रास्वपा महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मतदान उपकरणबारे प्रविधि विकासकर्ता रामलक्ष्मण रिमालले निकाले विज्ञप्ति

काठमाडाैं । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान मेशिनकाे सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति ध्यानाकर्षण जनाउँदै प्रविधि विकासकर्ता रामलक्ष्मण रिमालले २०८३ असार १८ गते एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

प्रविधि अनुसन्धानकर्ता तथा विकासकर्ताहरूको तर्फबाट जारी यस विज्ञप्तिमा कुनै पनि राजनीतिक दल, व्यवस्थापन पक्ष वा निर्वाचन आयोगप्रति गुनासो वा आरोप नलगाइ, केवल नेपालमै विकसित यस प्रविधिबारे तथ्यपरक जानकारी दिनु र नागरिकमा रहेका भ्रम निवारण गर्नु मुख्य उद्देश्य रहेको स्पष्ट पारिएको छ ।

नेपालमा वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा भारतबाट ल्याइएका विद्युतीय मतदान उपकरण प्रयोग गरिएको भए पनि पछिल्ला निर्वाचनहरूमा राजनीतिक दलको संख्या बढ्दै जाँदा उम्मेदवारहरू समेट्न नसक्ने प्राविधिक सीमाका कारण त्यसले निरन्तरता पाउन सकेको थिएन । यही चुनौतीलाई सम्बोधन गर्न नेपालमै उपयुक्त, सुरक्षित र बहुउद्देश्यीय विद्युतीय मतदान प्रणाली विकास गर्ने अभियान थालिएको हो, जुन विगत १३ वर्षको निरन्तर अनुसन्धान, परीक्षण र परिमार्जनपछि तयार भएको हो ।

यस स्वदेशी प्रविधिमार्फत हालसम्म जटिल बहुपद, बहुचरणीय तथा उच्च प्रतिस्पर्धात्मक प्रकृतिका करिब ३०० वटा निर्वाचनहरू १०० प्रतिशत शुद्धता र विश्वसनीयताका साथ सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यस प्रणालीबाट नेपाल जेसिज महाधिवेशन १० पटक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन ३ पटक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन २ पटक तथा नेपाल नेत्रहीन संघ, राष्ट्रिय अपांग महासंघ नेपाल, नेपाल इन्जिनियर्स एसोसिएसन, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतका सयौं संघ–संस्थाका निर्वाचनहरू कुनै प्राविधिक समस्या वा विवादबिना सम्पन्न भइसकेका छन् ।

यस प्रविधिको मुख्य उद्देश्य राजनीतिक दल वा संस्थागत निर्वाचनलाई मात्र सहज बनाउनु नभई, भविष्यमा राष्ट्रिय तथा स्थानीय तहका निर्वाचनहरूलाई समेत छलछामरहित, पारदर्शी, सुरक्षित, विश्वसनीय र द्रुत रूपमा सञ्चालन गर्न सक्ने नेपाली प्रविधि स्थापित गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशनका क्रममा एउटै पदमा ६४ जना उम्मेदवार राखिएको विषयमा स्पष्ट पार्दै विकासकर्ताले मतदान उपकरणको काम निर्वाचन प्रक्रियाको अन्तिम चरण (मतदान गराउने) मा मात्र सिमित रहने र उम्मेदवार मनोनयन, क्लस्टर निर्धारण तथा अन्तिम नामावली तयार गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगकै हुने बताएका छन् ।

सुरुमा छुट्टा छुट्टै क्लस्टरका आधारमा प्रणाली तयार गरिएको भए पनि अन्तिम समयमा निर्वाचन आयोगले खुला र समावेशी उम्मेदवारलाई एउटै समूहमा राखी परिमार्जित संशोधित अन्तिम नामावली दिएको र प्राविधिक टोलीले यसले जटिलता बढाउन सक्ने सुझाव दिँदादिँदै पनि आयोगले पार्टीको विधान अनुसार यही व्यवस्था कायम रहने जानकारी गराएकाले मेशिनमा ६४ जनाको व्यवस्था गरिएको हो ।

