सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका– ८ स्थायी वतन भई हाल काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसाद रहेका छन् ।

ब्यूरोका अनुसार निसादले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियो तथा तस्बिरहरूको दुरुपयोग गरी बल्याकमेल गर्ने गरेका थिए ।

उनले दुःख हैरानी दिँदै अनुचित लाभ लिनका लागिसमेत बारम्बार दबाब दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नो नाजायज उद्देश्य पूरा नभएपछि उनले ती अश्लील सामग्रीहरू पीडितका परिवारका सदस्यहरूलाई ह्वाट्सएपमार्फत पठाएका थिए ।

पीडित महिलाले दिएको निवेदनका आधारमा साइबर ब्यूरोको प्राविधिक अनुसन्धान र विश्लेषण टोलीले निसादलाई असार १७ गते काठमाडौंको टोखा नगरपालिका– ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निसादमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान गर्न सम्मानित काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया