति थोपा वर्षा खस्छन् ? कति लाखपटक कीराका पखेटाहरू चल्छन् ? सायद हामीले लेखाजोखा गरिराखेका छैनौँ ।
आज जंगलले हामीलाई केवल हरियाली दिन्छ, भोलि त्यही जंगललाई वैज्ञानिकहरूले सूक्ष्म विद्युतीय सम्भावनाले भरिएको विशाल प्राकृतिक प्रयोगशालाका रूपमा पनि हेर्न सक्छन् । सायद भविष्यको प्रश्न यो होइन, ‘एउटा स्रोतबाट कति विद्युत् निकाल्न सकिन्छ ?’ वा ‘यस्ता करोडौँ साना स्रोतहरूलाई एउटै प्रणालीमा कसरी जोड्न सकिन्छ ?’ आधुनिक विद्युत् प्रणालीमा पनि त हामी मिनी र माइक्रो ग्रिडको कुरा गरिराखेका छौँ ।
एक समय सूर्यको प्रकाशबाट बिजुली बत्ती बाल्न सकिन्छ भन्ने कुरा पनि धेरैलाई कल्पना मात्र लाग्थ्यो । आज त्यो वास्तविकता बनेको छ । जंगल छेउको खेतबारी बाँदर, बँदेल वा हात्तीबाट बचाउन जंगलकै सूक्ष्म कम्पनमा आधारित विद्युत् उत्पादन गरेर विद्युतीय घेराबार लगाउन सकिन्छ ।
कम शक्तिमा सञ्चालन हुने चेतावनी दिने सेन्सर, राति मात्र बल्ने चेतावनी बत्ती, वन्यजन्तुको गतिविधि मापन गर्ने, निगरानी प्रणाली र किसानको मोबाइलमा सिधै सूचना पठाउने उपकरणसमेत यस्ता विद्युत्का स्रोतहरूबाट सञ्चालन गर्न सकिन्छ । यी सबै अहिले कल्पनाजस्ता लाग्न सक्छन् । तर हरेक ठुलो प्रविधि कुनै बेला कल्पनाबाटै सुरु भएको थियो । हामीले सधैँ प्रकृतिबाट आफूलाई जोगाउन विद्युत् प्रयोग ग¥यौँ । सायद भविष्यमा प्रकृतिले दिएको सूक्ष्म विद्युत्ले नै हामीलाई प्रकृतिसँग अझ बुद्धिमानीपूर्वक सहअस्तित्वमा बाँच्न मद्दत गर्नेछ ।

प्रकृतिका जीवित विद्युत् गृह
इलेक्ट्रिक इल मात्र होइन, इलेक्ट्रिक रे, इलेक्ट्रिक क्याटफिस जस्ता जलचरहरूले पनि आफ्नो शरीरभित्रै विद्युत् उत्पादन गर्न सक्छन् । यी जीवहरू ब्याट्री निलेर जन्मिएका होइनन् । उनीहरूको शरीरभित्र इलेक्ट्रोसाइट भनिने विशेष प्रकारका कोषहरू हुन्छन्, जसले अत्यन्त सानो मात्रामा विद्युतीय चार्ज उत्पन्न गर्न सक्छन् । एउटा कोषले उत्पादन गर्ने विद्युत् निकै कम हुन्छ । तर जब हजारौँ यस्ता कोषहरू एकैपटक सक्रिय हुन्छन्, तिनको संयुक्त प्रभावले शक्तिशाली विद्युतीय झट्का उत्पन्न हुन्छ ।
इलेक्ट्रिक इलले यही विद्युत् प्रयोग गरेर सिकारलाई लठ्याउँछ, आफ्नो रक्षा गर्छ र वरिपरिको वातावरणबारे जानकारी पनि संकलन गर्छ । प्रकृतिले त करोडौँ वर्षअघि नै जीवित शरीरभित्र ‘जैविक ब्याट्री’ जस्तै प्रणाली विकास गरिसकेको रहेछ । अझ रोचक कुरा त हाम्रो खुट्टामुनि लुकेको छ । हामीले माटोलाई केवल धुलो र ढुंगाको मिश्रण ठान्छौँ । तर एक मुठी स्वस्थ माटोभित्र अर्बौं सूक्ष्म जीवहरू निरन्तर सक्रिय हुन्छन् । उनीहरू खान्छन्, बढ्छन्, जैविक पदार्थ विघटन गर्छन् र यही प्रक्रियाका क्रममा केही सूक्ष्म जीवहरूले इलेक्ट्रोन पनि बाहिर निकाल्छन् ।
इलेक्ट्रोन भनेको विद्युत् बगाउने अत्यन्त सानो ऋणात्मक कण हो । कुनै तारभित्र बग्ने विद्युत् पनि मूलतः यिनै इलेक्ट्रोनहरूको गति हो । यदि यी इलेक्ट्रोनहरूलाई उचित बाटो दिइयो भने, तिनीहरूलाई तारमार्फत बगाएर सानो मात्रामा विद्युत् उत्पादन गर्न सकिन्छ । यसै सिद्धान्तलाई माइक्रोबियल फ्युल सेल भनिन्छ । सूक्ष्म जीवहरूले खाना खाँदा र जैविक पदार्थ विघटन गर्दा निस्कने इलेक्ट्रोनलाई संकलन गरेर विद्युत् बनाउने प्रविधि माइक्रोबियल फ्युल सेल हो ।
अहिलेसम्म यसबाट धेरै ठुलो मात्रामा विद्युत् उत्पादन गर्न सकिएको छैन । तर ब्याट्री बारम्बार फेर्न गाह्रो हुने ठाउँहरू, जस्तै दुर्गम क्षेत्रमा राखिएका सेन्सर, पानीको गुणस्तर मापन गर्ने उपकरण वा वातावरणीय निगरानी प्रणाली चलाउन यसले नयाँ सम्भावना देखाइरहेको छ ।

अन्तिम प्रश्न : के हामीले प्रकृतिलाई सही रूपमा हेरिरहेका छौँ ?
अबको ग्रामीण यात्राका दौरान पनि सायद हावाले फेरि पातहरू हल्लाइरहेको हुनेछ । कुनै झार स्पर्शले फेरि लजाउँदै पातहरू बन्द गरेर लाज लुकाउने कोशिस गर्नेछन् । मौरीहरू फूलमाथि मडारिँदै चुमिरहेका हुनेछन् । झ्याउँकिरीहरू गुनगुनाइरहनेछन् । आवाज जंगलभर फैलिरहेको हुनेछ । खोलाको पानी निरन्तर बगिरहेको हुनेछ । तर त्यहाँ सूक्ष्म जीवहरू आफ्नो अदृश्य संसारमा इलेक्ट्रोनको आदान–प्रदान गरिरहेका छन् भन्ने महसुस पनि हुनेछ । प्रकृति हामीले सोचेभन्दा धेरै ‘विद्युतीय’ छ । सायद विद्युत् मानिसको सबैभन्दा ठुलो आविष्कार थिएन । विद्युत् त प्रकृतिको नियम थियो । हामीले त्यसलाई केवल बुझ्न सिक्यौँ । अभियन्ता हरि मञ्जुश्रीको फेसबुकमा विद्युतीय
ब्याट्रीका बारेमा संस्कृत सूत्र भेटियो,
‘वायुबन्धकवस्त्रेण निबद्धो यानमस्तके ।
उदान स्वलघुत्वे विभत्र्याकाशयानकम् ।।’ ‘अगस्त्य संहिता’को शिल्पशास्त्रसारको यो श्लोकको अर्थ – उदान वायु (हाइड्रोजन) लाई विमान विद्याका लागि पनि प्रयोग गर्न सकिनेछ । अन्वेषकहरूले यसलाई अचेलको विद्युतीय ब्याट्रीको सूत्र मानेका रहेछन् । भिन्न–भिन्न प्रकारबाट बिजुली उत्पन्न हुने भएकाले त्यसैका आधारमा बिजुलीका भिन्न–भिन्न नाम हुने कुरा पनि ‘अगस्त्य संहिता’मा लेखिएको रहेछ । जस्तै, (१) तडित्रेशमी – वस्त्रका घर्षणबाट उत्पन्न हुने, (२) सौदामिनी – रत्नको घर्षणबाट उत्पन्न हुने, (३) विद्युत् – बादल या पानीबाट उत्पन्न हुने, (४) शतकुम्भी – ब्याट्रीबाट उत्पन्न हुने, (५) हृदनि – संग्रह गरिएको, (६) अशनि – चुम्बकीय दण्डबाट उत्पन्न हुने । त्यसमा हावाबाट उत्पन्न हुने छुट्टै बिजुलीको उल्लेख गरिएको रहेनछ । सायद हाम्रा पूर्वजहरूले प्रकृतिका अचम्मका विद्युत् भेटेर नै संस्कृत श्लोकहरूमा लिपिबद्ध गरेको हुनुपर्छ ।
रहरकै लागि भए पनि प्रकृतिलाई सही रूपमा हेरेर, फरक प्रकारका र अचम्मका विद्युतीय स्रोतहरू विकास हुँदै गएपछि हाम्रो पनि विकासको सम्भावना छ ।
प्रतिक्रिया