त्यसैगरी मेशिनमा उम्मेदवारको नाम र क्रम संख्या फरक पारिएको भन्ने बुझाइप्रति स्पष्ट गर्दै आयोगले आधिकारिक रूपमा हस्ताक्षर गरी उपलब्ध गराएको अन्तिम नामावलीकै आधारमा अक्षरसः विवरण राखिएको र यसमा प्राविधिक टोलीको कुनै फेरबदल गर्ने भूमिका नहुने हुनाले नाम वा क्रम संख्यासम्बन्धी कुनै पनि त्रुटि वा परिवर्तन मेशिन वा प्रविधिका कारण नभएको प्रष्ट पारिएको छ।ऐच्छिक मतदानको सट्टा अनिवार्य मतदान गराइएको सम्बन्धमा, निर्वाचन पूर्व रास्वपा केन्द्रीय कार्यालय जाँदा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ जस्ता ब्यानर टाँसिएको देखिएकाले सम्झौतामा ऐच्छिक मतदानकै व्यवस्था उल्लेख गरी मेशिन तयार गरिएको थियो ।

तर मध्यरातमा अन्तिम नामावली लोड गरी देखाउँदा, निर्वाचन आयोगले ‘यो त अनिवार्य गर्नुपर्छ’ भनी मौखिक निर्देशन दिएपछि प्राविधिक टोलीले लिखित निर्देशन मागेको थियो। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा निर्वाचन गर्ने प्रयोजनका लागि केन्द्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृतले २०८३ असार १० गते लिखित निर्देशन दिएपछि मात्र मेशिनमा तोकिएको संख्यामा मत खसाल्नै पर्ने गरी ‘अनिवार्य मतदान’ को व्यवस्था लागू गरिएको हो।उम्मेदवारको फोटो समावेश नभएको विषयमा, मेशिनको मुख्य विशेषता नै उम्मेदवारको तस्बिरसहितको विद्युतीय मतपत्र तयार गर्नु रहेको र सम्झौतामा पनि सोही उल्लेख भएअनुसार सुरुमा फोटोसहितको प्रणाली तयार भइसकेको थियो ।

तर अन्तिम चरणमा निर्वाचन आयोगले महिला र खुला समूहलाई एउटैमा गाभ्ने निर्णय गरी नयाँ संरचनासहितको नामावली राति करिब ११:३० बजे मात्र उपलब्ध गरायो। प्रत्येक उम्मेदवारको फोटो पुनः मिलान गरी मतपत्र बनाउन कम्तीमा ८ देखि १० घण्टा लाग्ने पूर्वजानकारी गराइएको भए तापनि नामावली पाएको करिब १ घण्टाभित्रै मतदान सुरु गर्नुपर्ने आयोगको निर्देशन र समयगत बाध्यताका कारण तस्बिरबिनै प्रणाली तयार गर्नु परेको हो, जुन मेशिनको प्राविधिक सीमा नभई ढिलो नामावली प्राप्त हुनुको परिणाम हो ।

नतिजा आउन ढिला भएको सम्बन्धमा, असार १० गते दिउँसो १२ बजे मतदान सकिएर डाटा संकलन गर्ने क्रममा ‘प्रवासको निर्वाचन सुरु नै भएको छैन’ भन्ने जानकारी आएकाले प्रवासको मतदान नसकी गणना गर्दा नतिजा प्रभावित हुने डरले गणना रोकिएको थियो ।

बेलुकी ६ बजे प्रवासको मतदान सकिएपछि प्राविधिक टोलीले मात्र १० मिनेटको अवधिमा ८० वटा मेशिनको २,९२,९४१ वटा स्वस्तिक छाप (मत) गणना गरी निर्वाचन आयोगलाई बुझाएको र त्यसपछि औपचारिक परिणाम घोषणा गर्न लागेको समय प्रणालीको कारण नभई निर्वाचन आयोगको आन्तरिक प्रक्रियाका कारण भएको स्पष्ट पारिएको छ।विज्ञप्तिको अन्त्यमा, महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्नका लागि आफ्नो विगतको अनुभव समेटेर २० पृष्ठको विस्तृत कार्यान्वयन पुस्तिका महाधिवेशन अगावै निर्वाचन आयोगलाई बुझाइएको भए तापनि सुझावहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको र समग्र व्यवस्थापकीय कमीकमजोरीका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको उल्लेख छ ।

यसले नयाँ पुस्ताको आशा बोकेको देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको रास्वपाको छविमा असर पारेको महसुस प्राविधिक टोलीले गरेको छ र आगामी दिनमा यस्ता कमजोरीबाट पाठ सिकेर अझ पारदर्शी निर्वाचन अभ्यास हुने अपेक्षा राखिएको छ । प्रविधि विकासकर्ता राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमालले आफूहरूले प्रदान गरेको प्राविधिक सेवाको शतप्रतिशत पारदर्शिता, निष्पक्षता र जवाफदेहिताको ग्यारेन्टी गर्दै यस सम्बन्धमा जुनसुकै मञ्चमा पनि स्पष्टीकरण र उत्तर दिन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया