
सर्लाही । प्रहरीले सर्लाहीको बसवरिया गाउँपालिकामा एक अधबैंसे पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही, मलंगवाले बिहीबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय युवकलाई पक्राउ गरिएको जनाएको हो ।
पक्राउ पर्नेमा सर्लाही बसवरिया गाउँपालिका–१, मानपुर टोल बस्ने २५ वर्षीय सन्तोष कुमार राय रहेका छन् । प्रहरीका अनुसार गत असार ७ गते बिहान अन्दाजी ०१:४५ बजेको समयमा बसवरिया गाउँपालिका-१, मानपुर टोलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।
अपरिचित व्यक्तिहरू नम्बर नखुलेको मोटरसाइकलमा आई यादवको घाँटीको दाहिने साइडमा ५ इन्च लम्बाइ र २ इन्च चौडाइको गहिरो चोट लाग्ने गरी प्रहार गरेर फरार भएका थिए । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नगर अस्पताल बरहथवा पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मानपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट सोको टोलीसहितको प्रहरी टोली खटिएको थियो । साथै, केनाइन शाखा लालगढ धनुषाबाट २ वटा कुकुरसहितको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले आरोपी सन्तोष कुमार रायलाई नियन्त्रणमा लिएको हो ।
उनको साथबाट घटनामा प्रयोग गरिएको ना ४५ प २६८५ नम्बरको निलो रङको ग्लाम्बर १२५ सीसीको मोटरसाइकल (इन्जिन नं. JA06EJHGA06482, चेसिस नं. MBLJA06ANHGA12112) समेत बरामद गरिएको छ । उक्त मोटरसाइकल घटनाकै दिन वारदात स्थलदेखि करिब ३०० मिटरको दूरीबाट चोरी गरी घटनामा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दा दर्ता गरी जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया